थुनछेक बहस नसकिँदा रवि लामिछानलाई प्रहरीको जिम्मा

चितवनको साहारा बचत सहकारीको रकम ठगी मुद्दामा बुधबार चलेको थुनछेक बहस नसकिएपछि भोलि फेरि उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो।

काठमाडौँ– चितवनको साहारा बचत सहकारीको रकम ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको छ।

जिल्ला अदालत चितवनमा बुधबार चलेको थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई भोलि फेरि उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा चितवन जिल्ला अदालतमा दायर भएको मुद्दामा बुधबार लामिछानेको बयान सकिएर थुनछेक बहस भएको थियो। सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याैपाने तथा सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए।

बाँकी बहस भोलि बिहान १० बजेबाट पुनः शुरू हुने सूचना अधिकारी विश्वकर्माले बताए।