खुम्बु क्षेत्रमा हेलिकप्टर उडानका लागि पूर्ण सुरक्षाको माग

वायुसेवा सञ्चालक संघले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको छ। 

काठमाडौँ– वायुसेवा सञ्चालक संघले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको छ। 

संघका अध्यक्ष मनोज कार्कीले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमाथिको प्रतिबन्ध कायमै रहेको भन्दै यही माघ ९ गतेसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवाहरू पूर्ण रूपमा स्थगन गर्नुपर्ने अवस्था आउने बताए।

खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न संघ प्रतिबद्ध रहेको संघले जनाएको छ। हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा सञ्चालन कम्पनीहरूलाई ठूलो आर्थिक नोक्सानी हुने भन्दै संघले यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ।

हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउने लगायतका पर्यटकले आफ्नो गन्तव्य परिवर्तन गरी अन्य मुलुकतर्फ जाने भएकाले संघले निर्बाध उडान सञ्चालनको माग गरेको छ। त्यसो नभए कोभिड महामारीपछि बिस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय नै धराशायी हुनुका साथै विदेशी मुद्रा आर्जन तथा राजस्वमा असर पर्ने संघको भनाइ छ।

राष्ट्रिय निकुञ्ज, नेपाल नागरिक उड्डयन प्राधिकरण र यस संघको अनुरोध समेतलाई हवाई सेवा सञ्चालनका सम्बन्धमा कानुनले प्रत्यायोजन नगरेको अवस्थामा गाउँपालिकाले प्रचलित कानूनको उल्लंघन गरी हेलिकप्टर सेवा सञ्चालनमाथि गत पुस २५ गते जारी गरेको विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाले निकुञ्जको बफर जोनमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भनेपछि सङ्घले गत पुस १७ गतेदेखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने घोषण गरेको थियो।

नेपालमा हवाई सेवा नियमन गर्ने निकायले हवाई सेवा रोक्न नपर्ने लिखित निर्देशन दिँदा सो सम्बन्धमा उक्त निकायसँग संघका पदाधिकारीले पटक–पटक वार्ता गर्दा पनि कुनै निर्क्योलमा पुग्न नसकेको र हाल खुम्बु क्षेत्रका हेलिप्याडमा अवरोध सिर्जना गरिएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ।