रौतहटको जंगलमा भेटिएको घाइते ‘एमगज’ हात्तीको उपचार

रौतहटको जंगलमा भेटिएको घाइते ‘एमगज’ नामक हात्तीको बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवनका पशुचिकित्सकको टोलीले उपचार गरेको छ।

रौतहट– रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जंगलमा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जको घाइते ‘एमगज’ नामक हात्तीको बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवनका पशुचिकित्सकको टोलीले उपचार गरेको छ।

चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाँडाको महादेवस्थान सामुदायिक वन उपभोक्ता समूहको जंगलभित्र टयाककोलाइज (डार्ट) गरी बेहोस बनाएर हात्तीको उपचार गरिएको हो।

एमगज जंगल तथा बस्तीमा करिब दुई महिनादेखि देखिइरहेको स्थानीय टीका आचार्यले बताए। उनका अनुसार हात्तीको दायाँ खुट्टामा चोट लागेको अवस्थामा थियो। हात्तीलाई कसैले गोली हानेको हुन सक्ने आशंका गरिएको उनले बताए।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलीले घाइते एमगजको उपचार गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाका अनुसार हात्तीको दायाँ खुट्टाको घोडा मुनि र घाटीमा धातुको वस्तुले प्रहार गरेको चोट देखिएको छ। चोटले गर्दा खुट्टा र घाटीको मासु सुनिएको थियो। हात्तीको शरीरमा भएको घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरेको उनले बताए। 

हात्ती बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो। हात्तीको उपचार सकिएलगत्तै त्यसै स्थानमा छाडिएको थियो।

एमगजले रौतहटको उत्तरी भेगमा दर्जनौँको घर भत्काउनका साथै अन्न बालीमा क्षति पुर्‍याएका कारण स्थानीयले एमगजलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गर्ने माग गर्दै आएका छन्। हात्तीको उपचार मात्र गर्ने तर स्थानान्तरण गर्ने जिम्मेवारी आफ्नो न भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ।