बलिराम पण्डित: जसले महायज्ञका लागि बनाउँदै छन् १ हजार ११ थान मूर्ति

विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञमा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ। 

वीरगन्ज– उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोए पनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन। विगत ३० वर्षदेखि उनका हातले देवीदेवताका विभिन्न स्वरूप र आकृति भएका मूर्ति बनाउँदै आएका छन्। यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ। 

विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा मूर्ति बनाउने जिम्मेवारी पाएको छ। 

“विगत ३० वर्षदेखि विभिन्न स्वरूप र आकृतिका देवदेवताका प्रतिमा बनाउँदै आइरहेको थिएँ,” पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठाका पण्डितले भने, “पहिलो पटक एक हजार ११ वटा देवदेवताको मूर्ति बनाउने अवसर पाउँदा मनमा छुट्टै उमंग र उत्साह थपिएको छ।” मूर्ति बनाउन १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन्। 

मूर्तिकार पण्डितले एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेटिने खालका मूर्ति तयार पारिने जानकारी दिए। रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लंकालगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको उनले बताए। 

पण्डितले सामान्यतया सानो मूर्तिको १ हजार ५०० देखि ५ हजार रुपैयाँ मूल्य पर्ने बताए। सोही अनुसार मूर्ति बनाउन लागिएको उनको भनाइ छ। एक हजार ११ मूर्ति बनाउन करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान छ। 

“माटोलाई कुँदेर भगवानको आकार बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ,” पण्डितले भने, “हामी पुस्तौँदेखि यही काम गर्दै रमाइरहेका छौँ। यही माटोबाट हुने कलात्मक आकृतिका कारण पाँच जनाको परिवारलाई हाँसीखुशी पाल्दै आइरहेको छु।” उनले सबै खर्च कटाएर वार्षिक ४ लाख रुपैयाँसम्म बचत हुँदै आएको बताए। मूर्ति बनाएर भएको कमाइले तीन छोरी र दुई छोरालाई उच्च शिक्षा दिँदै छन्। “विगतमा मैलै २१, ५१, १०१, २०१ संख्यामा मूर्ति बनाएको थिए,” उनले भने, “यतिधेरै मूर्ति भने पहिलो पटक बनाउन लागेको हुँ।” 

हामहोत्सव महायज्ञ मूल व्यवस्थापन समितिका अनुसार महायज्ञ माघ २४ देखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ। मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवले महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। “महायज्ञ सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो,” उनले भने।