एचपीभी खोप अभियानका लागि मनिषा कोइराला बनिन् सद्भावना दूत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०–१४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध यो खोप उपलब्ध गराउन लागेको हो।

काठमाडौँ– राष्ट्रिय खोप कार्यक्रम तथा एचपीभी खोप अभियानका लागि नायिका मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरिएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै कोइरालालाई सद्भभावना दूत घोषणा गरिएको हो। सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपालका महिलाहरू सबैभन्दा बढी पाठेघरको क्यान्सरले प्रभावित भएको भन्दै भावि पुस्तालाई यो समस्याबाट मुक्त बनाउनको लागि एचपीभी खोप उपलब्ध गराउने र देशव्यापी अभियानका रूपमा अगाडि लैजाने उद्देश्यले कार्यक्रमको शुरूआत गरेको बताए।

यसका साथै उनले नेपालमा ६ देखि १० कक्षासम्ममा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप उपलब्ध गराउन लागेको पनि बताए।

यस्तै, नायिका मनिषा कोइरालाले आफू पनि क्यान्सरबाट निको भएको भन्दै क्यान्सरको रोकथाम गरेर ज्यान बचाउन सक्यौँ भने एकदमै ठूलो काम हुने बताइन्।