जयप्रकाश मल्ल: आफ्नै रानीबाट लखेटिएका राजा

आफ्ना मितसमेत रहेका पृथ्वीनारायण शाहले युद्धमा गोली लागेर घाइते भई छटपटिइरहेका जयप्रकाश मल्ललाई आफ्नो मान्छे पठाएर सोधे,‘के कुरा माग्छौ? दान पुण्य जे जे गर्न मन लाग्छ, म गराइदिऊँला।’

डोला लिन जाँदा आफ्नो ससुराली मकवानपुरबाट रित्तो हात फर्कन बाध्य भएपछि चन्द्रागिरि डाँडाबाट कान्तिपुर, ललितपुर र भक्तपुर (काठमाडौँ उपत्यका) देखेर त्यहाँको राजा बन्ने सपना देखेका थिए पृथ्वीनारायण शाहले। उनका साथमा मकवानपुर पुगेका गोरखाली पण्डित तथा ज्योतिषीहरू भानु अर्ज्याल र कुलानन्द ढकालले पनि उनलाई उक्साएर उनको त्यो मनसुवा पूरा हुने सपना देखाएका थिए।

यसै क्रममा उपत्यका वरपर सबै ठाउँबाट घेरा हालिसकेपछि उनी कान्तिपुर आक्रमण गर्ने योजनामा थिए। उनका लागि विसं. १८२५ इन्द्रजात्राको समयलाई कान्तिपुर आक्रमण गर्नका लागि उपयुक्त हुने साइत गोरखाली ज्योतिषी कुलानन्द ढकालले निकालिदिएका थिए।

कान्तिपुर आक्रमणका लागि पृथ्वीनारायण आफैँ सरिक थिए। उनले पहिले कान्तिपुरको उत्तरतिरको थँबहिल (अहिले ठमेल) लाई गोरखाली आडका लागि रोजेर त्यहाँ आफ्नो सैनिकहरू पठाई अधिकार जमाइहाले। त्यस ठाउँबाट कान्तिपुरको राजदरबारमा अधिकार जमाउन कठिन हुने देखेर त्यहाँबाट आफ्नो सैनिक फिर्ता गराई पश्चिम भागतिर दुई ठाना बार्न आफ्ना सैनिक खटाए। यता कान्तिपुरका राजा जयप्रकाश मल्ल भने त्यस रात इन्द्रजात्राको रमझममा थिए। गोरखालीहरूले तीनतिरको ढोका खोलेर कान्तिपुरमा आक्रमण गरे। तीमध्ये नरदेवी टोलबाट कान्तिपुर आक्रमणमा पृथ्वीनारायण स्वयम् सरिक थिए। 

राजा जयप्रकाश मल्ल बस्ने गरेको हनुमानढोका दरबार।

अर्को दुई दलमध्ये एउटा भीमसेनस्थानतिरबाट र अर्को धरहरातिरको भागबाट कान्तिपुरको राजदरबारतिर गोरखाली सेना घुस्यो। गोरखाली सेना आफू भएतिर अगाडी बढ्दै आएको थाहा पाएर जयप्रकाश मल्ल कुमारीको रथबाट ओर्लिएर आफ्ना तीन सय जति नगरकोटी अंगरक्षकका साथ पचलीतिरको बाटो गरी त्यहाँको काठे साँघु नाघेर बागमती तरी ललितपुर राज्यमा शरण लिन पुगे। इन्द्रजात्राकै समयमा कान्तिपुर राज्यमा गोरखाली आधिपत्य कायम हुन पुग्यो (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१:३४८–५१)।

ज्योतिषविद् नयराज पन्त (‘प्राचीन नेपाल’ संख्या १३–कात्तिक २०२७:४८) अनुसार विसं. १८२५ असोज १३ गते आइतबार १४ घडी रात बितेका बेला अर्थात् आधारात नहुँदै पृथ्वीनारायण शाह कान्तिपुर प्रवेश गरेका थिए। जयप्रकाश मल्ल कान्तिपुरबाट भागेर ललितपुर पुगे पनि उनले सोचेजस्तो गोरखालीको प्रत्याक्रमण गर्न सक्ने परिस्थिति त्यहाँ बन्न सकेन। त्यसपछि ललितपुरका राजा तेजनरसिंह मल्लका साथ उनी त्यहाँबाट भक्तपुर राज्यमा शरण लिन पुगे।

भक्तपुरका अन्तिम राजा रणजित मल्लको दरबारमा काम गरेका एक व्यक्ति गरुडनारायण गोंगलले भक्तपुरमा भएको गोरखाली हमला प्रत्यक्ष देखेका थिए। उनले गोरखालीहरूबाट भएको हमलाका बारेमा लेखिराखेको लिखत प्रकाशमा आएको छ। त्यो लिखत देवीचन्द्र श्रेष्ठले पुस्तकका रूपमा ‘भक्तपुरमा गोर्खाली हमला’ (२०७६) प्रकाशित गरेका छन्।

गरुडनारायणको बयानअनुसार ललितपुरको पतनअघि नै कान्तिपुरबाट भागेका राजा जयप्रकाश मल्ल तेखाचो ढोकाबाट नगर प्रवेश गरी ‘हादी’ क्षेत्रमा बसिराखेको खबर सार्वजनिक भयो। यो क्षेत्र भक्तपुरको दत्तात्रेय मठको परिसर हो। त्यहाँका मठाधीश महन्तहरूले जयप्रकाशलाई आश्रय दिएर राखेका थिए। यो सूचना पाएपछि भक्तपुरका राजा रणजितले खतरा महसुस गरेका थिए (श्रेष्ठ, २०७६:१५)।

वि.सं. १८१४ पुसमा गोरखाली राजा पृथ्वीनारायण शाहसँग कान्तिपुरका राजा जयप्रकाश मल्लसँग भएको व्यापारसम्बन्धी धर्मपत्र।
वि.सं. १८१४ पुसमा गोरखाली राजा पृथ्वीनारायण शाहसँग कान्तिपुरका राजा जयप्रकाश मल्लसँग भएको व्यापारसम्बन्धी धर्मपत्र।

कान्तिपुर र ललितपुर राज्यमा आधिपत्य जमाएका पृथ्वीनारायण शाह भक्तपुर राज्यमा हमला गर्न उत्साहित हुँदै थिए। विसं. १८२६ कात्तिक २८ गते राति १० बजे भक्तपुरमा गोरखाली हमला भयो। भक्तपुरका राजा रणजित मल्लसँग जयप्रकाश मल्ल र तेजनरसिंह मल्ललाई सुपुर्दगी गर्न माग गर्दा भक्तपुरे राजाले शरणको मरण नगर्ने खबर पृथ्वीनारायण शाहलाई पठाएका थिए। वास्तवमा उनका यी दुई शरणार्थी राजालाई सुपुर्दगी गरिनुपर्ने माग भक्तपुर हमलाका लागि निहुँ खोज्ने मेलो मात्रै थियो। 

यो युद्धमा भक्तपुरको ठूलो जनधनको नोक्सानी हुन पुग्यो। जयप्रकाश मल्ल हत्तपत्त हरेस खाने खालका राजा थिएनन्। उनले अन्तिम समयसम्म पनि गोरखालीविरुद्ध भक्तपुरको युद्धमा डटेर लडेका थिए। उनी भक्तपुरको युद्धमा मुख्य सेनापतिको भूमिकामा थिए।

भक्तपुरको युद्धमा गोरखालीविरुद्ध लड्न दुई वटा मोर्चामा एकै पटक आफ्ना सेनाहरूलाई उनले मोर्चावन्दी गरेका थिए। उनी घोडामा सवार भएर दुवै मोर्चामा पुगी आफ्ना लडाकु सैनिकहरूलाई हौस्याउँथे। उनी दुई वटा मोर्चा सकसपूर्ण ढंगले सम्हालिरहेका बेला गोरखाली सेना मल्ल सेनालाई पेल्दै अगाडि बढिरहेको थियो। उनीहरू सर्वसाधारण नागरिकको छानामा चढेर गोली प्रहार गरिरहेका थिए। युद्ध शुरू भएको तीन दिनपछि तीनै राजाहरू अपेक्षाकृत सुरक्षित भवनमा सर्ने तरखरमा थिए। यस क्रममा रणजित मल्ल र तेजनरसिंह मल्ल त्यस भवनको ढोकाभित्र प्रवेश गरी माथिल्लो तलामा उक्लिसकेका थिए, तर माथिल्लो तलामा उक्लनका लागि भर्‍याङमा पाइला हाल्नेबित्तिकै जयप्रकाश मल्लको गोडामा गोरखाली सैनिकले हानेको गोली लाग्यो। उनी नराम्ररी घाइते हुन पुगे (बाबुराम आचार्य, ‘नेपालको संक्षिप्त वृत्तान्त’–२०६३:१६७)।

छाता र जुत्ताको माग
अन्ततः विसं. १८२६ कात्तिक ३० गते भक्तपुरका राजा रणजित मल्लले आत्मसमर्पण गरे। गोरखालीहरूले तीनै जना राजालाई बन्दी बनाए। जयप्रकाश मल्लले पृथ्वीनारायण शाहसमक्ष बाँकी जीवन भगवती गुह्येश्वरीको सेवा गर्दै बिताउने इच्छा व्यक्त गरेकोले उनलाई त्यसतर्फ लैजाने व्यवस्था मिलाइयो (आचार्य, २०६३:१६८)।

आफ्ना मितसमेत रहेका पृथ्वीनारायण शाहले युद्धमा गोली लागेर घाइते भई छटपटिइरहेका जयप्रकाश मल्ललाई आफ्नो मान्छे पठाएर सोधे, ‘के कुरा माग्छौ? दान पुण्य जे–जे गर्न मन लाग्छ, म गराइदिऊँला।’ जयप्रकाश मल्लले चाहिँ ‘मलाई अरू थोक चाहिँदैन, एक जोर जुत्ता र छाता बक्सियोस्’ भन्ने खबर पठाए। जयप्रकाश मल्लको यस्तो मागले पृथ्वीनारायण शाह निक्कै बेर घोरिए। उनी घोरिएको देखेर भारदारहरूले त्यसको कारण सोध्दा उनले जवाफमा भने, ‘जयप्रकाशले मेरो सन्तान भई फेरि पृथ्वीको भोग गर्ने इच्छा गर्‍यो। छाताको अर्थ सिंहासन हो, जुत्ताको अर्थ पृथ्वी हो।’ 

त्यसपछि आफ्ना भारदारहरूका साथ पृथ्वीनारायण शाह घोडामा चढेर गुह्येश्वरी पुगे। आफू वचनमा चुकिसकेको बताएर जयप्रकाश मल्ललाई एक जोर जुत्ता र छाता दिँदै भने, ‘तर यो मेरो पालालाई होइन, नातिको पालाका लागि दिएँ।’ पृथ्वीनारायण शाहबाट छाता र  जुत्ता लिइसकेपछि जयप्रकाश मल्लले प्राण त्याग गरे (‘प्राचीन नेपाल’ संख्या २३–वैशाख २०३०:२)। यसलाई विश्वास गर्ने हो भने पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहलाई जयप्रकाश मल्लको अवतार मान्नुपर्ने हुन्छ।

उत्तराधिकारबाटै रोक्ने प्रयास
जयप्रकाश मल्ल वीर र साहसी थिए। उनले गोरखालीहरूलाई रोक्न अनेकौँ प्रयत्न गरेका थिए। यसका लागि उनले काँगडातिरबाट नगरकोटी सेना ल्याएर कान्तिपुरमा स्थायी प्रकारको सैन्य संगठन निर्माण गरेका थिए। उनले अंग्रेजको साथ लिन पनि खोजे। जयप्रकाशलाई साथ दिन कप्तान किनलकको नेतृत्वमा सैन्य लस्कर सिन्धुलीको बाटो हुँदै काठमाडौँतिर लम्किँदै थियो। तर विसं. १८२४ भदौमा सिन्धुली, पौवागढी र ढुंग्रेबासमा गोरखालीहरूले छापामार शैलीमा दपेट्दै अंग्रेज सेनालाई लखेटे। यो युद्धमा वंशराज पाँडे, बंशु गुरुङ, श्रीहर्ष पन्त, वीरभद्र उपाध्यायले गोरखालीका तर्फबाट पराक्रम देखाएका थिए। जीवनको अन्तिममा उनी गोरखालीसँग लड्दै-भिड्दै रहँदा गोली लागि सख्त घाइते भएर त्यसैको पीडामा ऐया र आत्था गर्दै पशुपतिनाथ मन्दिर परिसरमा दिवंगत हुन पुगे। 

जयप्रकाश कान्तिपुर राज्यको उत्तराधिकारी हुँदा पनि भारदारहरूले उनको विरोध गरेका थिए। उनको विरोध गर्नुको मुख्य कारण थियो, उनी जन्मँदै राजगद्दीको हकदार थिएनन्। आफ्ना बाबु जगज्जय मल्लको मृत्युपछि विसं. १७९२ को अन्ततिर जयप्रकाश मल्ल कान्तिपुरका राजा भए। जगज्जय मल्ल राजगद्दीका उत्तराधिकारी थिएनन्। उनीअघिका राजा भास्कर मल्ल नि:सन्तान भएकाले जगज्जय कान्तिपुरका उत्तराधिकारी बनाइएका थिए। 

भास्करको मृत्युपछि जगज्जय कान्तिपुरका राजा भए। जगज्जय कान्तिपुरका राजा हुनुअघि नै उनका दुई छोराहरू राजेन्द्रप्रकाश र जयप्रकाश मल्ल जन्मिसकेका थिए। उनी राजा भइसकेपछि नरेन्द्रप्रकाश, राज्यप्रकाश र चन्द्रप्रकाशको जन्म भएको थियो। राजेन्द्रप्रकाशको मृत्यु पहिल्यै भइसकेकोले जयप्रकाश मल्ल स्वाभाविक राज्यको उत्तराधिकारी हुन पुगेका थिए। जयप्रकाश मल्ल बाबु राजा नहुँदै जन्मेका हुँदा राजाको छोरा होइनन् भन्ने कारण देखाई एकथरि भारदारहरूले उनलाई उत्तराधिकारीको क्रमबाट हटाउन जोड दिएका थिए। तर जयप्रकाशले आफ्ना भाइ राज्यप्रकाशको समर्थन पाएकोले राजगद्दीमा बस्न पाए (डा. पेशल दाहाल, ‘नेपालको इतिहास’–२०५७:१७२)।

पृथ्वीनारायण शाहसँग मितेरी
राजनीति एउटा अनौठो र कठोर खेल हो। यसको उदाहरणका रूपमा राजा प्रताप मल्ललाई लिन सकिन्छ। आफ्नै बाबु लक्ष्मी नरसिंह मल्ललाई कैदमा राखेर आफू कान्तिपुरका राजा भएका थिए। शाहवंशका राजामध्ये राजा सुरेन्द्रविक्रमले आफू राजा भएपछि आफ्नै बाबु राजेन्द्रविक्रमलाई नजरबन्दमा राखेका थिए।

कालान्तरमा जयप्रकाश मल्लका परम शत्रु बनेका गोरखाली राजा पृथ्वीनारायण शाहसँग जयप्रकाश मल्लको मितेरी साइनो थियो। यी दुवैले एकापसमा मित लगाएका थिए। तर राजनीतिको खेलमा यस्ता सम्बन्ध काँचो धागो बराबर हुने रहेछ। आखिरमा पृथ्वीनारायण शाहले जयप्रकाश मल्ललाई सदाका लागि राज्यच्यूत मात्र बनाएनन्, गोरखाली सेनाको हातको बन्दुकबाट छुटेको गोली खाएर घाइते अवस्थामा जयप्रकाश मल्लको प्राणान्त भयो। 

राजा जयप्रकाश मल्लको चित्र।

पृथ्वीनारायण शाह विसं. १७९८ तिर गोरखाबाट भक्तपुर आई त्यहाँका राजा रणजित मल्लका छोरा युवराज वीरनरसिंह मल्लसँग मित लगाएका थिए र राजा रणजितसँग मीतबाको साइनो लगाए। पृथ्वीनारायण शाह युवराज भएकै अवस्थामा गोरखा र लमजुङबीच पनि परस्पर मित्र सम्बन्ध स्थापित भएको थियो। त्यतिखेरको आफू विरोधी राजा रणजित मल्लसँग पृथ्वीनारायणको मित्र सम्बन्ध स्थापित भएको देखेर जयप्रकाशले आफ्नो पनि गोरखासँग मित्र सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकता बोध गरी विश्वस्त अनुचरद्वारा पृथ्वीनारायण शाहसमक्ष मितेरी सम्बन्धको प्रस्ताव पठाए। 

यो प्रस्ताव पृथ्वीनारायण शाहले स्वीकार गरे। भक्तपुरका राजाको दरबारबाट बिदाबारी भई एक रात देव पाटनमा बास गरेर गुह्येश्वरीको दर्शन गरेपछि कान्तिपुर दरबारको मूल चोकमा त्यहाँका गुरु, पुरोहित, मन्त्रीहरूसमक्ष पगरी साटासाट गरी पृथ्वीनारायण शाह र जयप्रकाश मल्लबीच मितेरी सम्बन्ध कायम भएको थियो (आचार्य, २०६१:९९–१००)।

