रियालिटी शो: नाम सिर्जनाको, व्यापार आँसुको

आममानिसको भाव पक्षलाई उद्वेलित पार्ने ‘स्टोरी टेलिङ’को भिडियो सामग्रीमार्फत मनोरञ्जनको नाममा अर्थोपार्जनको खेलो एक पक्षले निरन्तर गरिरहेका छन्। ती कथा आंशिक सत्य र अधिकांश झूटमा आधारित हुने गर्छन्।

आममान्छेको वास्तविक अवस्थालाई अलिखित दस्ताबेजीकरण गरेर सुनाइने या देखाइने कार्यक्रम नै ‘रियालिटी शो’ हो। रेडियो तरंगमा बिसौँ शताब्दीको २० र ३० को दशकमा यस्ता कार्यक्रम गुन्जिने गर्थे। विज्ञान र प्रविधिको क्रमिक विकाससँगै जब ध्वनि तरंगबाट फड्को मार्दै दुनियाँ प्रकाश गतिमा प्रवेश गर्‍यो, सन् १९४० को अन्त्यतिर यी शो टेलिभिजनको पर्दामा स्वाभाविक ढंगले प्रसारण हुन आइपुगे। बिसौँ शताब्दीको अन्त्यसम्म आउँदा यस्ता शो फरक विधाकै रूपमा टेलिभिजन क्षेत्रमा स्थापित भए। सन् २००० मा ‘सर्भाइबर’, ‘आइडल’ र ‘बिग ब्रदर’जस्ता रियालिटी शोले वैश्विकस्तरमा फ्रेन्चाइजका रूपमा हाँगा फैलाए।

दक्षिण एशियाली देश भारतमा सन् १९५९ मा ‘दूरदर्शन’ टेलिभिजन स्थापना भएसँगै एन्टेना दक्षिणमुखी बनाई छानामा टाँगेर आकाशमा फैलिएको इलेक्ट्रोमेग्नेटिक तरंगको सिग्नल पक्रिँदै केही नेपालीले टिभी हेर्ने बानी बसाले। सन् १९७५ मा सिक्किम भारतमा विलुप्तीकरण भएपश्चात् भारतसँग निकै तर्सिएका पञ्चायती शासक, सन्  १९८५ मा ‘नेपाल टेलिभिजन’को स्थापना गर्न बाध्य भए। 

यस्तै ‘भू एवं अर्थ–राजनीतिक असर’ सन् २००४ को ‘इन्डियन आइडल सिजन-३’ पश्चात् नेपाली पुँजीपति वर्गमा समेत परेको देखिन्छ। दार्जिलिङ (पश्चिम बंगाल)का प्रशान्त तामाङलाई मनमौजी भोट थुपारेर विजयी तुल्याएका नेपाली दर्शकको यस्ता रियालिटी शोप्रतिको रुझान फक्रँदै व्यावसायिक खेलाडीले नेपालमा पनि अर्थोपार्जन थाले। संयुक्त अधिराज्यबाट सन् २००१ देखि ‘पप आइडल’को नामले प्रारम्भ हुन पुगेको यो शो त्यहाँ दुई सिजनभन्दा बढी टिक्न सकेन। साथै, संयुक्त राज्य अमेरिकामा बन्द भइसक्दा पनि नेपाल र भारतमा भने भव्यतासाथ अघि बढिरहेकै छ।

रियालिटी शोको पर्दा उघार्दा...
रियालिटी भनिए पनि रियालिटी बिलकुलै नउतारिने तथ्य जान्न नेपाली समाजभन्दा परसम्म धाइराख्नु पर्दैन। रियालिटी शोका पर्दा पछाडिका बेइमानी बुँदागत रूपमा हेरौँ:

