काभ्रेपलाञ्चोकको थानचोक गाउँपालिकास्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु तथा २१ जना घाइते भएको घटनाको इतिवृत्तिः
काभ्रेपलाञ्चोक- छेवरबाट फर्किंदा कविता तामाङ निदाएकी थिइन्।
एक्कासि चर्को आवाज आएपछि ब्युझेकी उनले वरिपरि कोलाहल र चिच्याहट सुनिन्। उनको टाउकोबाट रगत बगिरहेको थियो। उनी सम्झिन्छन्, “छाम्दा टाउकोमा ठूलो चोट थियो।”
त्यसदिन बनेपा–११ का राजेन्द्र तामाङले बा ३ ख ४३८५ नम्बरको बस रिजर्व गरेका थिए। रिजर्व बसको गन्तव्य थियो, गाबेथानचोक–५ च्याल्टीस्थित तामाङकी भाञ्जा योगेशको छेवर (व्रतबन्ध) कार्यक्रम। व्रतबन्ध सकाएर घर फर्किंदा बसमा तामाङसहित उनका ३९ जना आफन्ती यात्रु सवार थिए।
फर्किंदा गाडीमा लामाका ‘बटुक’ भाञ्जा योगेश पनि थिए। साँझ झण्डै ६ बजेको समयमा बेथानचोक–४ चलाल गणेशस्थान नजिकै पुग्यो। बस ढुंर्खक सडक खण्डको ओरालो बाटोमा पुग्दा मोडको भित्तामा ठक्कर खाई दुर्घटना भयो।
दुर्घटनामा १८ जनाको मृत्यु भयो। उनीहरूमध्ये १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ५ को उपचारका क्रममा विभिन्न अस्पतालहरूमा मृत्यु भएको हो। बसमा सवार अन्य २१ जना घाइते छन्।
घाइतेहरूलाई तत्कालै उद्धार गरी धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको थियो।
के भन्छन्, दुर्घटनाका घाइते
दुर्घटनामा परी घाइते भएकी कविता तामाङ हाल शिर मेमोरिलय अस्पतालमा उपचाररत छिन्। दुर्घटना हुँदा उनी निदाइरेकी थिइन्।
चालकको छेउमा बसेकी उनले गाडीको गति तीव्र हुँदा आफूलगायत सबै जनाले बिहानजसरी नै चलाउन आग्रह गरको बताउँछिन्। “चालक छेउमा बसेकी थिए”, तामाङ सुनाउछिन्, “गाडीको गति तीव्र हुदाँ सबैजनाले बिहान जसरी नै कुदाउन अनुरोध गरेका थियौँ। चालकले पनि बिहानजस्तै कुदाएको हो भनेर जवाफ दिएका थिए।”
गाडी ठोक्किएपछि निद्राबाट ब्युझिएकी उनले आफ्नै टाउकोमा ठूलो चोट महशुस गरिन्। उनले भनिन्, “वरपर कोही मृत, कोही छटपटाइरहेका, कोही रुँदै गरेका, आफैँ पनि चोट लागेर रगताम्मे!” त्यो कोलाहालपूर्ण वातावरण उनी राम्ररी स्मरण गर्न सक्दिनन्।
दुर्घटनाका अर्का घाइते देवराज तामाङको हात भाँचिएको छ भने अनुहारमा चोटैचोट छ। “आफ्नो चोट भन्दा आफ्ना परिवार गुमाएकोमा धेरै दु:ख लागेको छ”, देवराजले मलीन स्वरमा भने।
कुरुवा बसेका आफन्त विनोद तामाङले दुर्घटनामा देवराजका आमाबुवा दुवैको मृत्यु भएको जानकारी दिए। तर उनले यो कुरा देवराजलाई भनेका छैनन्। विनोद भन्छन्, “यस्तो अवस्थामा उनलाई थप शोक हुने हुदाँ उक्त्त कुरा भनेको छैन।”
उनका दाइको पनि काठमाडौँस्थित न्युरो अस्पतालमा उपचार भइरहेको विनोद बताउँछन्। “हामी आफन्ती नै हौ सबै। जति जना घटनामा पर्नुभयो सबै हाम्रै दाजुभाइ, इष्टमित्र नै हौँ। एउटा घटनाले हाम्रो सम्पूर्ण समुदायमा सन्नाटा छाएको छ”, विनोदले दुःख व्यक्त्त गरे।