तर यो सम्बन्ध कालान्तरमा काँचो धागोजस्तै हुन पुग्यो। पृथ्वीनारायण शाह आफू विसं. १७९९ चैत २५ गते राजा भए। विसं. १८०० मा आफ्नै मित राजा भएको कान्तिपुर अधीनस्थको नुवाकोटमा हमला गरिहाले। पहिलो पटकको हमलामा गोरखालाई सफलता प्राप्त भएन। विसं. १८०१ असोज १५ गते गोरखालीले नुवाकोट कब्जा गरे। त्यसपछि यी दुई मित परस्परमा ठूलो शत्रु भएर निस्के।

जयप्रकाश पनि कम्तीका क्रोधी थिएनन्। पृथ्वीनारायणले आफ्नो विजय अभियान द्रुत गतिमा चलाइरहेका बेला तुलाराम पाँडे गोरखाली राजदूत भएर कान्तिपुर बसेका थिए। तर पाँडेलाई आफूविरुद्ध षड्यन्त्र गरेको अभियोग लगाई यिनको साथमा रहेका चार पाँच जना गोरखालीलाई यिनले मारिदिए। तुलाराम कैदमा परे। ललितपुरका प्रधान कालिदासको सहयोगबाट जयप्रकाश मल्लसँग मिल्ने सर्तमा कैदबाट मुक्त भई उनी कान्तिपुरबाट उम्केर नालदुममा पुगी गोरखाली फौजमा मिसिएका थिए (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णांक ५०–भदौ २०३८:६)। यसरी दुई मित राजाहरू राजनीतिको खेलमा लड्दै भिड्दै रहे। जितचाहिँ गोरखाली राजा पृथ्वीनारायण शाहको हुन पुग्यो।

आफ्नै राज्यमा राज्यच्यूत
पृथ्वीनारायण साहसी मात्र थिएनन्, उत्तिकै चतुरो राजनीतिक खेलाडी पनि थिए। उनी रणनीतिक रूपमा तत्काल प्रहार गरेर शत्रु हटाउन नसकिए नाकाबन्दी लगाएर भए पनि शत्रुलाई गलाउँथे। त्यतिखेरका स–साना राज्यहरूबीच एकापसमा फुट सिर्जना गरेर शक्तिहीन बनाउने जुक्ति पनि उनले जानेका थिए। 

यही क्रममा पृथ्वीनारायणले उपत्यकामा फुट गराउने उद्देश्य लिएका थिए। नुवाकोट विजयपछि विसं. १८०३ मा चाँगु, साँखु आदि क्षेत्र कब्जा गर्दै पछि महादेव पोखरी, नालदुम आदि क्षेत्र कब्जा गरेर दोलखासम्मको कान्तिपुर अधीनस्थ क्षेत्र जितेर भक्तपुरका राजा रणजित मल्ललाई सुम्पिदिए। कान्तिपुरको यो हारपछि जयप्रकाशका दरबारभित्रका केही शक्तिले उनलाई अयोग्य घोषित गर्न थाले (दाहाल, २०५७:१७३–७४)।

यही हारपछि जयप्रकाशविरुद्ध उनको दरबारमा भारदारहरूको एक पक्ष सक्रिय भएर लाग्यो। उनीहरूले उनकी रानीलाई उकासी नाबालक छोरा ज्योतिप्रकाश मल्ललाई राजा घोषणा गरी उनको नायव राजमाता राज्यवती (कतै जयलक्ष्मी र दयावती)लाई स्थापित गरी जयप्रकाशलाई कान्तिपुरको राजदरबारबाट लखेटे। लामो समय राज्यच्यूत भएका उनी उपत्यकाभित्र यत्रतत्र भौँतारिँदै रहे। जयप्रकाश सत्ताच्यूत हुँदा कान्तिपुरका काजी तौढिक र ललितपुरका मन्त्री कालिदासको योजनाअनुसार ललितपुरका समेत सैनिक लगेर कान्तिपुरको राजभवन घेरी जयप्रकाशलाई पक्राउ गरी ललितपुर लगिएको थियो। त्यति बेला उनका पाँच वर्षीय छोरा ज्योतिप्रकाशलाई राजसिंहासनमा राखियो (आचार्य, २०३८:४)।

