झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या छ।
दमक– झापाको कमल गाउँपालिका–५ मंगलबारेका ४१ वर्षीय पीताम्बर खड्का हिँडडुल गर्न सक्दैनन्। शारीरिक अपांगताका बाबजुद उहाँ अहिले स्वरोजगार बन्नुभएको छ।
सानैमा एउटा खुट्टामा समस्या भएपछि अपांगता भएका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो। साथीभाईले पैसा कमाएको देख्दा आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो।
उनी र उनी जस्ता अन्यको इच्छा पूरा गर्न कमल अपांगता समितिको संस्थागत प्रयत्नले अहिले मूर्तरूप लिएको छ। समितिले अहिले कमल अर्ग्यानिक साबुन उत्पादन गरिरहेको छ। कमल गाउँपालिका–२ तोपगाछी र कमल गाउँपालिका–६ लखनपुरमा लघुउद्यमका रूपमा उद्यम सञ्चालनमा छ।
कमल गाउँपालिकाले एक वर्ष अघि मात्रै कमल अपांगता समितिसँगको समन्वयमा अपांगता भएकालाई साबुन, हार्पिक, फिनेल जस्ता सामग्री बनाउने सीप सिकाएको थियो। त्यही तालिमबाट पालिकाले उद्यमशीलताका लागि रु ३० हजारको बीउ पुँजीसमेत प्रदान गरेको छ। सो पुँजीबाट ५० जना अपांगता भएकाले व्यावसायिक रूपमा उद्यममा जोडिएको उक्त समितिका अध्यक्ष पीताम्बर खड्काले जानकारी दिए।
“हामी आफै के कस्तो आयआर्जनमा लाग्ने? कसरी उद्यमी बन्ने भन्ने अन्योलमा थियौँ। गाउँपालिकाले सो सम्बन्धीको १५ दिने आधारभूत तालिम दिएपछि उद्यममा लागियो,” खड्काले भने, “यो लघु उद्यमले थोरै पनि हामी जस्ता लक्षित समुदायलाई आयआर्जनसँग जोडिन टेवा पुगेको छ। अपाङगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणसमेत फेरिँदै गएको छ।”
उनकाअनुसार संस्थागत रूपमा अपांगता भएका व्यक्तिले तयार गरेका घरायसी सामग्री पसल तथा हाट बजारसम्म पुर्याउन थालिएको छ। उपभोक्तालेसमेत उनीहरूले उत्पादन गरेको सामग्री रुचाएका छन्। गाउँघरमा पाइने तुलसी, निमपातलगायतका प्राकृतिक जडीबुटी संकलन गरी साबुन तयार गरेको र यसैलाई ‘ब्रान्ड’का रूपमा विकास गर्न जुटिरहेको उनले बताए।
कमल अपांगता समितिका सचिव कमल गाउँपालिका–६ निवासी लंकबहादुर खड्का पनि सहजै हिँडडुल गर्न सक्दैनन्। आर्थिक अवस्था कमजोर भएका खड्काको अपांगता कारण क्षमता भए पनि समाजले हेर्ने दृष्टिकोण फरक थियो। तर ,पछिल्ला वर्ष उनी हातको सहाराले विद्युतीय सिटीसफारी चलाउँदै आएका छन्।
सफारी चलाउँदा शारीरिक अपांगताका कारण धेरै यात्रु चढ्न आनाकानी गर्ने गरेको उनको गुनासो छ। सिटीसफारी सञ्चालनसँगै उहाँ पनि हाल साबुन लघु उद्योगमा जोडिएका छन्। यस उद्यमले अपांगता भएकाले पनि समाजमा आयआर्जन गर्न सक्छन् भन्ने प्रेरणा मिलेको उनले बताए।
स्थानीय सरकार र अपांगताका क्षेत्रमा काम गर्देआएका विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगका कारण आफूहरूलाई जीविकोपार्जनका क्षेत्रमा जोडिएर स्वरोजगार बन्न हौसला मिलेको उनले बताए। उनीहरूले दैनिक प्रयोग हुने घरायसी सामग्री अगरबत्ती, कुचो, नरिवलको झाडु, हार्पिक, फिनेल तथा साबुनलगायत उत्पादन गर्दै आएका छन्।
त्यसैगरी दमक नगरपालिकाका अपांगता भएका व्यक्तिहरूले पनि विभिन्न उद्यम सञ्चालन गरेर स्वरोजगार बन्न थालेका छन्। पछिल्ला १० वर्षमा यस्ता लक्षित व्यक्ति आर्थिक रूपमा सबल बन्न विभिन्न उद्यमशीलतामा जोडिएको अपांगताको अधिकारका क्षेत्रमा काम गर्दै आएकी पार्वता श्रेष्ठले बताइन्। राष्ट्रिय अपांगता महासंघ नेपाल कोशी प्रदेशकी पूर्वअध्यक्षसमेत रहेकी श्रेष्ठले अपांगता भएकालाई स्वरोजगार बनाउन उद्यमशील अपांगता होजियारी लघु उद्योग दुई वर्षदेखि सञ्चालनमा ल्याएको जानकारी दिइन्। हाल उनको उद्योगमा १२ जनाले रोजगारी प्राप्त गरेका छन्। दमक–८ मा उक्त लघु उद्योग सञ्चालित छ।
झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार ९८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै प्रतिस्पर्धा गर्नुपर्ने समस्या रहेको राष्ट्रिय अपांगता महासंघ नेपाल कोशी प्रदेशका संयोजक मदनकुमार बोहराले बताए। “अपांगता भएका व्यक्तिलाई तीनै तहको सरकारले सहयोग गरे पनि नीतिगत रुपमा अपांगता भएका व्यक्तिको पहुँच सुनिश्चितता नभएसम्म लक्षित समुदाय सबल हुन निकै चुनौती छ,” उनले भने।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अपांगता भएकालाई संगठितसँगै आयआर्जनको पाटोमा जोड्न स्थानीय सरकारले विभिन्न उद्यमशील क्षेत्रमा प्रोत्साहित गरेको बताए। अपांगता भएका व्यक्तिको बाँच्न पाउने अधिकार प्राप्तिका लागि कोशी प्रदेश सरकारले करुणा फाउन्डेसनको सहकार्यमा झापासहित ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा अपांगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
