निशाले मैदानभित्र गरेको प्रदर्शनले प्रशिक्षकबाट जुन वाहवाही पाइन्, त्यो मैदानबाहिर अन्य खेलाडी र दर्शकबाट पाउन सकिनन्।
पोखरा- बाहिरबाट हुटिङ गर्नेको भीड, तालीको गडगढाहट र बधाइ दिनेको ओइरो। जब कुनै खेलाडीले स्वर्ण जित्छ माहोल यस्तै बन्छ। तर, पोखरामा शुक्रबारदेखि शुरू भएको नवौं बृहत् राष्ट्रिय खेलकुदतको एथलेटिक्सतर्फको माहोल शनिबार बिहान अलि भिन्न देखिन्थ्यो। शनिबार बिहान ‘स्प्रिन्ट हिट्स’का लागि खेलाडी फिल्डमा उत्रिँदा-नउत्रिँदै दर्शकमा आ-आफ्नै अड्कलबाजीसहित गाइँगुइ शुरू भइसकेको थियो।
प्याराफिटमा बसेका दर्शकमाझ चलेको ती अड्कलबाजी न कुनै जितको थियो न त हारको नै। अड्कलबाजी लक्षित थियो- भर्खरै राष्ट्रिय खेलकुदमा डेब्यू गरेकी निशा चौधरीको शरीर र हाउभाउमाथि। उनीहरू भन्दै थिए- यिनी त तेस्रो लिङ्गी होइनन्?
सानो कद, मसिनो बोली अनि छरितो ज्यान भएकी निशाले शनिबार सय मिटर ‘स्प्रिन्टतर्फ हिट्स’मा भाग लिएकी थिइन्। उक्त स्पर्धामा देवीमाया पनेरूको २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी उनले १२ दशमलव १५ सेकेन्डमा ‘हिट्स’ पूरा गरिन्। पनेरूले सन् १९९९ मा नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साफ)मा १०० मिटरको दूरी १२ दशमलव १९ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान बनाएकी थिइन्।
तर, ‘हिट्स’मा स्वर्णको आशा गरेकी निशा फाइनल ‘इभेन्ट‘मा भने ‘स्टाटिङ’मा गरेको सानो गल्तीका कारण चुकिन पुगिन्। उनलाई पदकका लागि भएको स्पर्धामा विभागीय त्रिभुवन आर्मी क्लबकी अनुभवी तथा सिनियर खेलाडी सरस्वती चौधरीले पराजित गरिन्। सरस्वतीले १२ दशमलव १३ सेकेन्डले नयाँ कीर्तिमानसहित स्वर्ण जितिन्। दोस्रो भएकी निशाले १२ दशमलव ५३ सेकेन्डमा दौड पूरा गर्दै रजत पदकमा चित्त बुझाइन्।
तर, ‘हिट्स’मा उनी जुन गतिमा दौडिरहेकी थिइन्, त्यसले उपस्थित सबै प्रशिक्षकको मन मोहित पारेको थियो। नपारोस् पनि किन? पहिलो राष्ट्रिय सहभागितामै उनले यसै वर्ष चीनमा आयोजना भएको ओलम्पिकमा समेत सहभागिता जनाइसकेकी आर्मीकी सरस्वतीलाई अन्तिमसम्म पनि बलियो चुनौती दिएकी थिइन्।
तर, निशाले मैदानभित्र गरेको प्रदर्शनले प्रशिक्षकबाट जुन वाहवाही पाइन्, त्यो मैदानबाहिर अन्य खेलाडी र दर्शकबाट पाउन सकिनन्।
लुम्बिनी प्रदेशका एथलेटिक्स प्रशिक्षक तथा निशाका 'मेन्टर' पद्मा चौधरी भन्छिन्, "निशाले १७ वर्षकै उमेरमा जुन उपलब्धि हासिल गरिन्, त्यो अरूले पाउन मुस्किल छ। तर, मैदान बाहिरको टीकाटिप्पणीले उनको अर्को स्पर्धामा असर पार्न सक्ने खतरा छ।"
उनको हाउभाउ लिएर यसअघि पनि टीकाटिप्पणी हुने गरेको थियो। गत असार अन्त्यमा सम्पन्न १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चार स्वर्ण जितेपश्चात् नै उनीमाथि लिङ्गको प्रश्न उठिरहेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको प्रतियोगितामा पहिलोपटक भाग लिएकी दाङको तुलसीपुर उपमहानगरपालिका-१६ भेलाहीकी निशाको अनुहार, गति र हाउभाउलाई धेरैले अस्वाभिक ठानेका थिए। कुनै प्रशिक्षण नै नलिई पहिलोपटक सहभागिता जनाएकी निशाले उक्त प्रतियोगितामा १०० तथा २०० मिटर जुनियरतर्फको दौड, लङ जम्प र रिले दौडमा स्वर्णमा मात्रै जितिनन्, राष्ट्रिय कीर्तिमानसमेत भंग गरेकी थिइन्।
१०० मिटर दौडमा उनले १२ दशमलव ५३ सेकेन्डको टाइमिङ निकालेर जुनियरतर्फ कीर्तिमान मात्रै होइन, लङ जम्पमा सिनियरतर्फ राष्ट्रिय कीर्तिमानसमेत बनाइन्। सन् २०१८ मा सशस्त्र प्रहरीकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा निशाले २ सेन्टिमिटर बढी अर्थात् ५ मिटर ४७ सेन्टिमिटर पार गरेर तीन वर्ष पुग्दा नपुग्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी थिइन्।
त्यसैले पनि होला कतिले त उनी महिला भए या नभएको चेकजाँच गर्नुपर्ने आवाजसमेत उठाउन भ्याएका थिए। तर, उमेरले भर्खरै १८ टेक्न लागेकी निशालाई त्योबेला यो कुराको कुनै मतलब नै थिएन। ‘ग्रास्टरूट’को साँधुरो बाटो छिचोल्दै काठमाडौँसम्मको टिकट काटेकी उनलाई जब लिङ्गका बारेमा प्रश्न गरिन्थ्यो तब भन्ने गर्थिन्, "जितेपछि केही न केहीमा विवाद त आइहाल्ने रहेछ। 'इग्नोर' गर्न सिक्नुपर्ने रहेछ।"
निशा खेलकुद वृत्तमा नामले ठूलो भए पनि उमेरले सानै छिन्। त्यसैले पनि त्यो बेला यो प्रश्नको कुनै उत्तर दिराख्न जरूरी ठानिन्। दाङबाट सपनाको पोकापन्तुरो बोकेर काठमाडौँ झरेकी निशालाई यो प्रश्नको उत्तर दिन पनि जरूरी थिएन। करिब ९ महिना अगाडिसम्म तेक्वान्दोको नियमित खेलाडी रहेकी निशाले एथलेटिक्सलाई ‘पार्ट टाइम’ खेलको रूपमा लिए पनि भविष्य देखेकी थिइन्।
तेक्वान्दोतर्फको ‘टच ब्ल्याकबेल्ट’समेत रहेकी निशा कक्षा ६ सम्म गाउँकै एक सरकारी विद्यालयमा पढिन्। उक्त विद्यालयमा त्योभन्दा माथिल्लो कक्षा नभएकाले ७ देखिमाथि पढ्न मानपुर मावि भर्ना भएकी थिइन्। मानपुरमा तेज केसीले तेक्वान्दो सिकाउँदै आएका थिए। गाउँका साथीसंगी पनि केसीसँग तेक्वान्दो सिक्न जाने भएका कारण उनलाई पनि त्यसैले आकर्षित गर्यो।
तर, तेक्वान्दो खेल्दा ‘वामअर्प’का लागि नियमित हुने दौड र ‘स्टामिना’ बढाउनका लागि गर्ने 'लङ जम्प'ले उनमा एक राम्रो एथलेटिक्स खेलाडी बन्न सक्ने प्रतिभा देखियो। त्यही प्रतिभालाई नजिकैबाट नियालिरहेका एथलेटिक्स प्रशिक्षक वसन्त वलीले पनि उनलाई तेक्वान्दोबाट एथलेटिक्सतर्फ मोडिन सुझाव दिए। तर, वर्षौंदेखि खेल्दै आएको तेक्वान्दोलाई भने निशाले चटक्कै भुल्न चाहिनन्। त्यसैले प्रतियोगिता भएको बेलामा मात्रै भाग लिने सर्तमा एथलेटिक्समा हाम फ्याल्न तयार भइन्, निशा।
"विद्यालय लेभलमा म तेक्वान्दो खेलाडी पनि हो। एथलेटिक्सचाहिँ प्रतियोगिता हुँदा मात्र खेल्दै आएकी थिएँ। नियमित खेल्न थालेको चाहिँ ९ महिना हुन लाग्यो होला," उनी भन्छिन्।
मानपुर भर्ना भएकै वर्ष उनी वलीको प्रशिक्षणमा पहिलोपटक दौड प्रतियोगितामा सहभागी भइन्। पहिलो प्रतियोगितामै पाँचौं भएकी उनलाई त्यसले अगाडि बढ्ने हौसला मिल्यो। त्यसपछि विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा भाग लिँदै गइन्। उनले कक्षा १० पढ्दा मेयर कपमा सहभागिता जनाएकी थिइन्। उक्त प्रतियोगितामा १०० मिटर दौड तथा लङ जम्पमा दोस्रो र हाइजम्पमा प्रथम भइन्।
