पछिल्लो ९ वर्षमा कक्षा १२ उत्तीर्ण भएपछि नेपालका शैक्षिक संस्था नपुगेका लाखौँ विद्यार्थी कहाँ गए भन्ने अध्ययन भएको छैन। ‘हराउने’को संख्या बर्सेनि थपिइरहँदा कतिपय क्याम्पसमा विद्यार्थीको संकट छ।
काठमाडौँ– कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीका लागि विश्वविद्यालयको ढोका खुल्छ। तर हरेक वर्ष कक्षा १२ उत्तीर्ण विद्यार्थीको ठूलो संख्या विश्वविद्यालय पुग्दैनन्। विगत नौ वर्षमा विश्वविद्यालयमा भर्नायोग्य १२ लाखभन्दा बढी विद्यार्थी नेपालका शैक्षिक संस्थामा भर्ना भएनन्। जबकि, यो अवधिमा करिब २४ लाख विद्यार्थी भर्नायोग्य थिए।
शैक्षिक सत्र २०७१/७२ सम्म विभिन्न विश्वविद्यालमा चार लाख सात हजार ९०४ विद्यार्थी थिए। तीमध्ये शैक्षिक सत्र २०७२/७३ मा ९० हजार ४२८ विद्यार्थी दीक्षित भए। विश्वविद्यालयमा तीन लाख ६१ हजार ७७ विद्यार्थी बाँकी थिए।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार शैक्षिक सत्र २०७२/७३ मा एक लाख १९ हजार ८९५ विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरे। तर यो शैक्षिक सत्रमा ४३ हजार ६०१ विद्यार्थी मात्र विश्वविद्यालय भर्ना भएको देखिन्छ। बाँकी ७६ हजार २९४ विद्यार्थी ‘गायब’ भए।
उनीहरूको गन्तव्य कहाँ बन्यो भन्ने अध्ययन नै भएन। फलस्वरुप, पछिल्लो एक दशकमा विश्वविद्यालयमा भर्नायोग्य भएर पनि भर्ना नभएका विद्यार्थीहरूको संख्या लाखौँमा परिणत भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा विद्यार्थीको शैक्षिक सत्र खेर नजाने हिसाबले परीक्षफल निकाले पनि विश्वविद्यालयमा विद्यार्थी पुग्न नसकेको बताउँछन्। “पहिलो पटक र मौका परीक्षा गरेर हरेक वर्ष ७० प्रतिशतभन्दा धेरै विद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्छन्,” शर्मा भन्छन्, “मौका परीक्षाको नतिजा निकाल्दा पनि शैक्षिक सत्र खेर गएको हुँदैन। तर विश्वविद्यालय भर्ना सोचेजस्तो हुँदैन।”
शैक्षिक सत्र २०७२/७३ देखि २०८०/८१ सम्म विश्वविद्यालयमा दीक्षित र नयाँ भर्नाको तथ्यांक हेर्दा कक्षा १२ उत्तीर्ण गरेर विश्वविद्यालय भर्नायोग्य १२ लाख ५० हजार ४३० विद्यार्थी भर्ना भएका छैनन्।
शैक्षिक सत्र २०७२/७३ मा भन्दा २०७३/७४ मा विश्वविद्यालय नपुग्नेको संख्या घटेको देखिन्छ। यो शैक्षिक सत्रमा एक लाख ४० हजार ४१५ विद्यार्थी विश्वविद्यालयमा भर्नायोग्य थिए। तीमध्ये एक लाख एक हजार २९ विद्यार्थी भर्ना भए, ३९ हजार ३८६ विद्यार्थी विश्वविद्यालय पुगेनन्।
शैक्षिक सत्र २०७४/७५ मा कक्षा १२ उत्तीर्ण गरेर एक लाख ५२ हजार ३०८ विद्यार्थी विश्वविद्यालय भर्नायोग्य भए। यो वर्ष बहुसंख्यक विद्यार्थीले भर्ना लिए। भर्ना लिने एक लाख ४० हजार ९२७ जना थिए भने, ११ हजार ३८१ विद्यार्थी मात्र विश्वविद्यालय पुगेनन्।
२०७५ सालदेखि भने विश्वविद्यालय नपुग्ने विद्यार्थीको संख्या अत्यधिक बढेको छ। शैक्षिक सत्र २०७५/७६ मा कक्षा १२ पास गरेका तीन लाख ७२ हजार ५३३ विद्यार्थीमध्ये एक लाख तीन हजार ३३३ विद्यार्थी मात्र विश्वविद्यालय पुगे। बाँकी दुई लाख ७० हजार २०० जना भर्ना भएनन्।
शैक्षिक सत्र २०७६/७७ मा तीन लाख ६६ हजार ५४६ विद्यार्थी विश्वविद्यालय भर्नायोग्य भए। तीमध्ये एक लाख चार हजार ५४० विद्यार्थी मात्र उच्चशिक्षा अध्ययन गर्न पुगे, बाँकी दुई लाख ६२ हजार विद्यार्थी बीचमै हराए।
२०७७/७८ मा विश्वविद्यालय नपुगेर हराउनेको संख्या झन् बढ्यो। यो शैक्षिक सत्रमा तीन लाख १६ हजार ७६१ विद्यार्थी विश्वविद्यालयमा भर्नायोग्य भए। भर्ना भने ३१ हजार ६२७ विद्यार्थी मात्र भए। बाँकी दुई लाख ८५ हजार १३४ जना विश्वविद्यालय गएनन्। करिब तीन लाख विद्यार्थी हराउँदा पनि सरकार र सम्बन्धित निकायहरूले अध्ययन गरेको पाइँदैन।
शैक्षिक सत्र २०७८/७९ मा कक्षा १२ उत्तीर्ण विद्यार्थी तीन लाख ६१ हजार २४४ थिए। तर दुई लाख सात हजार ५२४ जना मात्र विश्वविद्यालय भर्ना भए।
२०७८/७९ मा विश्वविद्यालयमा पाँच लाख ७९ हजार ४४८ विद्यार्थी थिए। २०७९/८० मा विश्वविद्यालय अनुदान आयोगले शिक्षा व्यवस्थापन सूचना प्रणालीको रिपोर्ट बनाएन। त्यसले कति भर्ना र कति दीक्षित भए भन्ने तथ्यांक विश्वविद्यालय अनुदान आयोगसँग छैन।
आयोगका सूचना अधिकारी कृष्णहरि प्रजापति २०७९/८० को रिपोर्ट ननिकालेर एकैपटक २०८०/८१ को निकालिएको बताउँछन्। “त्यो वर्षको रिपोर्ट निकालिएको छैन। दुई वर्षअगाडिको डेटाले ईएमआईएस (शिक्षा व्यवस्थापन सूचना प्रणाली) बनाइन्थ्यो। अहिले लेटेस्ट डेटा लिएकाले त्यो वर्षको रिपोर्ट छुटेको हो।”
राष्ट्रिय परीक्षा बोर्डका अनुसार त्यो वर्ष दुई लाख ६६ हजार ६४२ विद्यार्थीले कक्षा १२ उत्तीर्ण गरेका थिए। तर विश्वविद्यालयमा अघिल्लो शैक्षिक सत्रकै अनुपातमा नयाँ विद्यार्थी भर्ना भएको आयोगका सूचना अधिकारी प्रजापतिको आकलन छ। “रिपोर्ट नभएपछि त्यो वर्ष कति भर्ना भए, तथ्यांक उपलब्ध छैन। अघिल्लो वर्षकै तुलनामा नयाँ विद्यार्थी भर्ना भएका हुन सक्छन्,” उनी भन्छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार शैक्षिक सत्र २०८०/८१ मा कक्षा १२ उत्तीर्ण गरेर उच्चशिक्षा भर्नायोग्य विद्यार्थी तीन लाख तीन हजार ४७८ थिए। भर्ना भने एक लाख ५१ हजार १६९ जना मात्र भए। यो वर्ष विभिन्न विश्वविद्यालयबाट ९७ हजार ५६४ विद्यार्थी दीक्षित भए।
अहिले सबै विश्वविद्यालयमा गरी कुल ६ लाख ३३ हजार ५३ विद्यार्थी छन्। २०७९/८० र २०८०/८१ को दुई वटा शैक्षिक सत्रमा तीन लाखभन्दा बढी विद्यार्थी विश्वविद्यालय नपुगेको विज्ञहरूको अनुमान छ।
एकातिर भर्नायोग्य विद्यार्थी विश्वविद्यालय पुगेका छैनन्, अर्कातिर सामुदायिक क्याम्पसहरूमा विद्यार्थीहरूको संख्या अत्यधिक घटेको छ। यसले उच्चशिक्षाको प्रणालीमा ठूलो संकट सिर्जना गरेको विज्ञहरूको बुझाइ छ।
“गुणस्तरीय शिक्षाको अभाव, रोजगारका अवसरहरूको कमी र नीति निर्माण तहमा सही सोच नहुँदा विश्वविद्यालय पढ्नयोग्य विद्यार्थीहरूको विश्वास गुमेको छ,” प्राध्यापक विद्यानाथ कोइराला भन्छन्, “बेरोजगार उत्पादन गर्ने विश्वविद्यालयमा विद्यार्थीको आकर्षण कसरी हुन सक्छ? यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।”
विश्वविद्यालय अनुदान आयोगका अनुसार देशभरका ५०५ क्याम्पसले विद्यार्थी अभाव भोगिरहेका छन्। यी क्याम्पसमा १०० भन्दा कम विद्यार्थी छन्। अर्थात्, पहिलेको तुलनामा ३७.२७ प्रतिशत मात्र विद्यार्थी भर्ना छन्।
विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्दा क्याम्पस र उच्चशिक्षामा विश्वास गुमेको शिक्षाविद् मीनाक्षी दाहाल बताउँछिन्। रोजगारका अवसरहरूको कमीले गर्दा विद्यार्थीहरूले सुरक्षित भविष्यको विकल्प खोजेका कारण पनि उच्चशिक्षा पढ्नयोग्य विद्यार्थीहरू ‘हराइरहेका’ छन्।
उच्चशिक्षाको नीतिगत सुधार नभए लाखौँ विद्यार्थीहरू विश्वविद्यालय पुग्न नसक्ने दाहाल बताउँछिन्। “हाम्रा विश्वविद्यालयलले सर्टिफिकेट मात्र बिक्री गर्ने काम गरिरहेका छन्। सीप र दक्षता सिकाउन सकिरहेका छैनन्,” उनी भन्छिन्, “हाम्रा विश्वविद्यालयको शिक्षाले विद्यार्थीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सकिरहेको छैन। यसले गर्दा विद्यार्थीहरूमा वितृष्णा र असन्तोष ल्याएको छ।”
२०७४ सालमा विश्वविद्यालय अनुदान आयोगले गरेको अध्ययनले उच्चशिक्षामा सुधार टड्कारो देखाएको छ। उक्त अध्ययन प्रतिवेदनमा नेपाली विद्यार्थीहरू विदेश जानु, शैक्षिक गुणस्तरमा गिरावट आउनु नै उच्च शिक्षाले विद्यार्थीको आवश्यकता पूरा गर्न नसकेको उदाहरण भएको उल्लेख छ।
विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन महाशाखाले शैक्षिक गुणस्तर कायम राख्न क्याम्पसहरूलाई प्रमाणपत्र प्रदान गर्दै आएको छ। देशभरका एक हजार ५१४ क्याम्पसमध्ये २९५ क्याम्पस मात्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रक्रियामा सहभागी छन्।
अधिकांश क्याम्पस अझै गुणस्तर सुनिश्चिततामा जान सकेका छैनन्। यसमा ७० आंगिक, १४६ सामुदायिक र ७७ निजी क्याम्पस छन् भने, दुई वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक संस्था छन्।
अहिले देशभरका १६ विश्वविद्यालय र ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ लाख ३३ हजार विद्यार्थी भर्ना छन्। १० विश्वविद्यालयमा एक प्रतिशत विद्यार्थी पनि छैनन्। ७७ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा मात्र भर्ना भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
