बालक अपहरणको आरोपमा कलंकीबाट भियतनामी नागरिक पक्राउ

बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले कलंकीबाट एक जना भियतनामी नागरिकलाई पक्राउ गरेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ–  बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा नेपाल प्रहरीले काठमाडौँको कलंकीबाट एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणको आरोपमा भियतनामको चाइवाङ सिटी ठेगान भई हाल काठमाडौँ–१४ कलंकी बस्दै आएका माई होङ्ग किङ्ह लौनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट मोबाइल, ल्यापटप, नक्कली भारतीय आधार कार्ड तथा वीरगन्ज जान किनिएको बसको टिकट बरामद गरेको जनाएको छ।

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ललितपुर–१२ पाटन, मंगलबजारका एक बालकलाई उनले अपरण गरी कलंकी पुर्‍याएर बन्धक बनाएका थिए।

आफ्नो छोरा हराएको भन्दै सरिता तामाङले बिहीबार साढे आठ बजेतिर दिएको उजुरीपश्चात् प्रहरीले अनुसन्धान थालेको थियो। 

सीसी क्यामराको मद्दतले खोजतलास गर्दा उनले बिहीबार राति पौने ९ बजेतिर पाटनको कृष्ण मन्दिर नजिकैबाट बालकलाई ट्याक्सीमा चढाएका पाइएको थियो।

क्रिसमस मनाउने सिलसिलामा पाटनको कृष्ण मन्दिर प्राङ्गणमा ती बालक र उनका दाइलाई खानेकुरा दिई चिनजान बढाएको, त्यसपछि पटक–पटक उनले खेल्ने र खानेकुरा दिई नजिकिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनले शुक्रबार बालकलाई काठमाडौँबाट वीरगन्ज लैजाने योजनासहित बसको टिकट काटेका थिए। 

कार्यालयबाट खटिएको टोलीले बालकलाई गेस्ट हाउसमा बन्धक बनाइ राखेको अवस्थामा सकुशल उद्धार गरी अपहरणमा संलग्न भियतनामी नागरिकलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, जावलाखेल पठाइएको सूचना अधिकारी, प्रहरी उपरीक्षक आचार्यले बताए।