प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौँमा घरजग्गा किन्न नपाउने व्यवस्था गरौँ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

देशको सन्तुलित विकास र काठमाडौँ उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो। 

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गरे। 

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभाबी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए। 

सांसद सुवालले भने, “काठमाडौँ उपत्यका विकास प्राधिकरण अभिलम्ब खारेज गर्न आवश्यक छ। ललितपुरको सुनाकोठी–ठेचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा जनताको विरोध छ। काठमाडौँमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्दैन। पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौँ उपत्यकामा खाद्यान्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मर्नुपर्ने अवस्था छ।”

सांसद सुवालले भक्तपुरस्थित नगरकोट सडक खण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए। ८ वर्षदेखि सो सडकखण्डको निर्माण कार्यले पूर्णता नआएकोमा उनको आक्रोश थियो ।