Wednesday, April 24, 2024

-->

पोखरा विमानस्थल सञ्चालनपछि यात्रुलाई सास्ती : न सार्वजनिक यातायात, न तोकियो भाडादर

पोखराको नयाँ विमानस्थलमा समस्याका चाङ छन्। तर, सार्वजनिक यातायातको रुट र भाडादर कायम नगरिँदा सबभन्दा ठूलो समस्या नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुले भोगिरहेका छन्।

पोखरा विमानस्थल सञ्चालनपछि यात्रुलाई सास्ती  न सार्वजनिक यातायात न तोकियो भाडादर

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई महिना पुगिसक्यो। पुस १७ देखि सञ्चालनमा आएको विमानस्थलले १५ दिन नबित्दै एउटा यस्तो आकस्मिक क्षति बेहोर्नुपर्‍यो, त्यसकै असर यसले अहिले पनि भोगिरहनुपरेको छ।

माघ १ गते काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको एटीआर ७२—५०० जहाज अवतरण हुनेक्रममा विमानस्थलनजिक दुर्घटना हुँदा आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो मानवीय क्षति भयो। विमानमा सवार ६८ यात्रु र चालक दलका ४ सदस्यले ज्यान गुमाए।

यो दुर्घटनाले पोखरा विमानस्थलबाट हुने उडानलाई अहिलेसम्म प्रभावित गरिरहेको छ। राष्ट्रिय गौरवका आयोजनामध्ये पनि ठूलो ठूलो आयोजना मानिने पोखरा विमानस्थलले अन्तर्राष्ट्रिय उडान शुरू गरेकै छैन। अहिलेसम्म आन्तरिकबाहेक अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो लागेको छैन।

सञ्चालनमा आएलगत्तै चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण गरिएको विमानस्थलको भविष्य नै जोखिममा रहेको टीकाटिप्पणी हुनथालेको छ।  

चर्चा विमानस्थलको, बेवास्ता यात्रुको
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको पुरानो विमानस्थल सञ्चालनमा छैन। आन्तरिक उडान पनि नयाँ विमानस्थलबाटै सञ्चालन भइरहेका छन्। तर, यसको मार यात्रुलाई परेको छ। 

नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुका लागि अहिलेसम्म सार्वजनिक सवारीको व्यवस्था हुनसकेको छैन। विमानस्थलसँग सम्पर्क राख्ने सार्वजनिक रुट र  वैज्ञानिक भाडादर केही कायम कायम नहुँदा नयाँ विमानस्थलबाट यात्रा गर्ने यात्रुहरू चर्को भाडा तिर्न बाध्य भएका छन्। सरोकारवाला निकायले भाडा तय नगरिदिँदा ट्याक्सी चालकले मनोमानी भाडा उठाइरहेको यात्रुहरूको गुनासो छ। 

परिवारसहित काठमाडौँबाट फर्केका गम्भीरमान श्रेष्ठले पोखरा विमानस्थलबाट बगालेटोलसम्मको भाडा ८०० रुपैयाँ लाग्ने बताए। “अस्ति काठमाडौँ गएर आएको हो। एयरपोर्टबाट बगालेटोल कति नै छ र,” उनले भने, “यहाँबाट १० मिनेट जति त लाग्छ। बगालेटोल पुगेको ८०० भाडा लाग्दो रहेछ।”

विमानस्थलमा ट्याक्सी चालकले मनोमानी भाडा लिएको भन्दै उनले असन्तुष्टि पोखे।।

पोखरा, बाटुलेचौरका विक्रम गुरुङले पनि विमानस्थलमा ट्याक्सीले चर्को भाडा लिने गरेको गुनासो गरे। “एयरपोर्टबाट बाटुलेचौर कत्ति नै छ र! त्यहाँसम्मको भाडा नै १५ सय लिन्छन्,” उनले भने, “नेपालीले नेपालीलाई ठग्न खोज्छन्। हाम्रो नेपालमा मात्र हो ‘बार्गेनिङ’ चल्ने, भाडादर तोकिदिए त हामी त्यहीअनुसार तिरेर जान्थ्यौँ।” 

विमानस्थलमा पार्किङ शुल्क, महँगो तेलको बहाना बनाएर ट्याक्सी चालकहरूले यात्रुसँग चर्को शुल्क उठाएको उनको भनाइ छ।

विमानस्थलमा पार्किङ शुल्कको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को विरोध समेत जनाएका थिए। विमानस्थलमा पार्किङ गरेबापत दुई पाङ्ग्रे सवारीको प्रतिघण्टा ३० रुपैयाँ, कार/जिप/टेम्पोको ६०, हल्का सवारीको ८० र हेभी सवारीको प्रतिघण्टा १२० रुपैयाँ भाडा उठाउने गरिन्छ। 

काठमाडौँ हिँडेका पोखरा, बगरका निशल पुर्जाले बगरदेखि एयरपोर्टसम्म आइपुग्न ७०० रुपैयाँ भाडा तिरेको बताए। “बगरबाट आउँदा ७ सय रुपैयाँ लाग्यो,” उनले भने, “अरूले त कति तिर्छन् थाहा छैन। एयरपोर्ट शुरू भएपछि पहिलोचोटी आएको, त्यति नै होला।” 

ट्याक्सी व्यवसायी मधुसूदन पौडेलले विमानस्थल सञ्चालनमा आइसकेपछि भाडा समायोजनका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको बताए। प्रदेश सरकार, महानगरपालिकादेखि विमानस्थललाई समेत भाडा समायोजनका लागि भनेको उनले बताए। “ट्याक्सी चालक पनि एकै किसिमका छैनन्। यहाँदेखि लेकसाइडसम्म ७ सयदेखि ८ सय रुपैयाँसम्ममा जानपर्छ भनेर हामीले भनेको हो। किनभने यहाँ पार्किङ शुल्क पनि बढी नै छ, तेलको मूल्य पनि बढेको छ,” उनले भने। 

लेकसाइडमा १४–१५ वटा गल्ली भएकाले मिटर अनुसार भन्दा पनि आपसी समझदारीमा भाडादर कायम गर्न खोजिएको उनले बताए। “मिटरमा ठ्याक्कै पनि नआउने समझदारी अनुसार ७ देखि ८ सय सम्म भाडा लिएर जाऊँ भनेका थियौँ। कसैले हजार भने, कसैले १२, १५ सय पनि भने,” उनले भने।

विमानस्थलको प्रयोग लेकसाइड जाने यात्रुले मात्र नगर्ने भएकाले गण्डकी भेगकै यात्रुलाई समेटेर भाडादर कायम हुनुपर्ने उनले बताए। पुरानो एयरपोर्टबाट ट्याक्सी व्यवसायी नयाँ एयरपोर्टमा सर्नुअघि नै यात्रुलाई मर्का नपर्नेगरी भाडा लिने सहमति भए पनि कसैले आफूखुसी भाडा लिएको उनले बताए।

पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीले पुरानो विमानस्थलमा चल्ने ट्याक्सी व्यवसायीहरू नै अहिले नयाँ विमानस्थलमा स्थानान्तरण भएको सुनाइन्। पार्किङका लागि विमानस्थलले खोलेको नयाँ टेन्डरको म्याद सोमबार सकिएको छ। यसअघि कमिटी गठन गरेर पुरानो ठेकेदार कम्पनीलाई पार्किङ शुल्क उठाउन दिइएको उनले बताइन्।

“पुरानो एयरपोर्टको ठेकेदारलाई अर्को टेन्डर नखुलेसम्मलाई हामीले नयाँकै दररेटले कमिटी गठन गरेर उठाउन दिएका थियौँ। अर्को टेन्डर २ वर्षका लागि खोलिएको छ,” उनले भनिन्।

पुरानो विमानस्थलमा ठेक्का लिएको कम्पनीलाई अहिलेको अन्तर्राष्ट्रिय विमानस्थल दस्तुर नियमावलीअनुसार नै अर्को टेन्डर नहुँदाका लागि कमिटी गठन गरेर तीन महिनाका लागि अख्तियारी दिएको उनले प्रस्ट्याइन्। “अब जसले टेन्डर पाउँछ, उसैले व्यवस्थापन गर्छ,” उनले भनिन्।

सार्वजनिक यातायातका लागि पोखरा महानगरपालिकाबाट ‘सटल बस’ सञ्चालनमा रहेको, महानगरपालिकासँग समन्वयमा पोखरा सिटीमा घुम्ने नगर बसलाई एयरपोर्ट सटल भनेर भनेर चलाइएको उनले बताइन्। 

यसअघि मनोज निर्माण सेवा कम्पनीले विमानस्थलको पार्किङ ठेक्का पाएको थियो। विमानस्थल दस्तुर नियमावली अनुसार नै पार्किङ शुल्क कायम गरिएको दाबी गर्दै सुवेदीले भनिन्, “राजस्व जस्तो कुरा पनि मनोमानी ढंगले उठाउन पाइन्छ र! कमिटी गठन गरेर तत्काल व्यवस्थापनका लागि मात्र शुल्क उठाइएको हो। अब टेन्डरमा उल्लेख भएअनुसार हुन्छ।”

नयाँ विमानस्थल सञ्चालनमा आउनुअघि पोखरा महानगरले विमानस्थलभित्र दुईवटा नगर बस तीन–तीन मिनेटको फरकमा सञ्चालन गर्ने भनेको थियो। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्रचोक–राम बजार–मितेरी पुल–आरटिओ रोड–विरौटाचोक–राष्ट्रबैंकचोक हुँदै फिस्टेल गेटसम्म ४ वटा बस १०—१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट बेगनास तालसम्म ‘नन स्टप’ सञ्चालनमा ल्याउने महानगरको घोषणा थियो।

पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा नियमित सार्वजनिक बस सञ्चालन गर्ने भनिए पनि नगर बस पनि नियमित सञ्चालन भइरहेका छैनन्।


सम्बन्धित सामग्री