माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिएको छ। विद्युत्‌गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ।

म्याग्दी– रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। 

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिएको छ। विद्युत्‌गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ। सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको आयोजनाका इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए। 

“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ,” उनले भने, “विद्युत्‌गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ।”

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ बताए। रघुगंगा–७ चिमखोलामा बाँध र रघुगंगा–४ दग्नामको फेदीमा विद्युत्‌गृह रहेको यस आयोजनाको सुरुङ चार हजार ९०० मिटर लामो छ। “आउटलेटबाट विद्युत्‌गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब १०० मिटर मात्र बाँकी छ। विद्युत्‌गृहबाट उत्पादन भएको विद्युत्‌ प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ,” उनले भने। 

यसैबीच, तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण गर्ने तयारी भइरहेको छ। राघुगंगा–८ को बन्दीमा बाँध, राघुगंगा–७ को चिमखोलामा विद्युत्‌गृह र पाँच हजार ३२८ मिटर लामो सुरुङको सबै काम सकिएको छ। 

दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैयाँ रहेको तुदीँ पावरका इन्जिनियर  भट्टराईले उल्लेख गरे। अपर राहुघाट र मंगले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न राघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ। राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन्। 

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी राघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ।