विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका घोराहीका लोकेन्द्र रोकामगरले दशैँ, तिहारलगायत पर्वका साथै विभिन्न कार्यमा फूलको माग देखेपछि यसको खेती गर्न थालेको बताएका छन्।

घोराही– घोराही उपमहानगरपालिका–१४ झिंगौराका ३९ वर्षीय किसान लोकेन्द्र रोकामगरको बारीमा अहिले पनि सयपत्रीका फुल ढकमक्क फुलेका छन्। उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन्। 

“आजभोलि फूल किलोको ४०० रुपैयाँ र माला ७६५ देखि ७९० रुपैयाँसम्ममा बिक्री गर्दै आएको छु,” उनले भने। चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ। व्यावसायिक रूपमा फूलखेती गरिरहेका उनी यही व्यवसायमा सन्तुष्ट छन्। वैदेशिक रोजगारीबाट फर्किएपछि फूलखेती थालेका हुन्। भन्छन्, “बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ।”

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दशैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि यसको खेती गर्न थालेको बताए। विगत १२ वर्षदेखि फूलखेती गर्दै आएका छन्। गत तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका थिए। हाल दुई कठ्ठामा सयपत्रीका फूल उत्पादन गरिरहेका छन्। अहिले घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट फूलमालाको माग आउने गरेको छ।  

“जिल्लामा चाडपर्वको समयमा मात्र फूलखेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा मागअनुसारको फूलमाला पुर्‍याउन सकिरहेका छैनन्। “यो समयमा फूल चिसोका कारण मर्ने भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूलखेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न शुरू गरेको फूल जेठसम्म रहन्छ,” उनले भने, “विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायत कार्यमा फूलमाला बिक्री भइरहेको छ।”

घोराही–१४, झिंगौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर १ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए। साथै उनले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन्। उक्त माला १ हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन्।