घटनामा घाइते भई उपचाररत विजय वाइबाकी श्रीमती सीताको गहभरि आँशु थियो। आफ्ना श्रीमानको कुरुवा बसेकी उनले श्रीमानको अनुहारमा चोट लागेको र फोक्सोमा पानी जमेको बताइन्। श्रीमानसँगै जेठानी, देवरानी, देवरानीको छोरा, जेठाजुको बटुक छोरा पनि घटना परेको सीताले बताइन्। “बाँकी चाहिँ मामाघरतर्फको पर्नुभयो। देवरानीको मृत्यु भयो, जेठानी भने धुलिखेलमा उपचाररत हुनुन्छ, बाबुहरू चाहिँ एउटा बाल मैत्रीमा र अर्को धुलिखेलमा उपचाररत हुनुहुन्छ ”, सिताले बताइन |
सीताका श्रीमान् विजय घटनाका बखत बेहोस् थिए। उनले आफूलाई घटनाबारे केही स्मरण नभएको बताए।
दुर्घटनाअघि गाडीको गति द्रुत रहेको भने उनलाई याद छ। उनले भने, “सवारी अलि द्रुत गतिमै रहेको अनुभव मैले पनि गरेको थिएँ।”
गाडीहरूको गति नियन्त्रणका लागि बेथानकचोकका स्थानीय र व्यवसायीहरूले मिलेर टाइमकार्ड लागू गरेका छन्। टाइमकार्ड व्यवस्थापक औतार लामाका अनुसार बेथानचोक बसपार्कबाट दुर्घटनास्थल पुग्न २० मिनट लाग्छ। तर उनीहरूले समय बढाएर ४० मिनटसम्म राखेका छन्। ४० मिनट राख्नु भनेको गाडी बिस्तारै आइपुग्ने समय भएको उनको अनुभव छ। त्यस्तै पहिले गाडी पाउन मुस्किल हुने र दुई-तीनवटा गाडीले प्रतिस्पर्धा गर्ने हुँदा दुर्घटना हुनसक्ने सम्भावना रहने भएरै यसरी समय सिमा राखिएको उनले बताए।
यसबापत जनतालाइ पनि सुविस्ता हुने गरेको उनको भनाइ छ। कुनै समय आफैँ पनि चालक रहेका उनले चालकले जानिजानि दुर्घटना नगराउने दाबी गर्दै दुर्घटना प्राविधिक कमजोरीकै कारण भएको हुनसक्ने जिकिर गरे। उनले यस ठाउँमा अहिलेसम्म त्यस्तो कुनै दुर्घटना नभएको समेत बताए।
कसरी भयो दुर्घटना?
सार्वजनिक गाडी उतिसारो नचढ्ने विकास तामाङ पनि सोही दुर्घटनामा घाइते छन्। उनले भने, “हामी गएकामध्ये धेरैजसोको आफ्नो आफ्नो साधन छ। अब रिजर्व नै गरेको रहेछ सबैजना सँगै भएर जाउँ न भन्ने भयो।”
विकासलाई गाडी चढ्दादेखि नै डर लागिरहेको थियो। उनले भने, “मलाई बान्ता पनि हुने भएर अन्तिम सिटमा बसेको थिए। एकैपल्ट बस भित्तामा जुधेको आवाजले झसंग भएँ। म मेरो परिवारबाट एक्लै थिए तर बसमा सवार सबै आफन्त मेरै जेठान, जेठानी, जेठी सासु सबै बित्नु भयो।”
दुर्घटना हुँदा उनी होस्मै थिए। उनका अनुसार चालक कम अनुभवी भएकोले दुर्घटना भएको हो। उनले भने, “यो दुर्घटना गराउने चालक आलु बोरा बोक्ने, कुखुरा बोक्ने रहेछ। यात्रुबाहक बस चलाएको अनुभव थिएन रे भन्छन्। ४ बजे जाने भनेको ६ बजिसकेको थियो। ढिला भएका कारण चालक रिसाएको पनि थियो रे।”
उनका अनुसार ड्राइभरलाई हतार भएका कारण तीव्र गतिमा चलाउँदा दुर्घटना भएको बुझ्न सकिन्छ। “हाम्रो पछाडि आउने मोटरसाइकलहरूले पनि गति तीव्र नै भएको भन्ने पनि सुन्नमा आएको छ”, उनले भने, “सबै घुम्ती छलेर अन्तिम घुम्तीमा बस पल्टिएको छ।”
जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानअनुसार पनि गाडी तीव्र गतिमा भएका कारण अनियन्त्रित पल्टिएको देखिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
