बजारमा होलीका लागि बेच्न राखिएका सेतो रङका थरीथरीका टिसर्ट र कुर्ताहरू प्रशस्तै भेटिन्छन्। होलीका बेला यस्ता कपडा किन्नेको चहलपहल पसलहरूमा बाक्लो हुन्छ।
काठमाडौँ– काठमाडौँकी आशा सुनारलाई होली भन्ने बित्तिकै ‘ह्याप्पी होली’ लेखिएको सेतो टिसर्ट र सेतो कुर्ता लगाएर रङ खेलेको याद आउँछ। बुधबार असनमा भेटिएकी उनी होलीको पहिरन किन्ने तरखरमा थिइन्। उनले यस वर्ष पनि सेतो टिसर्ट र कुर्ता नै रोजिन्, जसलाई जिन्सको पाइन्टसँग सेट मिलाउने छिन्।
“म होलीको लागि भनेर छुट्टै कपडा किन्थेँ। पहिले टिसर्ट लगाउथेँ अहिले भने कुर्ता मनपर्छ,” उनी भन्छिन्, “यस्तो मनोविज्ञान छ कि होलीमा अरू कपडा लगाएर जानै अप्ठ्यारो लाग्छ।”
बजारमा होलीका लागि बिक्रीमा राखिएका सेतो रङका थरीथरीका टिसर्ट र कुर्ताहरू भेटिन्छन्। पसलमा यस्ता कपडा किन्नेको चहलपहल बाक्लो छ। ती कपडाको मूल्य सामान्यतया १०० देखि २ हजार रुपैयाँसम्म पर्छ। साधा तथा प्रिन्टेड टिसर्ट, पुरुष तथा महिलाका लागि कुर्ता, छोटो कुर्ता र टपलगायत अनेक थरी कपडा बजारमा पाइन्छन्।
होलीका लागि पोसाक किन्न नयाँ बानेश्वरको फुटपाथ बजार आएकी आशिका थापाको बुझाइ पनि उस्तै छ। यो प्रचलनले सबैलाई समान देखाउने र सकारात्मक ऊर्जा प्रदान गर्ने उनी बताउँछिन्। आशिकाले आफूसँगै साथीहरूका लागी पनि सेतो कुर्ता किनिन्। साथीहरू सबै जनाले एकै प्रकारको लुगा लगाएर होली मनाउने उनीहरूको योजना छ। “यो हाम्रो मित्रताको प्रतीक हो। सबैले एकैखाले लुगा लगाएमा समान भाव आउँछ, साथै सम्झनाका लागि पनि हुन्छ। त्यसैले यस्तो योजना बनाएका हौँ,” उनी भन्छिन्।

होलीको रौनक नेपाली मात्र होइन नेपाल घुम्न आएका विदेशी पर्यटकमा पनि उत्तिकै देखिन्छ। उनीहरू पनि होलीलक्षित पहिरन किन्छन्। संकटा बजारमा भेटिएका नेदरल्यान्डका एक नागरिकले सबैले किनेको देखेर आफूले पनि किनेको बताए। नेपाल आएको अवसरमा परेको पर्व मनाउन उत्साहित रहेको उनको भनाइ छ। “यहाँ होलीमा सेतो टिसर्ट लगाएर रंग दल्ने प्रचलन रहेछ। त्यसैले किनेको हुँ,” उनी भन्छन्।
पछिल्लो समय शहरी क्षेत्रमा होलीको दिन एकैखाले पोसाक लगाउने चलन बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म भेटिन्छ। विभिन्न संस्था एवं समूहहरूले पनि यस्ता पोसाक आफ्ना सदस्यलाई बाँड्ने गरेका छन्। नेपालमा यो प्रचलन भारतबाट भित्रिएको संकटा बजारकी व्यापारी गंगा सिख्राकारले बताउँछिन्। भारतीय चलचित्रबाट प्रभावित भई खुलेर होली मनाउन थालेसँगै यो प्रचलन शुरू भएको उनी बताउँछिन्। “पहिले यसरी होली खेलिँदैनथ्यो। अहिले धेरैले होली मान्ने भएकाले होलीको लुगा सबैले रुचाउँछन्,” उनी भन्छिन्।
पछिल्लो पाँच वर्षयता होलीलक्षित कपडा किन्ने क्रेज बढेको उनको अनुभव छ। युवतीहरूले टिसर्ट र छोटो कुर्ता तथा विवाहित महिलाहरूले कुर्ता रुचाउने गरेका छन्। युवाहरूले टिसर्ट र अन्य पुरुषले कुर्ताहरू मन पराउँछन्।

असनको एक होलसेल पसलका सञ्चालक रामलखन महतो विगत एक महिनामा २ लाख रुपैयाँभन्दा बढीको होलीलक्षित कपडा बिक्री गरेको बताउँछन्। उनका अनुसार पहिले होलीका कपडा भारतबाट ल्याउनुपर्थ्यो, अहिले नेपालमै उत्पादन हुने गरेको छ। “अहिले अधिकांश टिसर्ट नेपालमै बन्छन्। जो कोहीले किन्न सक्ने मूल्यमा पाइन्छ। पर्वका लागी कन्जुस्याइँ नगरीकन लिने गर्छन्,” उनी भन्छन्।
होलीको पूर्वसन्ध्यामा काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक केन्द्रमा होलीका लागि सामग्री खरिद गर्नेहरूको घुइँचो हुने गर्छ। “होलीमा यस्ता पहिरनको शुरूआत कसरी भयो भन्ने यकिन थाहा छैन। तर पारदर्शी भएकाले सेतो कपडाको प्रयोग गरिएको हुनसक्छ,” महतोले भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
