तल्लो बाटो अमेरिका यात्राः जो बाटोमै अस्ताए

तल्लो बाटो अमेरिका हिँडेर त्यहाँ नपुग्दै ज्यान गुमाउनेको यकिन विवरण कतै छैन। सम्बन्धित परिवारलाई कुनै स्रोतबाट आउने खबरबाहेक अन्य अभिलेख हुँदैन। यसरी ज्यान ज्यानेको शवसमेत परिवारले पाउन मुस्किल छ।

काठमाडौँ– दाङको शान्तिनगर गाउँपालिका–७ का पूर्णबहादुर डाँगी (३७) तल्लोबाटो अमेरिका हिँडेको साढे २ वर्ष भइसकेको थियो। उनी अफ्रिकन देश घाना पुगेका थिए। फागुन १९ गते त्यहाँबाट श्रीमती डिलालाई फोन गरेका उनले भनेका थिए, “यहाँ सबै ठिकै छ, नआत्तिनू। अब छिट्टै अमेरिका पुग्छु।”

त्यस दिन उनले डिलालाई अमेरिका पुग्ने सपना अब छिट्टै पूरा हुने सुनाए। अमेरिका हिँडेका अन्य नेपाली पनि घाना पुगेपछि उनको आत्म्विश्वास बढेको थियो। उनले अमेरिका पुगेको केही वर्षभित्रै श्रीमती र छोराछोरीलाई पनि लैजाने आश्वासनसमेत दिए। श्रीमती डिलासँग उनको अन्तिम संवाद त्यही थियो।

त्यसको दुई दिनपछि घानामा रहेका उनका एक साथीले यता दाङस्थित खबरमा खबर पठाए०– पूर्णबहादुर रहेनन्। फागुन २२ गते बिहान ३ बजे परिवारलाई पूर्णबहादुरको मृत्युको खबर आएको थियो।

पूर्णबहादुर डाँगी

तल्लो बाटो अमेरिका हिँडेका पूर्णबहादुर अनेक देश हुँदा साढे दुई वर्षमा घाना पुगेका थिए। उनी त्यहाँको एक होटलमा सुतेकै ठाउँमा मृत भेटिएको परिवारलाई खबर आएको छ। खबर पठाउने उनका साथीले हृदयघातका कारण मृत्यु भएको बताएका छन्।

यसअघि, पूर्णबहादुर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। उनी त्यहाँ ‘हेभी’ गाडीका चालक थिए। त्यहीँ हुँदै उनले तल्लो बाटो अमेरिका जाने सपना देखेका थिए। त्यसको कारण थियो, गाउँ र आसपासका धेरै युवा धमाधम त्यसरी नै अमेरिका जानु।

मलेसियाबाटै उनले साथीभाइमार्फत एक जना दलालसँग सम्पर्क गरे। नेपाल फर्किएपछि अमेरिका पुग्ने र केही वर्षपछि ग्रिन कार्ड हुने सपना बुन्दै उनी यात्रामा निस्किए। पूर्णबहादुरका दाइ नाता पर्ने टोपेन्द्र डाँगी भन्छन्, “साथीभाइ गएको देखेपछि उसले पनि रहर गरेछ। मलेसियामै रहँदा दलाल भेटेर अमेरिका जाने बाटो समाएछ।”

उनी शुरूमा मलेसियाबाट विभिन्न मार्ग हुँदै दक्षिण अमेरिकी देशहरू पुगे। तर दलालले त्यहाँबाट अघि बढाउन नसकेपछि भिषा सकियो। अनि उनी घर फर्किए। करिब एक महिना घर बसेपछि फेरि अमेरिका यात्राको बाटो समाए। तर दलालले फेरि दक्षिण अमेरिकामा अलपत्र पारे।

उनी दुई वर्षदेखि विभिन्न मुलुकहरूमा अल्मलिँदै अफ्रिका पुगेका थिए। “घरदेखि हिँडेको लामो समयसम्म पनि ऊ अमेरिका पुग्न सकेको थिएन,” दाजु टोपेन्द्र भन्छन्, “बाटोमै दलाले उसलाई झुलाइरहे। दुई पटक दलाल फेर्दासम्म उसले १ करोड खर्चिसकेको थियो।”

पूर्णबहादुरको शव घानाको अस्पतालमा राखिएको छ। उनको मृत्युको खबरले एकातिर परिवार पीडामा भएको र अर्कोतिर शव कसरी ल्याउने भन्ने चिन्ता भएको टोपेन्द्रको भनाइ छ। “अहिले ऊ बितेको खबरमात्र पाएका छौँ,” उनी भन्छन्, “कसरी शव ल्याउने, के गर्ने कुनै मेसो पाइरहेका छैनौँ।”
***
दाङको तुलसीपुर उपमहानगर–१८ बिजौरीका दुर्गा डाँगी (३५) पनि अमेरिका जान तल्लो बाटो लागेका थिए। तर गन्तव्यमा पुग्न पाएनन्। स्थानीय एजेन्टलाई ६० लाख बुझाएपछि २०८० फागुनमा घरबाट हिँडेका थिए। पहिला काठमाडौँबाट दुबई पुगेका उनी अन्तिममा ब्राजिलसम्म पुगे।

