१० देखि १४ वर्षका १७ लाख किशोरीलाई निःशुल्क एचपीभी खोप दिइँदै

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मंगलबारदेखि मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान शुरू गर्दैछ। विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको हो।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो। मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ। 

यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ। विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो।  

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको बताउँदै सबैजना आ–आफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे। 

“हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ। सफल परीक्षण भइसकेको छ। अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन्। दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं,” उनले भने।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप अभियानमा १८ हजार ९०० विद्यालयका खोप केन्द्र र आठ हजार २०० अन्य खोप केन्द्र रहने तथा २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए। त्यसैगरी ५४ हजार १६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार ६७४ जना सुपरिवेक्षक संलग्न हुनेछन्।

‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न शुरूआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ। पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपीभी खोप लगाइन्छ।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले बताइन्। नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिइन्। 

उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ। “एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ। विश्वमा यसको सफल परीक्षण भइसकेको छ। यो सुरक्षित र प्रभावकारी पाइएको छ,” उनले भनिन्, “नकारात्मक असर देखिएको छैन। बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ।” 

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार १६९ महिलालाई यस्तो क्यान्सर हुन्छ। हरेक वर्ष एक हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. बुढाथोकीले एचपीभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे। खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफै निको भएर जाने बताए। 

“केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फैलाएका पाएका छौँ। ती भ्रण मात्र हुन्। हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ। खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए/नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ। उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस्,” उनले भने।

राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो। आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक–एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ। त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ।

सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ। उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ। नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ।