२४ वर्षदेखि भेडाबाख्रासँग रमाइरहेका दुरजङ

आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको ५२ वर्षीय दुरजङ गुरुङको भनाइ छ। नयाँ पुस्तालाई प्रोत्साहन गर्दै भेडीगोठ जोगाउनुपर्नेमा उनको जोड छ।

लमजुङ– लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्छन्। 

फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्थान हुँदै श्रीमञ्जाङसम्म पुग्छन्। बितेका २४ वर्ष उनलाई २४ दिन जस्तै लाग्छ। भेडाबाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्छन्। भेडाका बथानको पछि लाग्दालाग्दै समय बितेको पत्तै नभएको उनी बताउँछन्। 

गुरुङ समुदायको पुर्ख्यौली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि २०५७ सालमा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आएका छन्। शुरूमा आफ्नोसहित २८ जनाको ८०/९० वटा भेडाबाख्रा रहे पनि अहिले संख्या बढाउँदै दूधपोखरी गाउँपालिका–६ जोर्नेको २१ घर र सिमुरङको गरी ४५ घरका सानाठूला गरेर ८०० भन्दा बढी भेडाबाख्रा रहेको सुनाए। उनलाई तीन जनाले सघाउँदै आएका छन्।

मान्छेबाहेक चारवटा कुकुरले पनि सुरक्षा दिँदै आएको छ। यतिका भेडाबाख्रा हुनुअघि करिब पाँच वर्षअघि ७०० वटा रहेको र एकै चोटि ३०० वटा भेडाबाख्रा बिक्री गरेको र ४०० बाट बढ्दै हाल सो संख्यामा पुगेको गुरुङले बताए। “यस भेडीगोठबाट बर्सेनि १५/१६ लाख रुपैयाँ बराबरको भेडाबाख्रा बिक्री हुने गरेको छ। भेडा एक वर्षकोलाई १५ हजार, दुई वर्षकोलाई २० हजार तथा तीन वर्षकोलाई ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ। 

विशेषगरी दशैँतिहार, मंसिर, पुस र फागुन महिनामा भेडाबाख्राको माग हुने गरे पनि विगतको वर्षमा जस्तो अचेल बिक्री कम हुन थालेको छ। पहिला भेडाबाख्रा जताततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेडीगोठाला गुरुङले दुखेसो गरे। गोठका लागि प्रतिदाताले कम्तीमा एक हजारदेखि माथि दिने गर्ने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरूले गुजारा चलाउँदै आएको उनले सुनाए। उनले तीनजना गोठालालाई वार्षिक जनही १ लाख रुपैयाँ दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताए। भेडी बाख्राले अरूको अन्नबाली खाएमा क्षतिपूर्ति दिने गरेको छ। 

चरन क्षेत्र अभाव, खर्क जानेआउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेडीगोठ धान्न गाह्रो भएको र दुःख अनगिन्ती रहेको उनले बताए। आफूले पालेको भेडाबाख्रा बिक्री गरेर वार्षिक डेढ लाख जति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान गर्‍यो भने त्यही पनि नहुने उनको भनाइ छ। उनले यही गोठाला गरेर सो बिक्रीबाट आएको रकमले श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आएका छन्। “अरू पेसा पनि जानेको छैन, जेजस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प छैन,” उनले भने। 

आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठप्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लागेको उनको भनाइ छ। सरकारले नै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै तालिम दिएर भेडीगोठ जोगाउनुपर्नेमा उनले जोड दिए। “चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ,” उनले भने। खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ। सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ। कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेडाबाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उनको भनाइ छ। “लेक खर्कमा भेडीगोठालाई समस्या नै समस्या भइरहेको हुन्छ। फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ। सामान्य दुःख बिमार हुँदा जंगलकै जडीबुटी खाएर बस्छौँ, तर ठूलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसीसम्म आउन १० दिन लाग्छ,” उनले भने। 

यसैबीच, दोर्दी गाउँपालिका पशुपन्छी शाखाका कर्मचारी प्रवीण रेग्मीले १५ लाख रुपैयाँ बजेट रहेकाले सबै भेडीगोठका भेडाबाख्रालाई आन्तरिक परजीवीका औषधि खुवाउने औषधिमा डुबाउने मात्र गर्दै आएको बताए। भेडीगोठ लोप हुन नदिन र गोठालाका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकाले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए।