क्यानडामा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ भने एक गम्भीर घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

क्यानडाको टोरन्टोनजिकै अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ। गोली लागेर गम्भीर अवस्थाका एक जनालाई अस्पताल लगिएको छ।

टोरन्टोबाट ३० किलोमिटर उत्तरतर्फको भउगान शहरस्थित एक भवनमा अन्धाधुन्ध गोली प्रहार भएको हो। स्थानीय समयानुसार आइतबार राति सवा ७ बजे भएको सो घटनामा आक्रमणकारीको समेत ज्यान गएको बीबीसीले उल्लेख गरेको छ।

आक्रमणकारी र ज्यान गुमाउनेहरूबीच सम्बन्ध भए-नभएको अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। योर्कका प्रहरी प्रमुख जिम म्याकस्विनले हाल त्यस स्थानमा कुनै जोखिम नरहेको भनेका छन्। यस्तै, घटनास्थलबाट उद्धार भएका सबैलाई घर फर्कन सक्ने भनिएको छ।

छिमेकी मुलुक अमेरिकाको तुलनामा क्यानडामा सामूहिक गोली प्रहारका घटना कम हुने गरे पनि पछिल्लो समय यस्ता घटनाहरू बढिरहेका छन्। क्यानडामा बन्दुक हिंसा न्यूनीकरणका लागि हाते बन्दुक प्रयोगमा कानूनी रूपमै प्रतिबन्ध लगाइएको छ।

सन् २०२० मा त्यहाँको नोभा स्कोसिया प्रान्तमा प्रहरीको भेषमा आएका एक एक बन्दुकधारी आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको मृत्यु भएको घटनापछि बन्दुकसम्बन्धी कानून कडा पारिएको थियो।

सन् २०२० को मेयता क्यानडामा मिलिटरी ग्रेड र आक्रमण शैलीका १५ सय प्रकारका हतियारमाथि प्रतिबन्ध लगाइएको छ।