सांसदले पाथीभरा क्षेत्रमा जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि तत्काल निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदले पाथीभरा क्षेत्रमा जनताको इच्छा विपरीत केबलकार निर्माण शुरू गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि तत्काल निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा सांसद सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथीभरा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे।
“सरकार किन अनदेखा गरेको? मन्त्रीस्तरको वार्ता गर्न सरकार किन तयार नभएको,” सांसद लिङ्देनले भने, “सरकारी तवरबाटै पाथीभरा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रूपमा काम भएको छ, शुरूमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो।”
अहिले जनताको इच्छा विपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराए।
सांसद योगेश भट्टराईले ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो या होइन वार्ता र संवादबाट टुंग्याउनुपर्ने उल्लेख गरे।
सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन्। साथै उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन्।
सांसद माधव सापकोटाले सुशासन कायम गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’मा पुगेको बताइन्। उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा दुर्व्यवहार गर्नेमाथि कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद तारा लामाले कञ्चनपुरको बेलडाँडीमा बस्ती हटाउने नाममा स्थानीय प्रशासनबाट जनता घाइते भएको आरोप लगाउँदै घाइतेको उपचार गर्न र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे।
केआईआईटी विश्वविद्यालयमा भएको घट्नाप्रति भर्त्सना
सांसद पदम गिरीले गत आइतबार भारतको उडिसा राज्यको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै पीडितले आफूलाई मानसिक र शारीरिक यातना दिइरहेको र सुरक्षा चाहिएको भनेर जानकारी गर्दा पनि बेवास्ता गरिएकोप्रति भर्त्सना गरे।
उनले त्यो घटनाप्रति आक्रोशित नेपाली विद्यार्थीले विरोध गर्दा विश्वविद्यालयले स्थानीय गुन्डा र सुरक्षागार्ड लगाएर आफ्ना सामना समेत लिन नपाईकन रेलवे स्टेसनमा पुर्याउने काम गरेको उल्लेख गर्दै विरोध जनाए।
सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर पक्ष र विपक्षमा बहस भइरहेको उल्लेख गर्दै कुनै पनि बहानामा लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार सैह्य नभएको बताइन्। उनले जुन आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनाएको र त्यही आन्दोलनले नै राजालाई नागरिक बनाएको हुनाले पूर्वराजा र समर्थकहरूलाई उक्त सपना नदेख्न आग्रह गरिन्।
सांसद रमा कोइरालाले विदेशमा भिजिट भिसामा जानेलाई कानूनी मान्यता दिन नहुने र गैरकानूनी बाटोबाट लगेर सूचीकृत गर्ने कुराप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले गैरकानूनी रूपमा म्यानपावर कम्पनीले रोजगारीमा पठाएर कामदारलाई समस्यामा पार्ने गरेको र त्यसमा महिला कामदारहरू बढी मारमा पर्ने गरेको बताइन्।
सांसद रघुजी पन्तले भारतको उडिसा राज्यको केआईआईटी विश्वविद्यालयको घटनापछि प्रधानमन्त्री र नेपाल सरकारको तत्कालको हस्तक्षेपले केही समस्या समाधान भए पनि पूर्ण रूपमा समाधान नभएको बताए। उनले एक हजार ५०० विद्यार्थीमध्ये विभिन्न नाकाबाट पाँच सयभन्दा विद्यार्थी नेपाली विद्यार्थी स्वदेश फर्किरहेका बताउँदै नेपाललाई होच्याउने कार्य निन्दनीय भएको उल्लेख गरे।
सांसद पन्तले भने, “सबै विद्यार्थी छात्रवृत्तिमा पढ्ने होइनन्। लाखौँ पैसा बुझाएर पढिरहेका छन्। ती विद्यार्थीलाई सुरक्षित रूपमा त्यहाँ गएर पढ्ने वातावरण मिलाउन जरुरी छ। भारतमा पढ्न जाने प्रत्येक विद्यार्थीको तथ्यांक राख्नुपर्ने र सकेसम्म विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न माग गर्दछु।”
सांसद महेश बस्नेतले मेची राजमार्गमा धेरै दुर्घटना हुने गरेको र सवारीसाधनको चाप बढेकाले सडकलाई फराकिलो बनाएर सुरक्षित बनाउन माग गरे। सांसद रामप्रकाश चौधरीले जंगली हात्तीको समूहले सर्लाहीको उत्तरी क्षेत्रमा आतंक मच्चाइरहेको र व्यावसायिक केराखेती, मकैखेती नष्ट गरेको जानकारी गराउँदै क्षतिपूर्तिका लागि सरकारसँग माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
