भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। नेपालमा क्यान्सरको उपचार विश्वको तुलनामा सस्तो रहेको उनको भनाइ छ।
काठमाडौँ– मंगलबार फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सक बताउँछन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए।
“क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन्। तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन,” उनले भने, “यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो। थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो। क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ।”
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राखे। पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने उनको भनाइ छ।
“क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्कनुभएको छ,” उनले भने, “तेस्रो र चौथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ। ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ।”
क्यान्सरका चार चरण
क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. शाहीका अनुसार शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ। क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाइ छ। नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने उनले उल्लेख गरे।
डा. शाहीले फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भयो बढेर कहीँ पनि गएको छैन भने त्यसलाई चरण शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने तेस्रो चरण र त्यहाँबाट अर्को अंग कलेजो, पेटमा गयो भने त्यसलाई चरण चार भनिने जानकारी दिए।
नेपालमा सस्तो उपचार
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उनले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने बताए।
सरकारी अस्पतालमा ४० देखि ५० हजार रुपैयाँसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा ५ लाख रुपैयाँसम्म लाग्ने उनको भनाइ छ। “सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ। साथै सरकारले क्यान्सरका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने गर्छ,” उनले भने।
क्यान्सर हुनुका कारण
क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. शाहीले बताए।
“भातदाल तरकारी र अचार नखाएर हामी बढीजसो फास्टफुड, जंकफुड, धुमपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा खाने गर्छौं, यसले क्यान्सरको जोखिम बढाउँछ,” उनले भने। खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्नसके क्यान्सरलाई कम गर्न सकिने उनको धारणा छ। शरीरको कोष तथा कोषिकाको समूह अस्वाभिक रूपमा वृद्धि हुनुलाई क्यान्सर भनिन्छ। यो एक प्रकारको गिर्खा वा ट्युमर पनि हो।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास निर्माण, मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जिन रहेको हुन्छ, त्यही जिनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर लाग्ने गर्छ।
जिनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य पदार्थको सेवन, मादक पदार्थ सेवन, अखाद्य तत्व प्रमुख रहेको उनले बताए। उनका अनुसार अस्पतालमा वर्षमा क्यान्सरका एक लाख बिरामीको उपचार हुने गरेको छ।
दैनिक ५०० बिरामी उपचारका लागि आउने गरेका छन्। हरेक दिनमा ४० देखि ५० जना बिरामीको किमोथेरापी र १५० जना रेडिएसन (सेकाइ)का लागि आउने गर्छन्। समयमा उपचार नगरे भने बिरामीको ज्यान पनि जानसक्ने जोखिम रहेको उनको भनाइ छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ। बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य संक्रमण रहेका छन्।
विकासोन्मुख देशमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस संक्रमणले हुने गरेको छ। ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी हुने गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
पछिल्लो सन् २०२० को तथ्यांक अनुसार क्यान्सरले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। उनले नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य रहेका जानकारी दिए। पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ। महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन्।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सरपीडितलाई लक्षित गरेर विभिन्न कार्यक्रम अगाडि सारेको बताए। सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि १ लाख रुपैयाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप १ लाख रुपैयाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’मा सहभागिता जनाई आगामी चार वर्षसम्म ३५ प्रकारका क्यान्सरका आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
