उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दुर्घटनामा परी घाइते भएकाहरूका परिवारलाई राहतस्वरूप २५/२५ लाख रुपैयाँ दिइने घोषणा गरेका छन्।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा बुधबार बिहान भएको भागदौडमा मृत्यु हुनेको संख्या ३० पुगेको छ।
यसअघि १२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए। यद्यपि, मृत्यु हुनेको संख्या धेरै हुनसक्ने बताइएको थियो।
स्थानीय प्रशासनले साँझ आएर मात्रै यस घटनाबारे आधिकारिक जानकारी दिएको हो। महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, "महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको थियो, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।"
भारतीय सञ्चारमाध्यम पञ्जाब केसरीका अनुसार १०० भन्दा धेरै घाइते भएकामा ६० जनाको अवस्था गम्भीर रहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने स्थानीय प्रहरी र स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै मृतकको संख्या ४० पुगेको जनाएको छ।
माैनी अमावस्याका लागि बिहानै गरिने अमृत स्नानका क्रममा भागदाैड मच्चिएको थियो। अखडा क्षेत्रमा जडान गरिएका ब्यारिकेडहरू फुटेका कारण भागदाैड मच्चिएर दुर्घटना निम्तेको डीआईजी कृष्णले बताए। "ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा बसेका धेरै भक्तजनहरू त्यहाँ पुगेका थिए। ब्यारिकेडहरू फुटेर भागाभाग हुँदा उनीहरूले त्यहाँ सुतेका मान्छेहरूलाई देखेनन् र दुर्घटना हुन पुग्यो," उनले भने।
यस घटनापछि सबै अखाडाहरूले मौनी अमावस्याको अमृत स्नान रद्द गरेका थिए। जुन साँझबाट फेरि शुरू गरिएको छ।
यहीबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एक्स पोस्टमा घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले लेखेका छन्, "प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्तै दु:खद छ। यसबाट आफ्ना परिवारका सदस्यहरू गुमाउनुहुने भक्तजनहरूप्रति मेरो गहिरो समवेदना। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।"
यस्तै, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको न्यायिक जाँच हुने बताएका छन्। त्यसका लागि तीन सदस्यीय समिति गठन गरिने उनले बताए। साथै दुर्घटनामा परी घाइते भएकाहरूका परिवारलाई राहतस्वरूप २५/२५ लाख रुपैयाँ दिइने घोषणा गरेका छन्।
भक्तजनको सुविधाका लागि मेला प्रशासनले हेल्पलाइन नम्बर १९२० जारी गरेको छ, जसमार्फत कुनै व्यक्ति हराएमा जानकारी दिन सकिनेछ। अहिले अवस्था सामान्य रहेको प्रशासनिक अधिकारीहरुले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
