सिमेन्ट उद्योगको प्रदूषणले दाङको गढवा र अर्घाखाँचीको शितगंगाका स्थानीयलाई स्वास्थ्य संकट छैन, खेतीसमेत हुन छाडेको छ। जनजीवनमै संकट आउँदा उद्योग सञ्चालक भन्छन्– कहिलेकाहीँ धुलोधुवाँ भइहाल्छ नि।
काठमाडौँ– महेन्द्र राजमार्गसँग जोडिएको दाङको धोद्रेगाउँका डम्बरबहादुर योगीले खेतीपाती गरेरै ६ दशक बिताए। १० वर्ष अघिसम्म उनी भन्थे, “बाँचे पनि, मरे पनि आफ्नै भूमिमा बस्ने हो।”
अहिले परिस्थिति फेरिएको छ। उनी भन्छन्, “यो गाउँ कहिले छाडूँ जस्तो भएको छ।”
गढवा गाउँपालिका–१ का वडासदस्य पनि हुन् डम्बर। उनलाई बसिरहेको ठाउँ छाड्न मन लाग्नुको कारण न प्राकृतिक विपत्ति हो, न त अवसरको खोजी। उनलाई बसाइँ हिँड्ने सोचमा पुर्याउने कारण हो– सिमेन्ट उद्योग।
गढवा र शितगंगा बीचबाट बग्ने रङसिङ नदीले अर्घाखाँची–दाङको सीमा छुट्याएको छ। यो क्षेत्रमा बसोबास गर्ने स्थानीयका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका–८, चरिंगेमा २०७२ सालतिर जडिबुटी खेती गर्ने बहाना बनाइ व्यापारिक समूह जमिन किन्न आएको थियो।
चरिंगेका अधिकांश स्थानीयको प्रमुख पेसा खेतीपाती थियो। व्यापारिक समूहले कृषिमा आधुनिकीकरण गर्ने सपना देखाएपछि पुर्खाको सम्पति व्यापारीलाई बेच्न तयार भएको डम्बर बताउँछन्।
चरिंगेको आफ्नो जमिन बेचेपछि त्यहाँका स्थानीय वारि दाङको धोद्रेगाउँ, जुरौनीलगात ठाउँमा सरे।
तर स्थानीयसँग किनेको जमिनमा व्यापारीले जडिबुटी खेती गरेनन्। केही वर्षपछि नै त्यहाँ ‘शुभश्री अग्नि’ नामको सिमेन्ट उद्योग ठडियो। उद्योगले सिमेन्ट उत्पादन गर्न थालेपछि धोद्रेगाउँतिर सरेका मात्र नभई आसपासका गाउँका स्थानीयको पनि उठिबास लाग्ने अवस्था आएको छ।

दाङका धोद्रे, जुरौनी, तिनखण्डे, कालाकाटे र कलौनी तथा अर्घाखाँचीको शितगंगालगायत बस्तीका स्थानीय सिमेन्ट उद्योगको धुलो र धुवाँले हैरान छन्। बिहानको घामभन्दा अगाडि नै धुलो र धुवाँले ढाक्ने उनीहरूको गुनासो छ।
“व्यापारीले जडिबुटी खेती गर्ने भनेर झुक्याएर सिमेन्ट उद्योग सञ्चालन गरे,” डम्बर भन्छन्, “अहिले स्वासै फेर्न गाह्रो हुन थाल्यो। घाँटी पोल्ने, आँखामा निरन्तर जलन हुने भइरहेको छ।”
योगीले पछिल्लो समय न खेती गर्न सकिरहेका छन्, न स्वस्थ जीवन बाँच्न पाएका छन्। “बीउ रोप्दा उम्रन छाडिसक्यो, खेतबारी उजाड भए,” उनको गुनासो छ, “उद्योगले आपत् थपिदिएको छ।”
गाउँ छाड्न नदिने गरिबी
सिमेन्ट उद्योगको धुलो र धुवाँबाट सास्ती खेपेका डम्बरका कतिपय छिमेकीले गाउँ छाडिसकेका छन्। डम्बरको परिवारले भने पटकपटक गाउँ छाड्ने निधो गरेर पनि पाइला सार्न सकेको छैन। “धुलो र धुवाँले निल्दै गएको गाउँको जमिन कसैले किन्दैन। अरू ठाउँमा स्थापित हुने पैसा छैन,” उनी भन्छन्।