मुनाफाकेन्द्रित धन्दा
सबैजसो रियालिटी शोको मुख्य ध्येय नै नवप्रतिभाको खोजीको झूटो नारा दिँदै अधिकतम नाफा कुम्ल्याउने हुन्छ। अन्तिम चरणमा देशविदेशबाट आयोजकको खातामा जम्मा हुने गरी पैसाको खोलो बगाएर भोट ओइराउन सक्षम प्रतियोगी नै विजयी घोषित हुने गरेको छ। ‘पैसा फेंको, तमाशा देखो’ टाइपको लफ्फाबाजी निरन्तर चल्छ, जसको अन्तिम शिकार घोषित विजेता र उपविजेता सालिन्दा भइरहन्छन्। चर्को ब्याजमा ऋण काढेर भोट गरे तापनि कबोल अनुरूपको पुरस्कार अनुपलब्ध भएका दृष्टान्त मिडियामा छ्यापछ्याप्ती आइरहेकै हुन्छन्।

‘फाइनल राउन्ड’मा हस्तान्तरण गरिएको कौडीको भाउमा समेत नबिक्ने अँगालोभरिको करोडौँ अंकित चेकको पोस्टरले ती विजयीलाई निदहरामको स्थितिमा त्यति बेला पुर्‍याइदिन्छ, जब घोषित पुरस्कार प्राप्त गर्न तिनलाई फलामको चिउरा चपाएसरह भइदिन्छ। अघिल्लो विजयीलाई ‘पुरस्कार’ नदिईकनै आयोजक पक्ष अर्को पासो थाप्न थालिहाल्छन्।

‘पोभर्टी पोर्न’
सन्  १९८० देखि प्रारम्भ भएको ‘पोभर्टी पोर्न’ अर्थात् आँसुको व्यापार, रियालिटी शोमा समेत निकृष्ट ढंगले व्यापक प्रयोगमा छ। सम्भ्रान्त परिवारबाट आएका पात्रलाई विशेष जोड दिएर नउभ्याउनु, केबल निम्न वर्गीय पात्र र परिवारको गरिबी, अभाव, आँसु र दुरावस्थाको चित्रण गर्नु सरासर गरिबमाथिको भद्दा मजाकभन्दा अरू के हुन सक्छ? आममानिसको भाव पक्षलाई उद्वेलित पार्ने ‘स्टोरी टेलिङ’को भिडियो सामग्रीमार्फत मनोरञ्जनको नाममा अर्थोपार्जनको खेलो एक पक्षले निरन्तर गरिरहेका छन्। कथेका ती कथा आंशिक सत्य र अधिकांश झूटमा आधारित हुने गर्छन्।

यस्ता आँसुका लेपन लगाइएका सामग्रीले उच्च वर्गमा शून्य प्रभाव, मध्यम वर्गमा उत्थानवादी भाव पैदा गर्छ। ‘पर्फम’ गर्ने पात्रको समुदाय र वर्गमा पात्रको आत्मसातीकरणको भाव पैदा गर्दै आफू रित्तिने स्तरमै  आर्थिक सहयोग गर्न होमिनेहरू धेरै हुने गर्छन्। यसरी अन्ततः ‘पोभर्टी पोर्न’को शिकार अत्यधिक रूपमा वैदेशिक रोजगारीमा रहेका निम्न वर्गीय आमश्रमिक युवा हुने गरेका छन्। आयोजकको फटाइगिरी र प्रतियोगीको वाध्यात्मक दोगलापनको सही सूचनाबाट उनीहरू बिल्कुल बेखबर हुन्छन्। वास्तविकतालाई अन्यत्र मोडेर भ्रामक विषयलाई बढाइचढाइ गरी सम्पादित यस्ता सामग्रीले मानिसको संवेदना र भावना पक्रेर भ्रमको खेती फक्राउने वर्गलाई फाइदा पुर्‍याउने निश्चित छ।

