बढ्दो महँगी र घट्दो आम्दानीले आकाश कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ।
सोलुखुम्बु– खुम्बुको ठाडो उकालो बाटो। पिठ्युँमा १०० किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै शुरू हुने यात्रामा उनी पिठ्युँमा १०० किलोभन्दा बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।
यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे पर्छ। तर उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ। उमेरले २६ वर्षमात्र पुगेका कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो। निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि संघर्षसँग साक्षात्कार गर्नुपर्यो। सानै उमेरमा आमा गुमाए। घरमा बुबा, श्रीमती र दुई साना छोरा छन्। बालबच्चाको शिक्षादीक्षा र सिंगो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ। परिवारको गुजारा चलाउन र बालबच्चाको शिक्षादीक्षाको खर्च जुटाउन दैनिकजसो भारी बोक्नु उनको बाध्यता हो।
“हाम्रो जिन्दगी यसरी नै चल्छ। यो काम नगरी बाँच्न सकिँदैन,” निधारको पसिना पुच्छै उनी भन्छन्। दैनिक जीवनको लागि काठ, खाद्यान्न, जस्तापाता र अन्य सामग्रीका भारी बोकेर उकाली चढ्दा दिनभरि पसिना बगाउँछन्। भारी बोक्ने एक दिनमा २५ सयदेखि ३ हजार रुपैयाँसम्म कमाउँछन्। तर यो कमाइले परिवारको आवश्यकता पूरा गर्न हम्मेहम्मे पर्छ।
बढ्दो महँगी र घट्दो आर्थिक उपार्जनले कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकेलेको छ। तर यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका युवामा छ।
सुर्केबाट लुक्लासम्मको यात्रामा उकालो मात्र छैन। खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ। यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन। भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्छन्। लामो श्वास फेर्दै भन्छन्, “यो जिन्दगी सजिलो छैन।”
खुम्बु क्षेत्रमा काम गर्ने भरियाको कामले मात्र स्थानीय ढुवानी प्रणाली धानेको छ। सडक अभावमा सामान ओसार्न भरियाकै भर पर्नुपर्छ। आकाश कुलुङ एक प्रतिनिधि पात्रमात्र हुन्। खुम्बु क्षेत्रका सयौँ भरियाको जीवन यस्तै छ। महाकुलुङ, सोताङ र आसपासका विकट गाउँका युवा रोजगार खोज्दै खुम्बु पुग्छन्। भारी बोक्ने कामले उनीहरूको परिवारको जीविका धानेको छ। तर यो कामले न उनीहरूको जीवन सजिलो बनाएको छ, न भविष्यको ग्यारेन्टी नै गरेको छ। सुर्केसम्म सडक विस्तार भइसकेको छ, तर त्यसभन्दा माथि सडक पुगेको छैन। यसले गर्दा लुक्ला र आसपासका क्षेत्रमा भरियाको माग छ।
सामान ओसार–पसारको एकमात्र विकल्प मानव श्रम नै हो। खुम्बु क्षेत्रका पर्यटक गन्तव्य विश्वमै प्रसिद्ध छ, तर त्यहाँका भरियाको जीवन भने उस्तै कष्टकर छ। खुम्बुमा महँगी भएका कारण दिनभर कमाएको आम्दानी खानामै बढी खर्च हुने गरेको भरिया नवराज विकले बताए।
“यहाँ महँगो छ, दिनभर पसिनाको धारा छुटाएर भारी बोक्छौँ तर त्यो पैसा खाना बस्नमा धेरै खर्च हुन्छ,” उनले भने, “हिसाब गर्दा चाहिँ धेरै कमाइ भयोजस्तो लाग्छ तर घर फर्किँदा कहिले त रित्तो हातजस्तै हुन्छ, गाह्रो छ भरियाको जिन्दगी।” उनीहरूका लागि भारी बोक्नुबाहेक अरू विकल्प छैन। भरियाको पसिनाले खुम्बुको अर्थतन्त्र धानेको छ, तर भरियाको जीवनमा स्थायित्व र सुविधा भने आउन सकेको छैन।
“मलाई अर्को सजिलो काम भेटिए हुन्थ्योजस्तो लाग्छ,” विकले भने। यति मिहिनेत गरे पनि भरियालाई गर्ने व्यवहार भने फरक रहेको उनीहरूको गुनासो छ। भारी बोक्ने भन्नेबित्तिकै नराम्रो नजरले हेर्ने र कतिले त अपमान नै गर्ने गरेका छन्। खुम्बुको उकालो र भारी बोक्ने कथाले नेपालका विकट क्षेत्रका युवाको जीवनको यथार्थलाई चित्रण गर्छ। विकट भूगोल र विकासको असमानताले उनीहरूको संघर्षलाई थप चुनौतीपूर्ण बनाएको छ।
स्थानीय पूर्वाधारको सुधार र रोजगारीका विकल्प खोज्नु यस्ता समस्याको दीर्घकालीन समाधान हुनसक्छ। आकाश कुलुङ र नवराज विकजस्ता युवाले ढुवानीमा गरेको परिश्रमलाई सम्मान गर्दै सरकारले उनीहरूको जीवनस्तर सुधार गर्ने योजना अघि सार्न आवश्यक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
