बागमती प्रदेशसभाले छलफलका लागि समितिमा पठायो ४ विधेयक

बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति दिएको छ।

मकवानपुर– बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ।

प्रदेशसभाको शनिबारको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री किरण थापा मगरको तर्फका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पेश गरेको ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’लाई शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो।

उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले पेश गरेका ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’लाई पर्यटन तथा वातावरण समितिमा पठाइएको छ।

यसैगरी शनिबारको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पेश गरेको प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ।

ती विधेयक सोही बैठकले सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो। ‘प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ आजको बैठकमा पेश हुने कार्यसूचीबाट हटाइएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।