सामाजिक मिडिया-ट्रोलको फन्डा
जसरी पत्रकारिता क्षेत्रमा सनसनीपन (सेन्सेसनलिज्म)लाई सम्पादकीय चलाखी र बेइमानीद्वारा घटनाको बढाइचढाइ र हेरफेर गरी पाठकको ध्यानाकृष्ट गर्न विद्रूप पारिन्छ, त्यसरी नै रियालिटी शोमा पनि सनसनीपनको रणनीति अख्तियार गरिन्छ। शोको टीआरपी बढाउन पछिल्लो समय सामाजिक सञ्जाल-ट्रोललाई अत्यधिक रूपमा उपयोग गरिएको पाइन्छ। पुँजीवादी बजार विस्तारका निम्ति यस्ता फन्डाले अहं भूमिका खेल्छन्। ‘भाव र विचारोत्तेजक’ फन्डाको शृंखलाबद्ध प्रचार–प्रसारले व्यापारिक पक्षको टीआरपीमा वृद्धि भई मुनाफा बढ्छ। एआई र अल्गोरिदमको उपयोग/दुरुपयोगद्वारा भाइरल बनाइएका भिडियो सामग्रीले पटमूर्ख हुन पुगेका दर्शक भने गालीगलौज, आलोचना-प्रत्यालोचनामा फोकटको शत्रुता बढाउँदै पाखुरा सुर्कँदै भिडिरहेका देखिन्छन्। तर त्यो समय र ऊर्जाको बरबादी नै सामग्री सिर्जना गर्नेको कमाइ धन्दा हो।

तथ्यांक र प्रविधिको अनुचित फाइदा
व्यावसायिक र राजनीतिक हितका निम्ति तथ्यांक र प्रविधिको अनुचित प्रयोग पुँजीवादी अर्थ–राजनीतिमा गरिएको भेटिन्छ। आर्थिक फाइदालाई केन्द्रमा राखी रियालिटी शोले जनसांख्यिक बनावटका आधार: लिंग, धर्म, जातजाति, भौगोलिक क्षेत्र, उमेरसमूहजस्ता सामाजिक संरचनाको तथ्यांकमा टेकेर प्रोजेक्ट तयार पार्छन्। त्यही ‘स्क्रिप्टेड’ कार्ययोजनाअन्तर्गत कार्यक्रम अगाडि बढाउँछन्। नेपालको सन्दर्भमा क्षेत्रीयताले छुने सुदूरपश्चिम, जातिगत एकताले प्रभावित पार्ने जनजाति; विशेषतः मगर र तामाङ, दलित समुदायअन्तर्गत विश्वकर्मा आदि इत्यादिलाई मज्जाले प्रयोग गरिन्छ। त्यसो किन गरिन्छ भने, उनीहरूको जनघनत्व बढी छ, जसले गर्दा अत्यधिक भोट खन्याउनेको संख्या बढ्छ। तर छ्याङ्गै देखिने यस्ता फटाइगिरी फ्रेन्चाइजवाला कम्पनीले कहिल्यै सार्वजनिक गर्नेवाला छैनन्।

प्राविधिक कोणबाट हेर्दा यस्ता शोले अति कुटिल ढंगले प्रविधिको दुरुपयोगद्वारा मानव सौन्दर्यचेत र स्वस्थ मस्तिष्क निर्माणमा आघात पुर्‍याइरहेका हुन्छन्। कथित ‘ग्रान्डफिनाले’बाहेक अन्य सबै राउन्डका एपिसोडका ध्वनि र भिडियो सामग्री पूर्णतः सम्पादन गरिएका हुने गर्छन्। अडिओमा रहेको वाद्यवादन र गायनको अंशलाई ध्वनि सम्पादकले ‘अटो ट्युन’ सफ्टवेयरको प्रयोगमार्फत वास्तविक कर्कस स्वर र वादनलाई कर्णप्रिय र सुमधुर पारिदिन्छ, जुन भ्रामक अडिओबाट दर्शकस्रोता आमोद–प्रमोदमा रमिरहन्छन्, तर प्राविधिक फटाइगिरीबाट बेखर रहन बाध्य हुन्छन्।

