नारी दिवसले हामीलाई यो स्मरण गराउँछ कि महिलाको सङ्घर्षको महत्त्व केवल एक दिनमा सीमित छैन, यो निरन्तर चल्ने प्रक्रिया हो।
विश्वभरका महिलाको योगदान र संघर्ष स्मरणमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस)ले महिलाको सामाजिक, राजनीतिक र आर्थिक योगदानलाई मात्र सम्मान गर्दैन, समग्र समाजमा महिलाको सहअस्तित्व र समान अधिकारको सन्देश पनि दिन्छ। सन् १९०८ मा अमेरिकाको न्युयोर्क शहरमा भएको एउटा आन्दोलन नारी दिवससँग जोडिएको छ।
त्यहाँका महिला मजदुरले सो साल काम गर्ने अवस्थामा सुधार र समान तलबको माग गर्दै प्रदर्शन गरे। समाजवादी नेता क्लारा जेटकिनको आह्वानमा सो प्रदर्शन भएको थियो। यस आन्दोलनको असरले विश्वभरका महिलालाई जागरूक गरायो र महिलाको अधिकारका लागि आवाज उठाउन प्रेरित गर्यो।
सन् १९७५ मा संयुक्त राष्ट्रसंघले ८ मार्चलाई आधिकारिक तवरले अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने निर्णय गर्यो। यस दिनलाई भव्यतापूर्वक मनाउन अचेल संसारभर विशेष कार्यक्रम, सभा र अभियान आयोजना गरिन्छ, जसले समाजका विभिन्न तहमा महिला अधिकार र भूमिकाबारे चासो जागृत गर्छ। नारी दिवसको उद्देश्य महिलाका संघर्षलाई सम्मान गर्नु र भविष्यमा समानता र अधिकारका लागि अझ बलियो संघर्षको उत्प्रेरणा दिनु हो।
नारी दिवसको महत्त्व केवल महिलाको अधिकारका लागि मात्र सीमित छैन। यस दिनले समग्र समाजलाई महिलाको समृद्धि र भलाइमा मात्र समाजको प्रगति सम्भव छ भन्ने सन्देश दिन्छ। हजारौँ वर्षदेखि राजनीतिक, धार्मिक, सामाजिक र आर्थिक क्षेत्रमा पुरुषकै दबदबा रहेका कारण महिलाको शिक्षामा समान अवसर, कार्यस्थलमा समान अधिकार र सशक्तीकरणको आवश्यकता अझै कायम छ।
जन्मदिन: ८ मार्च
नारी दिवस र मेरो जन्मदिन मेरो जीवनका दुई खास क्षण हुन्। जन्मदिन एक व्यक्तिगत अवसर मात्र होइन, यो आफैँलाई मूल्यांकन गर्ने र जीवनका विभिन्न पाटोहरूको समीक्षा गर्ने अवसर हो। प्रत्येक वर्ष जन्मदिन नजिक आउँदै गर्दा म आफूलाई प्रश्न गर्छु– मैले के–के उपलब्धि हासिल गरेँ? मैले आफूलाई एक असल र सशक्त व्यक्तित्व बनाउन सकेँ? म जीवनका कस्ता संघर्षसँग जुधिरहेको छु र भविष्यमा म के गर्न चाहन्छु? तमाम चुनौतीका बाबजुद मैले समाजलाई के योगदान गरिरहेछु?
सानो छँदा जन्मदिन साथीहरू भेट्ने, चकलेट किनेर सबैलाई भाग पुर्याइपुर्याई बाँड्ने गर्थेँ, जसले जन्मदिनलाई विशेष बनाउँथ्यो। आफू खास हुँ र सबैको केन्द्रबिन्दुमा छुजस्तो लाग्थ्यो। जीवनको यात्रा अघि बढ्दै जाँदा, जन्मदिनको अर्थ बदलिन थाल्यो। संसारमा मजस्ता करोडौँ छन् र अझ महिलाका रूपमा हरेकको जीवन पुरुषभन्दा चुनौतीपूर्ण छ भनेर बुझ्छु। जन्मदिनलाई आत्ममूल्यांकनको अवसरका रूपमा पनि प्रयोग गर्छु।
जन्मदिनमा आफैँलाई विशेष ठान्नुको साटो मेरो जीवनलाई विशेष बनाउने मेरा 'सम्बन्धी'हरूलाई सम्मान दिने चेष्टा गर्छु। हरेक वर्षको जन्मदिनले मलाई सम्झाउँछ कि जीवन एक साह्रै छोटो यात्रा हो र प्रत्येक क्षण र दिनको महत्त्व छ। यस दिन प्राप्त हुने आशिष् र सद्भावनाले मलाई आफ्नो भविष्यका सपनाहरू पूरा गर्ने प्रेरणा दिन्छ।
जन्मदिनले मलाई जीवनको छोटो र अमूल्य अस्तित्व सम्झाउँछ। मेरा बितेका तर स्मरणयोग्य दिनहरू सम्झाउँछ। भविष्यका लागि नयाँ योजना र लक्ष्यहरूबारे सोच्न प्रेरित गर्छ। जन्मदिन आमरूपमा खुशी र उल्लासको समय हो, तर यसले जीवनका गहिरा अर्थ र उद्देश्यबारे पनि सोच्न बाध्य बनाउँछ।
