केपी ओली कपको उपाधि मछिन्द्रलाई

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ।

काठमाडौँ- केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ। 

दशरथ रंगशालामा बुधवार भएको फाइनलमा सातदोबाटो यूथ क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो। 

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गर्दा सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो। 

पेनाल्टीमा मछिन्द्रका रञ्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पूजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे। 

त्यस्तै, सातदोबाटोका नीरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे। तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए। त्यसअघि पाँचौँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। तर, खेलको १८ औँ मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। 

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।