‘भाषा वंशावली’ भाग–२ (देवीप्रसाद लम्साल (सम्पा.), २०२३:१०७)मा ‘विवाह गरी ल्याएको भित्रिनी दयालक्ष्मी लगन मैज्यू बाडाकी छोरी’ उल्लेख भएकोले जयप्रकाशकी रानी काठमाडौँ लगन टोलकी बाँडा (शाक्य) परिवारकी कन्या हुन् भन्ने देखिन्छ। काठमाडौँ लगन टोल क्षेत्र अहिले पनि शाक्यहरूको बाहुल्य रहेको क्षेत्र हो। जयप्रकाशलाई कान्तिपुरबाट राज्यच्यूत गरिएपछि त्यहाँका भारदारहरू गोरखालीले कब्जा गरी भक्तपुरलाई सुम्पिएको चाँगु साँखु आदि क्षेत्र फेरि खोस्न सफल भए। तौढिक प्रधानको नेतृत्वमा ललितपुर र कान्तिपुरको संयुक्त सेनाले आक्रमण गरिदिँदा चाँगु र साँखु क्षेत्र कुरेर बसिरहेका गोरखाली सरदार शिवरामसिंह बस्नेत त्यहाँबाट पलायन भई नुवाकोटतिर लाग्न विवश भए।

नुवाकोट फर्कने क्रममा गोरखाली सैनिकहरू राति साँगा चोकमा बास बसेका थिए। त्यही गढीमा कान्तिपुरे सैनिकहरूले आक्रमण गरिदिँदा गोरखाली सैनिकहरू तितरबितर हुन पुगे भने सेनापति शिवरामसिंह बस्नेतको प्राणान्त हुन पुगेको थियो (आचार्य, २०६३:११८)। यसरी जयप्रकाशले गुमाएको भूभाग कान्तिपुरले फेरि आफ्नो अधिपत्यमा फर्काउन सफल भएपछि जयप्रकाशलाई कान्तिपुर दरबारले फेरि लखेट्न थाल्यो। उनी लामो समयसम्म यत्रतत्र भौतारिँदाको अवस्थामा पनि सत्ता पुनः प्राप्तिका लागि प्रयत्न गरिरहे। 

राजाविरुद्ध उनकै रानी
राज्यच्यूत हुन पुगेका जयप्रकाश ललितपुरमा शरण लिन पुगेका थिए। त्यस बेला त्यहाँ उनकै भाइ राज्यप्रकाश राजा थिए। तर आफ्नै पतिलाई राज्यच्यूत गरी दरबारबाट लखेट्ने उनकी रानीले ललितपुरको दरबारमा पनि आश्रय नदिन आग्रह गरिन्। त्यसबेला उनी आफ्ना कान्तिपुरका राजा घोषित आफ्ना छोरा ज्योतिप्रकाश मल्लको नायवी लिएर राजमाताको हैसियतले शक्तिशाली बन्न पुगेकी थिइन्। उनको यस्तो आग्रह आएपछि ललितपुरका राजा राज्यप्रकाशले आफ्ना दाजु जयप्रकाशलाई ‘क्वाठ छें’ नामको एक राजकीय भवनमा सम्पूर्ण सुविधासहित आदरसाथ राखेका थिए। तर जयप्रकाश भने छटपटाइरहेका थिए। 

उनी ललितपुरकै काजी कालिदास र कान्तिपुरका काजी तौढिक प्रधानले नै आफूविरुद्ध षड्यन्त्र गरेको ठान्थे। त्यसैले उनी उनीहरूलाई दमन गरेर आफ्नो गुमेको सत्ता फर्काउने योजना बुनिरहेका थिए। यसबारे लमजुङ र तनहुँका भारदारसँग पनि सरसल्लाह गर्दै रहेका थिए (श्रीकृष्ण आचार्य, ‘नेपालका पछिल्ला मल्ल राजाहरूको आपसी अन्त:कलह’ खण्ड १–२०६९:१४२)। आफ्नै रानी र भारदारहरूबाट दरबारबाट निष्कासनमा परेर यत्रतत्र भौँतारिनुपर्दा जसप्रकाशलाई हुनसम्म भाउन्न छुटेको थियो। उनी निर्वासनमा हुँदा पनि लखेटिइँदै रहे, कहिले यता कहिले उता।

