म्याग्दी नदीको कटानबाट तातोपानीको बस्ती जोगाउन पक्की पर्खाल

फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्। १०० घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि जोखिममा छ।

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा–तातोपानीमा नदी नियन्त्रण आयोजना शुरू भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा रहेको तातोपानीको बस्ती संरक्षण आयोजना सञ्चालन गरेका हुन्। 

बेनी –४ का वडाध्यक्ष अणबहादुर खड्काले चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक–फरक ठाउँमा पक्की पर्खाल निर्माण थालिएको बताए। १ करोड ५५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको साहाना–बीआरटी जेभी पर्वतले सरस्वती मावि मुनी कम्पोजित प्रविधिको पर्खाल निर्माण थालेको हो। यो योजनाका लागि २ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। 

म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन–तीन मिटर अग्लो कंक्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण गरिने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ गुरुङले बताए। 

यो ठेक्काको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको कामलाई तीव्र पारिएको छ। जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण थालेको छ। यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्याबिन पर्खाल निर्माण गर्न लागिएको हो।

२०७८ सालमा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो। मसारमा दुईवटा घर भत्किएका थिए। फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्। करिब १०० घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि नदी कटानको जोखिममा छ।

यसअघि ग्याबिन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष खड्काले बताए। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर गुरुङका अनुसार तातोपानीमा १०२ मिटर र बेनीको दरवाङ बजार पछाडि १६५ मिटर कम्पोजित पर्खाल निर्माण गर्न ठेक्का आह्वान भइसकेको छ।