बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्।
म्याग्दी– पर्वतको जलजला गाउँपालिका–१ बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए। तर हाल उनले वार्षिक करिब ४५ लाख रुपैयाँको सुन्तला बिक्री गर्न सफल भएका छन्।
“सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्छन्, “यो वर्ष मात्रै ४५ लाखको सुन्तला बिक्री गर्छु।”
खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार ५९३ बोट सुन्तलाका बिरुवा छन्। यस वर्ष ४८० बिरुवामा ३४ हजार किलो सुन्तला फलेको छ।
सबै बोटमा फल लाग्दा वार्षिक १ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने उनले सुनाए। प्रतिकिलो १२० रुपैयाँका दरले बगैँचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन्। यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ।
बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरुवा रोपेका थिए। निकै मिठो भएकाले त्यतिबेला धेरैले मागेर खान्थे।
बाबु मीनबहादुर खत्रीले २०३३ सालमा बारीमा २५ वटा बिरुवा थपे। त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो। सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो।
विदेश जानु नपर्ने, शहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरुवा थप्ने गरेका छन्। पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन्। घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ।
३५ वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरे। निवृत्त जीवन पनि उनले सुन्तला खेतीमै लगाएका छन्। चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारीसहित परिवार सुन्तला खेतीमा तल्लीन छन्।
खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन्। २० रोपनीमा ९५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले २३ लाख र ८०० बोटको बगैँचा भएका हेमकुमार अर्मजाले ३० लाख रुपैयाँको सुन्तला बिक्री भएको बताए।
समुन्द्र सतहदेखि एक हजार १०० देखि एक हजार ९०० मिटर उचाइमा रहेको बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्।
बाँसखर्कको एक हजार ५०० रोपनी जग्गामा सुन्तलाखेती भएको वडाध्यक्ष जगबहादुर रोकाले बताए। २६ हजार ७०६ वटा बोटमा यस वर्ष १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए। बाँसखर्कमा ५१ हजार १५१ सुन्तलाका बोट छन्। २४ हजार ४४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ।
देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन्। पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् ।
बेनीदेखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइको नियमित र व्यवस्थित सुविधा भएमा सुन्तलाखेती थप विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