त्यतिखेर उनले तेक्वान्दोमा पनि राम्रै गरिरहेकी थिइन्। १० पछि भने पढ्न तुलसीपुर जानुपर्ने भएपछि उनले तेक्वान्दो छाडिन्। करिब ४ वर्ष खेलकुदमा बिताइसकेकी निशालाई काठमाडौँ आउनुपूर्व सबैले भविष्य बोकेको कुशल खेलाडीको रूपमा लिन्थे। उनी पनि यसैमा दंग थिइन्। तर, काठमाडौँ झरेपछि छोटो समयमै जुन ‘हाइट’ पाइन त्यसमा लिङ्गको विवाद पनि थपिदिँदा यतिखेर आफूलाई नराम्रो लागिरहेको बताउँछिन्, निशा।
"मैदानबाहिर पनि पहिला यस्ता कुरा उठेका थिए। नचाहिने कुरा एकोहोरो उठिरहँदाचाहिँ निकै पीडा हुन्छ," उनी सुनाउँछिन्। यतिखेर सल्किएको निशाको लिङ्गमाथिको बहसको आगोको झिल्को सानो छ। यसले जुनसुकै बेला पनि डढेलो लाग्ने संकेत देखाएको छ। त्यसैले पनि यतिखेर उनको भविष्यलाई लिएर चिन्ता थपिएको बताउँछन्, वरिष्ठ एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणा।
"उनको जुन प्रतिभा छ, यसले भविष्यमा नेपाली एथलेटिक्सलाई माथिल्लो 'लेभल'मा लैजाने निश्चित छ। तर, चलिरहेको हल्लाले उनको भविष्यमाथि असर गर्न सक्छ। त्यसैले उनी महिला हुन् कि पुरुष यसको छिनोफानो छिट्टै गर्नुपर्छ। मेडिकल चेकअप गरेर भए पनि उनको प्रतिभालाई मार्न दिनु भएन," उनी भन्छन्।
निशाको लिङ्गलाई लिएर मैदानबाहिर मात्रै होइन, मैदानभित्र पनि उत्तिकै बहस सिर्जना गरेको छ। उनीसँगै ‘हिट्स’मा दौडिएका त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका खेलाडीसमेत उनलाई महिला भएको स्वीकार्न चाहँदैनन्। उनीसँगै शनिबार दौडिएकी एक महिला खेलाडी भन्छिन्, "उनको हाउभाउ, गति र स्वभाव महिलाको जस्तो देखिँदैन। त्यसैले पनि हामीलाई उनी पुरुष हुन कि भनेर शंका लाग्नु स्वभाविक नै हो।"
तर, नेपाल प्रहरीकी 'सर्टपुट' खेलाडी वसन्ती चौधरी लामो समयसम्म यस्तो अफवाहमा खेलाडीलाई राख्न नहुने बताउँछिन्। उनका अनुसार यसपटक पदक जितेसँगै पोखरा उत्रिएका लुम्बिनीका दुई महिला खेलाडी निशासँगै संगीता अधिकारीको लिङ्गलाई लिएर कुरा उठेको छ। संगीताले सर्टपुटतर्फ शनिबार वसन्तीलाई नै पराजित गर्दै रजत पदक जितेकी थिइन्।
"अहिले लुम्बिनीबाट आएका दुई उदाउँदा दुई महिला खेलाडीलाई लिएर लिङ्गको कुरा उठेको छ। यस्तो अफवाह लामो समय मैदानमा चलिरहे माथि उठ्ने कोशिस गरिरहेका उनीहरूलाई समेत असर गर्छ। त्यसैले यो छिटोभन्दा छिटो यो बहस टुङ्ग्याउन आवश्यक छ," उनी भन्छिन्।
निशाको लिङ्गको बहस चुलिँदै गएपछि लुम्बिनी प्रदेशका एथलेटिक्स प्रशिक्षक चौधरीले पनि घरपरिवारसँग चासो लिएकी थिइन्। यसबारे बुझ्दा आफूलाई निशाको परिवारबाट उनी छोरी नै रहेको जवाफ आएको उनको दाबी छ।
"काठमाडौँ जाँदा नै उनीबारे यस्ता कुरा उठेका थिए। त्यसपछि जानकारी लिँदा उहाँहरूले निशा छोरी नै भएको बताउनुभयो। निशाको नागरिकतामा पनि महिला भनेर जनाइएको छ," उनी भन्छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