नायकत्वको उपस्थितिमा युवाको हुर्मत
मन्चअगाडि तैनाथ हुन्छन् सम्बन्धित क्षेत्रमा नाम, दाम र ज्ञान आर्जेका प्रतियोगीका आइडल अर्थात् निर्णायक मण्डल। सानै उमेरबाट नायक मान्दै र ठान्दै आएका दिग्गज र अग्रजको निरपेक्ष निर्णय र दर्शकस्रोताले भोट गरेर जिताएको उक्त कथित विजेताको मीठा, रंगिन र न्याना शृंखलाबद्ध सपनाको निन्द्रा त्यति बेला भंग हुन्छ, जतिखेर प्रतियोगी बजारिन पुग्छ बरफझैँ चिसो ऋणको आहालमा। आसामीले ताकेता गर्न थालेपछि च्यातिन्छ कालो चस्मा भिरेर सेलिब्रेटी बन्ने उत्कट चाहनाको भ्रमजालो। अब ‘फेसमास्क’ धुलो छोप्न र सेलिब्रेटी बन्न नभई साहुबाट बच्न र निराश अनुहार छोप्न प्रयोग हुन थाल्छ। नायक सम्झिइएको निर्णायकले उत्पीडित विजेताको आर्थिक समस्यालाई अनदेखा गरेपछि नै तीप्रतिको सम्मान र मोह भंग हुनु र झोला बोकेर कलाकारितालाई त्यही बिन्दुमा थाती राखेर विदेश हिँड्नु युवाको निर्विकल्प उपाय हुँदो रहेछ।

अबको बाटो
समग्र विश्वमा आजसम्मको इतिहास हेर्दा कुनै पनि कथित सेलिब्रेटी निम्न वर्गीय धरातलबाट आएको भेट्टाउन निकै मुस्किल पर्छ। अपवादमा कोही बनिहालेका भए पनि ती पात्रको वर्ग परिवर्तन भई पीडक वर्गकै कित्तामा उभिएको दृष्टान्त धेरै भेटिन्छन्। भनिन्छ ‘अपवादले नियमलाई परीक्षण गर्छ।’ यसरी अपवादको नियमको परीक्षणबाट पुष्टि हुन्छ के भने निम्न वर्गीय पृष्ठभूमि भएकाहरूले सेलीब्रेटी बन्ने सपना देख्नु वा इच्छा गर्नु वास्तवमै चुनौतीपूर्ण हुन जान्छ।

पछिल्लो समय रियालिटी शोलाई क्रमशः विस्थापित गर्दै सामाजिक सञ्जाल व्यापक ढंगले विस्तारित भइरहेको छ। कुनै गाउँको कुनै कलाकार गायनमा पारंगत छ भने कुनै रियालिटी शोको प्रपञ्चमा नफसी सिधै एन्ड्रोइड मोबाइलको सहायताले टिकटक लाइभ र अन्य सामाजिक सञ्जालमा भिडियो पोस्ट गरी संसारभर फैलिएका लाखौँ मानिससामु आफ्नो कला प्रस्तुत गर्न सहज रूपमा सक्छ। यस्ता उदाहरणले के सिद्ध गर्छ भने विज्ञान र प्रविधिको गुणात्मक विकासले शोषक वर्गको हातमा भएकोजस्तो देखिएको सेलीब्रेटी बनाइदिने सत्ता अब आममानिसको हातमा पुगिसकेको छ।

अतः आफ्नै हातमा आइपुगेको यस्तो उत्पादक शक्ति पहिचान गरी, विज्ञान-प्रविधिको परख गर्दै, सेलिब्रेटी बन्ने विभ्रम चिर्दै नाफामुखी मानव समूहको जालसाजीमा नफस्ने संकल्प गर्नु युवा पुस्ताको दायित्व भएको छ। आर्थिक शोषणमार्फत निम्न वर्गीय युवाको बेहाल गराउन उद्धत मुठ्ठीभरका अर्थ मानवलाई उच्छेद गर्न चेतनशील अग्रसर हुनु पर्दछ।

(क्वान्टम वैज्ञानिक समाजवादी पार्टीका पूर्वकेन्द्रीय सदस्य हुन्। उकालोको विचार खण्डका सामग्री लेखकका व्यक्तिगत हुन्।)