उद्योगका कारण योगी परिवारलाई सास्ती मात्र चुलिएको छैन, शोक समेत भोग्नु परेको छ। योगी परिवारमा क्यान्सरजस्तो प्राणघातक रोग कसैलाई देखिएको थिएन। तर त्यही क्यान्सरले उनकी श्रीमतीलाई चुँडेर लग्यो।
श्रीमती लक्ष्मीलाई २०७७ पुसमा श्वासप्रस्वासमा समस्या भयो। धुवाँ र धुलोले समस्या आएको भन्ने परिवारको अनुमान थियो। विभिन्न अस्पतालमा जचाउँदा क्यान्सर भएको पत्ता लाग्यो।

उनलाई उपचारका लागि परिवारले चितवनस्थित बीपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल पुर्याए। त्यहाँबाट घर फिर्ता ल्याएको दुई महिनापछि २०७८ चैत ६ गते क्यान्सरले ज्यान लियो।
“यो सिमेन्टको धुलो र धुवाँले आखिर श्रीमतीलाई लिएरै छाड्यो,” डम्बर भन्छन्, “रातदिन झ्यालढोका बन्द गर्नुपर्छ। यति गर्दा पनि सिमेन्टको धुलो चुल्होसम्म आइपुग्छ।”
आफ्नी श्रीमतीको ज्यान सिमेन्ट उद्योगबाट निस्किने धुवाँ र धुलोकै कारण गएको हो भन्ने डम्बरको ठम्याइ छ। “शुरूमा घाँटी पोल्न थाल्यो, श्वास फेर्नै गाह्रो भयो। बारम्बार अब म सक्दिनँ भन्थिन्। हाम्रो केही लागेन,” योगी भावुक भए।
विशेषज्ञका अनुसार सामान्य प्रदूषणभन्दा उद्योगबाट निस्किने धुलो धुवाँको प्रदूषण बढी घातक हुन्छ। फोक्सो रोग तथा सघन उपचार विशेषज्ञ डा. रक्षा पाण्डे भन्छिन्, “सिमेन्ट उद्योगको विषालु धुलो धुवाँमा सास फेर्दा तुरुन्तै मृत्यु हुने होइन, यसले रोगको मात्रा बढाइदिने हो। उद्योगबाट हुने प्रदूषणले गम्भीर प्रकृतिका रोग लाग्ने सम्भावना धेरै हुन्छ।”
श्रीमतीको मृत्युपछि प्रदूषणको विषय डम्बरले वडादेखि गाउँपालिकासम्म उठाइरहेका छन्। स्थानीयसहित गएर उद्योगलाई पनि जानकारी गराएका छन्। तर कतैबाट सुनुवाइ नभएको उनी बताउँछन्।
गाउँमा प्रदूषण, आन्दोलनमा स्थानीय
दाङका विभिन्न गाउँमा सिमेन्ट उद्योगको प्रदूषण फैलिएको छ, जसको कारण स्थानीय आजित छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको ‘इन्सेक वर्ष पुस्तक–२०२५’ अनुसार, घोराही, तुलसीपुर, लमहीलगायत स्थानमा खुलेका सिमेन्ट उद्योगले प्रदूषण बढाउँदै गएका छन्।
सिमेन्ट उद्योगले गर्ने प्रदूषणले खेतीपातीमा पनि गम्भीर असर परेको छ। कृषि उत्पादन घटिरहेको किसान बताउँछन्। धुलोका कारण पशुचौपायामा समेत असर परेको गढवाकी कृषक अनिता पाण्डे बताउँछिन्। उनी भन्छिन्, “गाईभैँसी बिरामी पर्न थालेका छन्। खेतबारीमा धुलो जमेर उत्पादन घट्दै गएको छ। यस्तो अवस्थामा कसरी यहाँ टिक्न सकिन्छ?”
