पुटिनले युक्रेनमा युद्ध अन्त्यका लागि द्वन्द्वको ‘मूल कारण’ सम्बोधन हुनुपर्ने बताएका छन् भने न्यायपूर्ण शान्तिको सुनिश्चितताले मात्रै युद्धको स्थायी अन्त्य हुने जेलेन्स्कीको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेका छन्। उनले दुवैसँग गरेको एक–एक घण्टा टेलिफोन कुराकानीका क्रममा शान्ति वार्ता शुरू गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच तीन वर्षदेखि जारी युद्धलाई अन्त्य गन वार्ताका लागि मस्को र किभको धारणा बाहिर ल्याउन एएफपीका समाचारदाताले उनीहरूको अडानबारे समीक्षा गरेका छन्।
संघर्षको ‘मूल कारण’ सम्बोधन हुनुपर्छ: रुस
ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्नका लागि द्वन्द्वको ‘मूल कारण’ समाधान गर्न आवश्यक रहेको बताएका छन्।
रुसका अनुसार सन् २०२१ को अन्त्यतिर मस्कोले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) र वासिङ्टनसँग युद्ध शुरू गर्नुभन्दा केही हप्ताअघि राखेको सुरक्षा मागलाई संकेत गर्दै यो कदम चालिएको हो।
ती मागले युरोपको सुरक्षा संरचनामा व्यापक परिवर्तनको परिकल्पना गरेको छ। यसमा पूर्वसोभियत देश, बाल्टिक राज्य, रोमानिया र बुल्गेरियासहित पूर्वी समूहका सदस्यबाट अमेरिकी र नाटो सेनाको फिर्ती समिटिएको छ। उनीहरू सबै नाटो र ईयू सदस्य हुन्।
रुसले युक्रेनलगायत अन्य कुनै पनि पूर्वसोभियत राष्ट्रलाई नाटोको सदस्यता तथा सैन्य कारबाही नगर्ने प्रतिबद्धता पनि मागेको छ।
क्रेमलिनले आक्रमण शुरू गरेदेखि नै युक्रेनको नियन्त्रणमा रहेको रुसको भूभागलाई आफ्नो सेनाद्वारा नियन्त्रित युक्रेनी भू–भागसँग साटासाट गर्ने विचारलाई पनि अस्वीकार गर्दै आएको छ।
मस्कोले सन् २०२२ मा युक्रेनका दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको थियो। सन् २०१४ मा क्रिमिया कब्जा गरेको उल्लेख गर्दै उसले द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्झौताले ‘धरातलीय नयाँ वास्तविकता’ प्रतिबिम्बित गर्नुपर्ने बताएको छ।
जेलेन्स्कीको कार्यकाल गत वर्ष समाप्त भएको दाबी गर्दै उसले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता नगर्न अडान लिएको छ। तर आक्रमणपछि लागू सैनिक कानूनअन्तर्गत जेलेन्स्की युक्रेनको नेता हुन्। उनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेका छन्।
पुटिनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उनीसँग भेट्न तयार रहेको पनि बताएका छन्। उनले कुराकानीका क्रममा ट्रम्प सन् २०२२ मा ह्वाइट हाउसमा भएको भए युद्ध नै शुरू नहुने भनाइ राखेका थिए।
न्यायपूर्ण शान्तिको सुनिश्चितता: युक्रेन
युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध जतिसक्दो चाँडो अन्त्यका साथै भविष्यमा पनि रुसी आक्रमण रोकियो भन्ने चाहन्छन्। दीर्घकालीन सुरक्षा सुनिश्चितताका लागि नाटोको सदस्यता या ठूलो मात्रामा विदेशी शान्ति सेनाको टुकडी प्राप्त होस भन्ने उनको माग छ।
उनले वार्तामा युक्रेन, रुस, अमेरिका र युरोपेली संघलाई पनि समावेश गर्नुपर्ने बताउँदै आएका छन्। किनभने हाल ईयूको सदस्यताको उम्मेदवारका रूपमा रहेको किभ उक्त समूहमा सामेल हुने आशामा छ।
किभले रुसले कब्जा गरेको आफ्नो भूभाग उसलाई सुम्पन अस्वीकार गरिरहेको छ। तर जेलेन्स्कीले युक्रेनले कूटनीतिका माध्यमबाट केही भूभाग पुनः प्राप्त गर्न सक्ने बताएका छन्।
उनले शान्तिसूत्र र विजय योजना गरी दुई दस्ताबेजमार्फत युद्ध अन्त्य गर्ने युक्रेनी दृष्टिकोणको वरिपरि सहयोगीलाई भेला गर्ने प्रयास गरिरहेका छन्। उनले किभबाहेकको वार्ता असफल हुने पनि बताएका छन्।
युक्रेनले गत अगस्टमा रुसको सीमावर्ती क्षेत्र कुस्र्कको केही भाग कब्जा गरेको थियो। उसले यो क्षेत्र कुनै पनि वार्ताका लागि महत्त्वपूर्ण लेनदेनको मुद्दा हुनसक्ने बताएको छ। यसै साताको शुरूमा उनले युक्रेनमा रुसको कब्जामा रहेको केही भूभागको बदलामा यसलाई त्याग्ने विचार अघि सारेका थिए।
यसअघि उनले रुसी सेनाको पूर्ण फिर्ता वार्ताको पूर्वशर्त हुने र ‘न्यायोचित शान्ति’ले मात्र युद्धको स्थायी अन्त्य गर्न सक्ने बताएका थिए। रासस/एएफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