दुर्गा डाँगी

त्यहाँबाट कोलम्बिया, पानामालगायत दक्षिण अमेरिकी मुलुक हुँदै मेक्सिको छिर्नुपर्ने दलालले बताएको थियो। तर ब्राजिलमै उनको मृत्यु भएको दाइ यज्ञ डाँगी बताउँछन्। “ब्राजिल पुगेपछि उनी बिरामी थिए,” दाइ यज्ञ भन्छन्, “पछि बितेको खबर आयो।”

दुर्गा अमेरिकाका लागि घरबाट निस्किएको करिब आठ महिनापछि मृत्युको खबर आएको थियो। गत असोजमा घटस्थापनाको दिन दुर्गा बितेको खबर परिवारले पायो।

उनको शव नेपाल ल्याउन सकिएको छैन। अहिले पनि शव ब्राजिलमै छ, त्यहाँबाट ल्याउन पहल गरिरहेको परिवारले जनाएको छ।
***
गाउँमा चलेको अमेरिका जाने लहरबाट दाङको तुलसीपुरका रेशम ढेङ्गा मगर (२७) पनि प्रेरित भए। अमेरिकाको सपना पछ्याउँदै उनी २०७५ चैतमा घरबाट निस्किए। दुबईलाई ट्रान्जिट बनाएर विभिन्न देश हुँदै कोलम्बिया पुगे।

कोलम्बियादेखि पानामा जाने क्रममा उनी चढेको डुंगा क्यारेबियन सागरमा पल्टियो। घरबाट निस्किएको करिब २७ महिनापछि उनी त्यही सागरमा बेपत्ता भए।

रेशम ढेङ्गा मगर

डुंगा दुर्घटनामा पर्नु एक दिनअघि उनले दाङमा बस्ने काका जीतबहादुरलाई फोन गरेका थिए। उनले आफू समुद्रको बाटो भएर पानामा जंगल जान लागेको बताएका थिए। “अघिल्लो दिन मात्र उसले छिट्टै पुग्छु, चिन्ता नलिनू भनेर फोनमा भनेको थियो,” जीतबहादुर भन्छन्, “अर्काे दिन त डुंगा पल्टेको खबर आयो।” 

रेशमको अभिभावक भन्नु नै उनका काका जितबहादुर थिए। आमा र बुवाको सम्बन्ध विच्छेद भएपछि जितबहादुरले नै उनलाई हुर्काएका थिए। “साथीभाइ गएको देखेर उसले पनि अमेरिका जाने रहर गर्‍यो,” उनी भन्छन्, “रहर गरेपछि रोक्ने कुरा भएन, २८ लाख रूपैयाँ ऋण खोजेर पठाएको थिएँ।”

अमेरिका जाने अवैध बाटो अप्ठ्यारो छ भन्ने जितबहादुरले सुने पनि ज्यानै जान सक्छ भन्ने सोचेका थिएनन्। “यस्तो होला भन्ने सोच नै आएन,” उनी भन्छन्, “थाहा पाएको भए किन पठाउने थिएँ र?”
***
क्यारेबियन सागरमा तुलसीपुरका रेशम चढेकै डुंगामा थिए, घोराही उपमहानगर–१२ का एञ्जल बुढा मगर (२१) पनि। अरू युवाहरू जस्तै उनलाई पनि अमेरिकी सपनाले तानेको थियो। तर त्यो सपना बाटोमै टुट्यो। 

अमेरिका पछ्याउँदै उनी कोलम्बियासम्म पुगेका थिए। कोेलम्बियाको टर्बोदेखि कपुरगानासम्म पुग्न उनले डुंगामा यात्रा थालेका थिए। उनीहरू चढेको डुंगा २०७८ असार ५ गते क्यारेबियन सागरतर्फ बढ्यो। डुंगा कपुरगाना पुग्न नपाउँदै क्यारेबियनमा दुर्घटना भयो। उनीसहित दाङका तीन जना गरी कुल १० जना क्यारेबियन सागरमा हराए।

एञ्जल बुढा मगर

एञ्जल बेपत्ता भएको तीन वर्ष बितिसक्दा परिवारले न मृत्युको आधिकारिक जानकारी पाएको छ, न त फर्किने आशा नै छ। कलिलै उमेरमा छोरा सात समुन्द्रपारि समुन्द्रमै बेपत्ता भएपछि बाबु राजेन्द्रले पीडा भुल्न सकेका छैनन्। उनी त्यो घटना सम्झन समेत चाहँदैनन्। “कसैले अमेरिका र छोराको नाम मात्रै लियो भने पनि पीडा हुन्छ,” उनी भन्छन्।

