तेक्वान्दो संघले एशियाली खेलकुद र सागका लागि राष्ट्रिय टोली बनाउने

नेपाल तेक्वान्दो संघले आसन्न एशियाड, सागलगायत विभिन्न प्रतियोगिताका लागि खुल्ला छनोटमार्फत राष्ट्रिय टोली बनाउने भएको छ।

काठमाडौँ- नेपाल तेक्वान्दो संघले आसन्न एशियाली खेलकुद (एशियाड), दक्षिण एशियाली खेलकुद (साग)लगायत विभिन्न प्रतियोगिताका लागि राष्ट्रिय टोली बनाउने भएको छ।

संघले आइतबार सूचना जारी गर्दै खुल्ला छनोटमार्फत खेलाडी छनोट गरी राष्ट्रिय टोली बनाइने जानकारी दिएको हो। संघले खुल्ला छनोटमा प्रतियोगितामा सहभागिता जनाउन माघ ३ गते नाम दर्ता गरिसक्नुपर्ने जनाएको छ। 

संघले खेलाडीको तौल माघ ६ गते बिहान ८ बजे लिइने बताइएको छ। त्यस्तै, माघ ७ गते खेलाडी छनोट गरिने छ।

संघका अनुसार छनोटमा सहभागी हुन सम्बन्धित जिल्ला तेक्वान्दो संघको सिफारिस अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यस्तै, विभागीय टोलीका खेलाडीहरूले सम्बन्धित विभागको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ।

छनोट प्रतियोगितामा महिला र पुरुषको ८/८ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ५४, ५८, ६३, ६८, ७४, ८०, ८७ केजीमुनि र ८७ केजीमाथि प्रतिस्पर्धा हुने संघले जनाएको छ। महिलातर्फ ४६, ४९, ५३, ५७, ६२, ६७, ७३ केजीमुनि र ७३ केजीमाथि प्रतिस्पर्धा हुनेछ।