आजको मौसमः प्रदेश १ मा वर्षाको सम्भावना

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

काठमाडौँ– हाल नेपालमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

जसका कारण प्रदेश १ मा सामान्य  बदली हुने र बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। बिहान तराईका क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ।

देशका अधिकांश भू–भागमा तापक्रम घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन पनि विभागको अनुरोध छ।