गढवा गाउँपालिका–१ को वडा कार्यालयका अनुसार सिमेन्ट प्रदूषणका कारण गढवाका मात्र ५०० भन्दा धेरै घरपरिवार प्रभावित छन्। धोद्रेका ५५, कालाकाटेका ४०, कलौनीका ३५, जुरौनीका २०० र तीनखण्डेका १४५ घरपरिवार प्रत्यक्ष मारमा परेका छन्। वडाध्यक्ष बाबुराम अधिकारी उद्योग सञ्चालकहरूले निरन्तर अटेरी गरिरहेको बताउँछन्।
“स्थानीयको स्वास्थ्य, खेतीपाती र जग्गा नै जोखिममा छन्। तर उद्योग सञ्चालकहरू कानमा तेल हालेर बसेका छन्,” अधिकारी भन्छन्, “हामीले बारम्बार छलफलका लागि बोलाउँदा आएनन्। उनीहरूको अफिसमा गएर गुनासो राख्दा समेत वास्ता गरेनन्। अब सहेर बस्ने अवस्था छैन।”
उनका अनुसार उद्योग सञ्चालन भएपछि फुर्केसल्लीलगायत गाउँबाट स्थानीय विस्थापित भइरहेका छन्। प्रदूषणले जनजीवन नै तहसनहस बनाएको छ। उद्योग चलाउन स्थानीयले उठिबास हुनुपर्ने स्थिति रहेको उनी बताउँछन्।
कृषिका लागि भनेर स्थानीयलाई झुक्याएर उद्योग स्थापना गरेको स्थानीय जनप्रतिनिधि पनि बताउँछन्। आफूहरूले उद्योगको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मागेको तर अहिलेसम्म नपाएको वडाध्यक्ष अधिकारीको भनाइ छ।
उद्योगले स्थानीयको आवाज नसुनेपछि आन्दोलन हुन थालेको छ। २०८० माघ १२ गते शुभश्री अग्नि सिमेन्ट उद्योगको गेटअगाडि जम्मा भएर स्थानीयले विरोध जनाएका थिए। उद्योगले प्रदूषण नियन्त्रण गर्नुपर्ने स्थानीयको माग छ।
उद्योगका कारण बालबालिकालाई झनै धेरै जोखिम भएको स्थानीय कृषक रेकम पुरी बताउँछन्। “आँगनभरि सिमेन्टको धुलो हुन्छ। बच्चाबच्चीलाई स्कुल पठाउँदा पनि डर लाग्छ। यसले फोक्सोमा झन् असर पुर्याउँदो रहेछ,” उनी भन्छन्।
विद्यालय आउने बालबालिका धुलो र धुवाँको जोखिममा परेको शिक्षकहरू बताउँछन्। बालज्योति आधारभूत विद्यालयकी शिक्षक मनिसरा घर्ती भन्छिन्, “बच्चाहरूलाई प्रायः ज्वरो आउने, आँखा पोल्ने, खोकी लाग्ने समस्याबाट पीडित छन्। हामीले उद्योगलाई यसबारे जानकारी गरायौँ, तर अहिलेसम्म कुनै सुधार देखिएको छैन।”
शितगंगा नगरपालिका–८ का वडासदस्य बेलबहादुर राना धुलो नियन्त्रणका लागि पटक–पटक आग्रह गरिए पनि उद्योगले अटेरी गरिरहेको बताउँछन्। “सबभन्दा धेरै तीनखण्डे, फुर्केसल्ली, पाखापानीलगायत बस्ती प्रभावित छन्। धुलो, धुवाँका कारण यहाँ बस्नै मुस्किल भइसक्यो,” उनी भन्छन्, “उद्योगले धुलो नियन्त्रण गर्ने उपकरण जडान गर्ने आश्वासन दिएको छ, तर कार्यान्वयन गरेको छैन।”
शुभश्री अग्नि सिमेन्ट उद्योगका म्यानेजर शिव अर्याल भने प्रदूषण नियन्त्रणका लागि काम गरिरहेको जिकिर गर्छन्। प्रदूषण नियन्त्रणका सामग्रीहरू मगाएको र छिट्टै जडान गरिने उनले बताए। “धोद्रेगाउँमा हाम्रो उद्योगले प्रदूषण गरेकै हो। प्रदूषण कम गर्न केही इक्विपमेन्ट चाहिन्छ,” उनी भन्छन्, “भारतबाट ती इक्विपमेन्ट मगाइसकेका छौँ, आउन दुई महिना लाग्छ। छिट्टै जडान गरेर समस्याको समाधान गर्छौँ।”
