महिला दिवसमा प्रधानमन्त्रीको घोषणा : पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क

प्रधानमन्त्री पुष्पकमल दाहालले महिलामा देखिने पाठेघर र स्तन क्यान्सर तथा पोषणका क्षेत्रमा विशेष कार्यक्रम बनाइ निःशुल्क सेवा विस्तार गर्ने बताएका छन्।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा बिस्तार गर्ने बताएका छन्। 

बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा बिस्तार गरिने बताए। 

उनले पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिने बताए। 

महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गर्दै उनले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने बताए। 

प्रधानमन्त्री दाहालले विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने बताए। निजी क्षेत्रमा कार्यरत महिलाहरूलाई समेत अनिवार्यरूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिलाई कडाइका साथ लागु गरिने उनको भनाइ थियो। 

प्रधानमन्त्री दाहालले सूचना, प्रविधिमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रित प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइने बताए। त्यस्तै शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने उनको भनाइ थियो।