न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले बनाएका कार्ययोजनालाई दिइयो एकीकृत रूप

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न मन्त्रालयहरूले प्रस्तुत गरेका कार्ययोजनालाई एकीकृत रूप दिइएको बताएकी छन्।

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रालयस्तरी बैठकपछि प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयले बनाएका कार्ययोजनालाई एकीकृत रूप दिएको हो।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न सबै मन्त्रालयलाई कार्ययोजना बनाएर प्रस्तुत गर्न निर्देशन दिएका थिए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न र नतिजामुखी बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम सबै मन्त्रालयले कार्ययोजना प्रस्तुत गरेको र त्यसलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत रूप दिएको बताइन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई सरकारको एकीकृत कार्ययोजनाबारे जानकारी दिएको समेत बताइन्। उनले एकीकृत कार्ययोजनामा अन्तरमन्त्रालयसँग सम्बन्धित धेरै विषय रहेकाले सबैको साझा बुझाइका बारेमा जानकारी गराइएको उल्लेख गरिन्। 

"अहिलेको सरकारले न्यूनतम साझा कार्यक्रम जुन प्रस्तुत गरेको थियो, त्यसमा प्रतिबद्धता गरिएका विषयवस्तु, त्यसलाई कसरी कार्यान्वयनमा लैजाने, कसरी नतिजा दिने भन्ने विषयमा कार्ययोजना बनाउन लगाइएको थियो, त्यो सबै मन्त्रालयले बनाएर पठाउनुभएको थियो, मन्त्रालयस्तरको कार्ययोजनालाई एक ठाउँमा एकीकृत रूप दिइएको हो", उनले भनिन्।

मन्त्री पौड्यालले सरकारको डेलिभरीको समग्र प्रक्रिया नै झन्झटिलो रहेको भन्दै झन्झटिलो प्रक्रिया र अन्तरमन्त्रालयको समन्वयमा त्यसलाई सुधार गर्न सकिने बताइन्।