हुस्सुका कारण हुने दुर्घटना कम गर्न ट्राफिकले थाल्यो अभियान

ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ।

रौतहट– रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ। विशेषगरी बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारीसाधन पनि नदेखिँदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ। 

सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर–गौर सडकखण्डमा दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख, प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी बताए। 

उनका अनुसार यस अभियानअन्तर्गत सवारीसाधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारीचालकको स्वास्थ्य परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गर्ने गरिएको छ।

सवारी दुर्घटना प्रायः चालकको लापरबाहीले हुने गरेको पाइएकाले न्यूनीकरणका लागि प्रशिक्षण दिने गरिएको उनले बताए। बाक्लो हुस्सु लागेका बेला सवारी चलाउँदा अपनाउनु पर्ने सतर्कताका बारेमा चालकलाई बुझाउने गरेको ट्राफिक प्रहरी निरीक्षक अधिकारीको भनाइ छ। उनले सवारीसाधनको अवस्था पनि जाँच गर्ने गरेको बताए।

ट्राफिक कार्यालय रौतहटले विभिन्न पालिकाअन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गर्दै आइरहेको उनले बताए। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ३८५ वटा सवारी दुर्घटनामा परेका छन्। जसमा ३१ जनाले ज्यान गुमाएका छन् भने ६१० जना घाइते भएका छन्।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणसँगै नियम विपरीत कार्य गर्ने चालकलाई कारबाही गरी राजस्व संकलन गर्ने गरेको जनाएको छ।