पाथीभरा केबलकार विवाद : गृहले आन्दोलनरत पक्षलाई पुनः बोलायो वार्तामा

पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।

काठमाडौँ– ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ। 

गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षलाई मंगलबार पुनः वार्ता र संवादमा आउन आग्रह गरिएको जानकारी दिए।

उनले सोमबार राति सूचनासमेत जारी गरेका थिए। “निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता समिति सबैमा हार्दिक अपिल गर्दछ,”  सूचनामा भनिएको छ।

सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ता टोली गठन गरेको थियो। दुई पटक बसेको छलफलले टुंगो लगाउन नसकेपछि वार्ता अघि बढ्न सकेको थिएन।

‘नो केबुलकार’ समूहले वार्ता नगर्ने भन्दै पुनः आन्दोलन थालेपछि सो क्षेत्रमा दुईपटक झडप भइसकेको छ।