तर स्थानीय भने उद्योग सञ्चालकहरूले पटक–पटक आश्वासन मात्र दिएर पन्छिने गरेको बताउँछन्।
‘बलिया’ व्यापारीका अगाडि ‘निरीह’ नागरिक
स्थानीयबासीहरूले पटक–पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न आग्रह गरेका छन्, तर उद्योगले केवल आश्वासन दिनेबाहेक काम गरेको देखिँदैन। “सिमेन्ट उद्योगको धुलो र धूवाँले हाम्रो बारी बाँझो बनाउँदैछ। घरभित्रै सास फेर्न गाह्रो पार्दैछ। बच्चाबच्ची बिरामी बनाइरहेको छ,” स्थानीय शिक्षक सुनील पुन भन्छन्, “उद्योग सञ्चालकहरू आश्वासन बाँड्ने बाहेक केही गर्दैनन्।”
सिमेन्ट उद्योगले प्रदूषण नियन्त्रणका लागि कानूनी मापदण्डहरूको समेत उल्लंघन गरेको देखिन्छ। औधोगिक व्यवसाय ऐन, २०७६ को दफा ७ (३) मा भनिएको छ, “उद्योग सञ्चालनका क्रममा वातावरणमा परेको वा पर्न सक्ने प्रतिकूल वातावरणीय असरको न्यूनीकरण गर्ने जिम्मेवारी सम्बन्धित उद्योगको हुनेछ।”
वातावरण संरक्षण ऐन २०५३ ले पनि यसरी प्रदूषण फैलाउन रोक लगाएको छ। ऐनको दफा ७ (१) मा भनिएको छ, “कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जनजीवन र जनस्वास्थ्यका लागि खतरा हुनसक्ने किसिमले प्रदूषण सृजना गर्न वा तोकिएको मापदण्ड विपरीत यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी, विकिरण तथा फोहरमैला निष्कासन गर्न, गराउन हुँदैन।”
यसैको उपदफा २ मा माथिका कार्य गर्नेलाई आवश्यक शर्तहरू तोक्न वा त्यस्तो कार्य गर्न नपाउने गरी रोक लगाउन सकिने व्यवस्था छ। उद्योगले पहुँच प्रयोग गरेर कानून उल्लंघन गरिरहेको स्थानीयको भनाइ छ।
शुभश्री अग्नि सिमेन्टले कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको विवरणअनुसार उद्योगका सञ्चालक पाँच जना छन्। उद्योगको अध्यक्ष कृष्णप्रसाद पोखरेल हुन्। प्रबन्ध सञ्चालकमा ताराप्रसाद पोखरेल छन् भने, सञ्चालकमा राजकुमार पोखरेल, सुधिरप्रसाद तिमल्सिना र इन्द्रकला पोखरेल छन्।
यीमध्ये कृष्ण, तारा र राजकुमार दाजुभाइ हुन्। कम्पनीका हर्ताकर्ता पनि उनीहरू नै हुन्। तारा कान्तिपुर इन्जिनियरिङ कलेजका सञ्चालक पनि हुन्। उनी नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्षसमेत छन्।
शुभश्री अग्नि सिमेन्ट उद्योग पब्लिक कम्पनीका नाममा दर्ता भए पनि एउटै परिवारले चलाइरहेको छ। उकालोको सम्पर्कमा आएका ताराप्रसाद पोखरेल आफूहरूले कानून उल्लंघन नगरेको र स्थानीयलाई विस्थापित पनि नगरेको दाबी गरे।
“उद्योग हो कहिलेकाहीँ मेन्टिनेन्समा गएका बेला धुलोधुवाँ नियन्त्रणभन्दा बाहिर हुन्छ। त्यसरी गाउँलाई हानि गर्ने र जनजीवनमा समस्या आउने काम गरेका छैनौँ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