जसरी नारी दिवसले महिलाको सम्मान र अधिकारको सन्देश दिन्छ, त्यसैगरी मेरो जन्मदिनले मलाई आत्मसमर्पण र आत्ममूल्यांकन गर्न प्रेरित गर्छ। नारी दिवसले महिलाको संघर्ष, बल र समावेशिताको सम्मान गर्छ, मेरो जन्मदिनले मलाई आफ्नो आत्मसम्मान र आत्मविकासको महत्त्व सम्झाउँछ।
८ मार्चकै दिन मेरो जन्म हुनु गजबको संयोग हो। नारी दिवस र आफ्नो जन्मदिन एकै दिन मनाउन पाउनु मेरा लागि हर्षको विषय हो। म जन्मेको दिन संसारभर मनाइने नारी दिवस पर्नु मेरा बुवाआमाका लागि पनि अचम्मको सुसंयोग थियो, उहाँहरू बेलाबेला यो कुरा कोट्याइरहनुहुन्छ पनि।
सिंगो नारीको प्रतीकात्मक जन्मोत्सवकै दिन छोरी जन्मेकोमा बुवाआमा पनि औधी खुशी हुनुभएछ। म जान्ने बुझ्ने भएदेखि बाबाले सधैँ भन्दै आउनुभएको सुन्छु कि मेरो जन्म नारी दिवसकै दिन हुँदा उहाँमा आत्मविश्वासको नयाँ जगसँगै जन्मिएको थियो। खासमा म जन्मेको समय अहिलेभन्दा बढी स्त्रीद्वेषी थियो। आफ्नो जन्मदिनको सार्थकताबारे यस्तो सुन्न पाउनु मेरा लागि निश्चय नै गौरव र ऊर्जाको विषय थियो।
मम्मीलाई पनि यो विशेष अवसरले नारीको रूपमा आफ्नो कर्तव्य र अधिकारबारे अझ स्पष्ट बनाएको रहेछ। उहाँहरूले मेरो जन्म दिनलाई त्यो समयको खुशी र गर्वको उत्सवसँग जोड्नुभएछ, जसले समाजमा महिलाको शक्तिको कदर गर्ने महत्त्व र उद्देश्यलाई पुनः प्रमाणित गरेको महसुस अहिले मैले गरिरहेको छु।
मेरा बाबा र मम्मी सधैँ गर्वसाथ भन्नुहुन्छ, “नारी दिवसको दिन जन्मेकी हाम्रो छोरी आत्मविश्वासी, अडिग र अटल चिन्ह बनेकी छ।” उहाँहरूको यो उद्गारले मलाई जीवनभर आत्मविश्वास र दृढतासाथ अघि बढ्न प्रेरित गरेको छ। उहाँहरूको आशा र विश्वास कायम राखी आजीवन आफ्ना सिद्धान्त र मूल्यमा अडिग रही अघि बढ्न सकूँ भन्ने लाग्छ।
यो पनि: सुत्केरी भएको पाँच वर्षपछि यसरी ‘उडेँ’ म!
यद्यपि, संसारका सबै महिला र पुरुषलाई जन्माउने आमाजाति (महिला)को स्थान सधैँ चुनौतीपूर्ण रहँदै आएको छ। परम्परागत मनोविज्ञान र सामाजिक संरचनाले महिलालाई धेरै हदसम्म थिचेको छ। तर, पहिलेको तुलनामा यस युगका महिलाले आफूलाई प्रकट गर्ने र आफ्नो अधिकारका लागि आवाज उठाउने अवसर पाएका छन्। सशक्त शिक्षक, चिकित्सक, वैज्ञानिक, नेता र उद्यमीका रूपमा उदाएका र उदाउँदै गरेका महिलाले समाजका परिभाषित कतिपय जड मान्यता तोड्दै आएका छन्।
नारी दिवसमा महिलाको काम, योगदान र संघर्षको चर्चा गरिन्छ। यद्यपि, महिलाको समता र समान अस्तित्वका लागि गर्नुपर्ने काम अझै धेरै छन्। महिलाले समान तलब, कार्यस्थलमा समान अवसर र व्यक्तिगत जीवनमा स्वतन्त्रता अझै पाउन बाँकी छ। अतः नारी दिवसले हामीलाई यो स्मरण गराउँछ कि महिलाको संघर्षको महत्त्व केवल एक दिनमा सीमित छैन, यो निरन्तर चल्ने प्रक्रिया हो।
हरेक महिलाले यो संघर्ष र चुनौतीलाई व्यक्तिगत रूपमा अनुभव गर्न सक्नुपर्छ, ताकि यस दिनलाई सामूहिकतामा मात्र नभई हरेक व्यक्तिले आ–आफ्नो जीवन र संघर्षका लागि ऊर्जाको स्रोतका रूपमा मनाउन सकून्। जतिसुकै हिंस्रक लैंगिक सत्ताविरुद्ध जतिसुकै निस्पट्ट अँध्यारोमा पनि तिनले भिड्ने हिम्मत गरून्। आखिर व्यक्ति व्यक्तिको निरन्तरको लडाइँले नै हो संसारका सबै मातृ शक्तिले आत्मसम्मान र सहअस्तित्व निर्माण गर्ने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
