२४ वर्षपछि स्तरोन्नति हुँदै बागलुङ–सिगाना सडक

बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन्। सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन्।

गलकोट– ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ। २०५४ सालमा निर्मित बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक स्तरोन्नति हुन थालेको हो। 

बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छ। गोखोलासम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ। बागलुङ बजारदेखि ३ लाख रुपैयाँ बजेटमा सिगानातर्फ सडक ल्याउने कामको शुरूआत भएको थियो। 

तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको २४ वर्षपछि सडक स्तरोन्नति भएकामा खुशी व्यक्त गरे। सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्र ग्राभेल र काठेखोलासम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको छ। यसले कठिन यात्रा सहज भएको खड्काको भनाइ छ। 

बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो गुड्न थालेका छन्। सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन् भने आन्तरिक पर्यटकले ट्याक्सी र अटोरिक्सा लैजान थालेका छन्। कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासले विस्तारै गति लिँदैछ। 

काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्दैनथे। खच्चडकै भरमा सामग्री ढुवानी गर्नुपर्थ्यो। सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घण्टाभन्दा बढी समय लाग्थ्यो। वडा कार्यालयसम्म पुग्नै एक घण्टाजति समय लाग्थ्यो। सडक स्तरोन्नतिसँगै हाल १५ मिनेटमै त्यो दूरी पार गर्न सकिन्छ। 

सिगानामा २९ करोड रुपैयाँ लागतमा आठ किमी सडक कालोपत्र गर्न ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो। सडक कालोपत्रको जिम्मा पाएको कर्ण बिल्डर्सका साइट इन्चार्ज सन्दीप श्रेष्ठले फागुनसम्म ६ किमी सडक कालोपत्र गर्नेगरी काम भइरहेको बताए। 

बागलुङ–१ अन्तर्गत बागलुङ बजार, अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने ३० किमी सकडमध्ये पहिलो चरणमा १० किमी सडकको काम अन्तिम चरणमा पुगेको छ। पुनः १० किमी सडकको ठेक्का खोल्ने तयारी भइरहेको छ।