विसं. १८०३ असोज १८ गते उनी ललितपुर राज्यको ‘क्वाठ छेँ’बाट निस्केर सतुंगलमा गई बस्न थालेका थिए। कहिले क्वाठ छेँ, कहिले पाटन पुल्चोक, कहिले मातातीर्थ त कहिले भक्तपुर बस्दै रहे। भक्तपुरपछि उनी कान्तिपुरकै गुह्येश्वरीमा आएर बस्न थालेका थिए। एक दिन भैरवको दर्शन गर्न पचली भैरव पुग्दा उनीप्रति श्रद्धा राख्ने केही सर्वसाधारण नागरिकले उनको दिनहीन अवस्था देखेर राजभवनसम्म पुर्‍याइदिने असफल प्रयास गरेका थिए। तर उनकी रानी र रानीप्रति बफादार भारदारहरूले उनलाई राजभवन प्रवेश गर्न नदिई लखेटे।

उनी हतास भई ललितपुर राज्यको गोदावरीमा गई बस्न थाले। तर ललितपुरका राजा र भारदारहरूसँग सरसल्लाह गरी उनकी रानीले त्यहाँबाट पनि उनलाई धपाइदिइन्। त्यसपछि केही सहयोगीका साथ कान्तिपुर राज्य क्षेत्रभित्रकै गोकर्णमा आई उनी बस्न लागे। तर त्यहाँ उनी बसिदिँदा आफूहरूलाई राज्यका तर्फबाट यातना र कारबाही हुने भएकोले त्यहाँबाट हटिदिन स्थानीयहरूले आग्रह गरेकोले उनी गुह्येश्वरी मन्दिरमा आएर बस्न थाले। उनी साढे तीन वर्ष उपत्यकाका विभिन्न ठाउँमा भौँतारिएर रहँदा उनका दुःख कष्टमा वंशीधर मास्के, अजितसिंह मास्के, योगेश्वर वैद्यलगायत २०/२५ जना सहयोगीले साथ छाडेनन् (आचार्य, २०६९:१४३–४४)। यसबाट पनि कान्तिपुरको एक समूह जयप्रकाशकै पक्षपाती रहेका थिए भन्ने बुझ्न सकिन्छ।

रानीमाथि व्यभिचारको बात 
यता जयप्रकाश राज्यच्यूत र निर्वासित भएर यत्रतत्र भौँतारिइरहेका बेला राज्यको सर्वोच्च स्थानमा पुगेकी उनकी रानी भने दरबारमा विलासी बनेर देखा परिरहेकी थिइन्। उनको व्यभिचारको विषयमा यत्रतत्र हल्ला चल्न थालेको थियो। 

उनको एक सामान्य भारदारका छोरा गरुणसिंह भडेलसँग अनुचित सम्बन्ध रहेको हल्ला काठमाडौँका गल्ली गल्लीमा चलिरहेको थियो। रानी र काजी तौढिकबीच पनि खटपट शुरू भइसकेको थियो। रानीको यस्तो शंकास्पद चरित्र देशका मुख्य भारदार तौढिक प्रधानलगायतलाई मन परेको थिएन। उनी काजी तौढिकलाई अपमान गर्न थालिसकेकी थिइन्। रानीको व्यभिचारको हल्ला राज्यच्यूत राजा जयप्रकाशको कानमा पनि परिसकेको थियो (आचार्य,२०६९:१४५)।

रानीले त्यस बेला कान्तिपुरका पुराना काजी तौढिक प्रधानलाई सामान्य भारदारमा राखी गरुडसिंह भँडेललाई हजुरिया मन्त्री बनाएकी थिइन्। इतिहास शिरोमणि बाबुराम आचार्यले गरुडसिंहलाई ‘रानीको नाठा’ भनेका छन्। रानी र मन्त्रीबीचको अनाचार देखेर जोरवरसिंह नामका पुराना भारदारले काठमाडौँका सैनिकलाई जयप्रकाशको पक्षमा ल्याई उनलाई काठमाडौँ डाके। रानीले उनलाई रोक्न पठाएको सैनिकले उनकै स्वागत गरेर राजभवनमा प्रवेश गराइदिए। त्यसपछि पुन:स्थापित राजा जयप्रकाशले रानीलाई कठोर कैद गरी भोकै मराए। तौढिकले आत्महत्या गरे। यिनका पक्षका भारदारहरू भागे (आचार्य,२०३८:४)।

