कम्दी करिडोरमा क्यामरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताको भनाइ छ।
बाँके– जिल्लाको राप्तिसोनारी गाउँपालिका–३ बैसाको हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामरा जडान गरिएको छ। करिडोरमा वन्यजन्तुको ओहोरदोहोरको अवस्था, वासस्थान, संरक्षण, विविध गतिविधि अवलोकन गर्ने उद्देश्यले क्यामरा जडान गरिएको हो।
जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले उक्त क्यामरा जडानबाट मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले जिल्लामा दिगो वन व्यवस्थापनका थुप्रै कार्य डिभिजन वन कार्यालयको मातहतमा रहेका सबडिभिजन वन कार्यालयले गर्दै आएको बताए।
उनका अनुसार राष्ट्रिय वन व्यवस्थापनअन्तर्गत सामुदायिक वनको काठ दाउरा संकलन गर्ने काम गत कात्तिकदेखि जिल्लामा शुरू गरिएको छ। त्यस्तै सामुदायिक वनका समूह, पदाधिकारी, उपभोक्तालाई वन व्यवस्थापन तथा सुशासनका सम्बन्धमा, संस्था सञ्चालन प्रक्रियाका बारेमा जानकारी दिन अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
“जिल्लाका विभिन्न ठाउँमा गरी आठ वटा नर्सरीबाट स्थानीय मागअनुसारको उच्च मूल्यका बिरुवा उत्पादन गर्न शुरू भइसकेको छ,” वन अधिकृत गुप्ताले भने, “आठ वटै नर्सरीमा आठ लाख बिरुवा उत्पादन गर्न सुरु भएको छ। कुनै ठाउँमा बिरुवा छर्ने तयारी गरिएको छ भने कुनै ठाउँमा बिरुवालाई प्लास्टिकमा राखेर सुरक्षित गर्ने काम गरिएको छ।” सहरी क्षेत्रमा लगाउने बिरुवाहरू उत्पादन गरिएको पनि उनले बताए।
राप्तीसोनारी–९ ढकेरीमा वनक्षेत्रको अतिक्रमण हटाएर बनाइएको उच्च प्रविधिको नर्सरीलाई श्रीखण्डको बिरुवा उत्पादनका लागि विशेष रूपमा निर्माण गरिएको डिभिजनल वन अधिकृत गुप्ताले जानकारी दिए। करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात टहरा हटाएर उक्त हाइटेक नर्सरी निर्माण गरी चालु आर्थिक वर्षदेखि श्रीखण्डको बिरुवा उत्पादन शुरू गरिएको उनले बताए। उनका अनुसार जिल्लामा आयआर्जनका लागि सामुदायिक वनमा लाहा खेती पनि शुरू गरिएको छ।
बाघ तथा आहार प्रजातिको अनुगमन तथा संरक्षणका लागि वन परिसरका विभिन्न स्थानमा क्यामरा जडान गरिएको गुप्ताले बताए। “हामीले यो स्तरको अनुगमनको काम कम्दी करिडोरमा गरेका थिएनौँ। यसले बाघको संख्या, घनत्व र आहारका विषयमा जानकारी दिनेछ। साथै बाघ र आहारका प्रजाति पनि के–कति छन्? भन्ने जानकारी लिन सकिन्छ,” उनले भने। यसरी क्यामरा ‘ट्र्यापिङ’ गरेर काम गर्दा मानव र वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। उनका अनुसार कम्दी करिडोर भारत र नेपाललाई जोड्ने वन क्षेत्रका रूपमा मानिन्छ।
जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का कार्यक्रम अधिकृत सञ्जय कँडेलले कम्दी करिडोरमा जडान गरिएको क्यामरा ट्र्यापिङले यस क्षेत्रमा बाघले विचरण गरेको छ वा छैन भन्ने कुरा पत्ता लाग्ने बताए। “जैविक मार्ग भनेको आफैँमा वन्यजन्तु राख्नेभन्दा पनि वरपरका वन्यजन्तुलाई आवतजावत गराउन सक्षम छन् कि छैनन् भन्ने विषय महत्त्वपूर्ण हो। बाघ तथा अन्य वन्यजन्तुहरू कुन दिशाबाट विचरण गरेका छन् भन्ने कुराको अध्ययन गर्न सजिलो हुन्छ”, उनले भने, “आहार प्रजातिको अध्ययनले भोलिका दिनमा त्यो क्षेत्रमा कत्तिको बाघहरू ओहोरदोहोर गर्न सक्छन् भन्ने जानकारी प्राप्त हुन्छ।”
वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले स्थानीय सरकारले ऐन र कार्यविधि बनाएर वन वातावरण र जैविक विविधताका क्षेत्रमा काम गर्दै आएका बताए। वन र वन्यजन्तुको उचित संरक्षणसँगै पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सबैको समन्वयात्मक प्रयास आवश्यक हुनुपर्नेमा उनले जोड दिए।
“मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि मन्त्रालयले वन्यजन्तुको व्यवस्थापन, वासस्थान र संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ,” उनले भने। व्यवस्थापनका लागि प्राविधिक सहयोग बाँके र बर्दियास्थित राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत साझेदार संस्थाबाट आर्थिक सहयोग लिइएको उनले जानकारी दिए।
“बाघहरू बस्दा पनि उनीहरूलाई आहारा चाहिन्छ । बाघको सङ्ख्या निर्धारण गर्ने एउटा प्रमुख तत्त्व आहार प्रजाति भएको हुनाले अनुगमनमा पनि आहार समावेश गरिएको हो”, जेडएसएलका कार्यक्रम अधिकृत कँडेलले भने। उनका अनुसार अहिले बाघ तथा आहार प्रजातिको अनुगमनमा कम्दी करिडोर र आसपासको करिब ३५ हजार हेक्टर वनक्षेत्रमा ९५ वटा क्यामरा जडान गरिएका छन्। जडान गरिएको मितिदेखि १५ दिनसम्म क्यामराबाट अनुगमन गरिने र प्राप्त विवरण सार्वजनिक गरिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