त्यही डुंगामा बेपत्ता हुने अर्का नेपाली दाङको तुलसीपुरकै हेमराज अधिकारी हुन्। एजेन्टलाई मोटो रकम बुझाएका उनी पनि क्यारेबियन सागरमा बेपत्ता भए। 
***
दाङ तुलसीपुर उपमहानगर–३ गोटीखोलाका साहिल बोहरा (२२) शुरूमा अस्ट्रेलिया जाने योजनामा थिए। आफ्ना साथीहरू अवैध बाटो धमाधम अमेरिका हिँड्न थालेपछि उनको मन फेरियो। एक जना स्थानीय एजेन्टलाई शुरूमा ३० लाख बुझाएर उनी पनि २०७८ भदौ २७ गते अमेरिका जाने अवैध बाटो लागे।

साहिल बोहरा

एजेन्टले अमेरिकाको रंगीन जीवनशैली र महिनामा ५–६ लाख रूपैयाँ कमाइ हुने लोभ देखाएका थिए। त्यही कारण पनि उनी जसरी अमेरिका पस्ने अठोटले घरबाट निस्किए।

तर पहिलो एजेन्टले दुई महिना दुबईमा राखेपछि साहिलले अर्काे एजेन्ट समाए। दुबईबाट पेरु पुग्न उनलाई लामो र कठिन यात्रा गर्नु पर्‍यो। एजेन्टले देखाएको बाटो पछ्याउँदै कहिले गाडी त कहिले पैदल यात्रा गरिरहे।

पेरुको घट्दो तापक्रम र लगातारको हिँडाइले उनको स्वास्थ्य बिग्रियो। घर छाडेको तीन महिनापछि उनी अचानक बाटोमै ढले। यात्रा गरिरहेका साथीहरूले उनलाई तुरुन्त अस्पताल पुर्‍याए, तर चिकित्सकले मृत घोषणा गरे। यसरी साहिलको अमेरिका पुग्ने सपना बाटोमै अस्तायो।

साहिल परिवारका एक्ला छोरा थिए। घटना हुनु अघिल्लो साँझ मात्र उनले घरमा फोन गरेका थिए। बाबु रामबहादुर बोहराका अनुसार, साहिलले आफू छिट्टै अमेरिका पुग्ने भन्दै चिन्ता नलिन आग्रह गरेका थिए। तर अर्काे दिन उनी बितेको खबर आयो।

एक्लो छोराको वियोगले परिवार शोकमा छ। कसैले साहिलबारे कुरा गर्दा पनि रामबहादुर सम्हालिन सक्दैनन्, आँखा आँसु टिल्पिलाउँछन्। “अमेरिका जान खोज्दा, मैले छोरो गुमाएँ,” उनी भन्छन्, “यस्तो पीडा कसैलाई भोग्नु नपरोस्। घरको एक्लो छोरा बितेपछि परिवारमा अहिले शून्यता र रिक्तता मात्रै छ।”
***
अमेरिका जाने सपना पछ्याउँदै बाटोमै अस्ताएका तुलसीपुरकै विनोद साहु पनि हुन्। उनी पनि अवैध रूपमा अमेरिका जाने मार्ग पछ्याउँदै तीन वर्ष अघि यूएईको दुबईमा पुगेका थिए। त्यहाँबाट उनको अमेरिका जाने यात्रा तय हुने थियो, तर एजेन्टका कारण लामो समय दुबईमै रोकिए। त्यहाँ उनको स्वास्थ्य बिग्रँदै गयो। उपचारको क्रममा उनी दुबईमै अस्ताए। उनको परिवार अहिले शोकसँगै ऋणमा पनि डुबेको छ।
***
दाङ र छिमेकी जिल्ला रुकुमका गाउँहरूमा मृत्युमार्ग हुँदै अमेरिका जाने लहर अहिले पनि छ। यहाँका युवाहरू मानव तस्करहरूलाई १ करोडसम्म बुझाएर तल्लो बोटो अमेरिका हिँडिरहेका छन्। महिनौँसम्म सयौँ खोला, जंगल, नदी, समुद्र हुँदै लुकीछिपी गर्नुपर्ने यात्रा सजिलो छैन।

यो पनि: माओवादी द्वन्द्वले जन्माएको ‘तल्लो बाटो’ अमेरिका पुग्ने सपना

यसरी जोखिमपूर्ण यात्रा तय गरेका कतिपय युवा बाटोमै अस्ताउँछन्। यही क्रममा दाङका सात र छिमेकी जिल्ला रुकुम पूर्व र रुकुम पश्चिमका पाँच गरी १२ जना नेपालीहरूले ज्यान गुमाइसकेको उनीहरूका परिवारको स्रोतबाट जानकारी आएको छ।

तर तल्लो बाटो अमेरिका हिँडेर त्यहाँ नपुग्दै ज्यान गुमाउनेको यकिन विवरण कतै छैन। गैरकानूनी यात्रा हुने हुँदा सम्बन्धित परिवारलाई कुनै स्रोतबाट आउने खबरबाहेक अन्य अभिलेख पाइँदैन। यसरी अमेरिका हिँडेर ज्यान ज्यानेको शवसमेत परिवारले पाउन मुस्किल छ।