जयप्रकाशलाई सत्याच्यूत बनाउने मन्त्री तौढिकलाई राज्यवतिले क्रमशः त्यति भाउ दिन छाडिन्। उनलाई सामान्य भारदारमा राखी आफ्ना नाठो गरुडसिंह भँडेललाई हजुरिया मन्त्री बनाएकी थिइन्। रानी र मन्त्रीबीचको यस्तो अवैध सम्बन्ध र अनाचार देखेर जोरवरसिंह नामका पुराना भारदारले काठमाडौँका सैनिकलाई जयप्रकाश मल्लको पक्षमा ल्याई उनलाई काठमाडौँ डाके। राज्यवतिले उनलाई रोक्न पठाएको सैनिकले उनकै स्वागत गरेर राजभवनमा प्रवेश गराइदिए। त्यसपछि पुनः स्थापित राजा जयप्रकाश मल्लले रानी राज्यवतीलाई कठोर कैद गरी भोकै मराए। तौढिकले आत्महत्या गरे। यिनका पक्षका भारदारहरू भागे (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ५०–भदौ २०३८:४)।

कान्तिपुरमा पुन:स्थापित भइसकेपछि जयप्रकाशले आफूविरुद्ध उभिने भारदारहरूसँग धमाधम बदला लिन शुरू गरे। उनी वि.सं. १८०७ जेठ ५ गते कान्तिपुर राजभवनमा प्रवेश गरेका थिए।

जयप्रकाशको राज्यसत्तामा पुनरागमन भएपछि काजी तौढिक प्रधान पहिले भागेर त्यस बेलाका सम्भ्रान्त परिवारका मनोरथसिंह मास्केको घरको बुइगलमा लुक्न गएका थिए। पछि उनले आत्महत्या गरे। जयप्रकाशकी उपपत्नीसँग व्यभिचारको बात लागेका भीमधन प्रधान ललितपुरतिर भाग्दाभाग्दै काटिए। यसै काण्डमा भिंख्वाल र तुइख्वाल नामका भारदार पनि काटिए। गरुणसिंह भँडेल भागेर नुवाकोट पुगी पृथ्वीनारायण शाहको शरण पुगे। रानीलाई हातमा हतकडी, गोडामा नेल र घाँटीमा गलफन्दी भिराएर नजरबन्दीमा राखिएको थियो। कठोर यातना सहन नसकेर बन्दी बनेको एक महिनामै उनको प्राणान्त हुन पुग्यो (आचार्य, २०६९:१४७)।

‘भाषा वंशावली’ (२०२३:११४)अनुसार अर्का उपाध्याय भाजु नामका दरबारिया भारदारलाई पनि रानीसँग व्यभिचार गरेको आरोप लागेको थियो। उनी भक्तपुरतिर भागेका थिए। पछि उनलाई पनि पक्रेर ल्याई काटियो। 

त्यो बेलासम्म जयप्रकाशसँग एक कौडी पनि पैसा थिएन। उनकी आमा कुमुदिनीले आफ्ना पति जगज्जय मल्लका पालामा जोरेको केही जडाऊ गहना थिए। उनले आमाको यिनै गहना मागेर कर्जा काढी योजना पूरा गर्ने उद्योगमा लागेका थिए। त्यस बेला भक्तपुर मठमा महन्त कमल वन धनी व्यक्ति थिए। उनले २० हजार रुपैयाँ पर्ने आमाको गहना धितो राखेर पाँच हजार रुपैयाँ कर्जा लिई आफ्नो काम बढाउँदै गए। सबै प्रबन्ध ठीक भएपछि उनी एक घोडा खरिद गरेर शानसँग देवपाटन प्रवेश गरेका थिए। देवपाटनबाट उनी कान्तिपुर राज्यमा पुन:स्थापित हुन आफ्ना आवश्यक सैनिक र समर्थकका साथ कान्तिपुरतिर रवाना भएका थिए (आचार्य, २०६१:२०६–७)।

सूर्यविक्रम ज्ञवाली (‘प्राचीन नेपाल’ सङ्ख्या १७–कात्तिक २०२८:१६) का अनुसार जयप्रकाशको घोडाको नाम पारुष्णी थियो। त्यसबेला पश्चिम हिमालय क्षेत्रको घोडा नेपाल आउने गर्थ्यो। यसरी कहिले दरबारबाट निष्कासित त कहिले पुनः स्थापित हुन पुगेका कान्तिपुरे राजा जयप्रकाशको राज्यकाल र जीवन उतारचढावपूर्ण रह्यो। अन्ततः भक्तपुरको युद्धमा गोरखालीको गोली लागेर घाइते भएका उनले त्यही घाउको चोटले ऐया र आत्था गर्दै पशुपति परिसरमा प्राण त्याग गरे।