क्यानडा र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाखाैँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा, पर्सागढी नगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन्।

पक्राउ परेकामध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौँ टेकुबाट आइतबार र रविनलाई काठमाडौँ कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो।

शारदालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।