पशुपति धर्मशाला विवाद : व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ।

काठमाडौँ– उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश गरेको छ।

न्यायाधीशद्वय खडानन्द तिवारी, सूर्यप्रसाद पराजुलीको इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म  निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न शुक्रबार अन्तरिम आदेश गरेको हो। 

एशिएन ट्राभल्स एन्ड टुर्स प्रालिले काठमाडौँ महानगरपालिकाविरुद्ध दायर गरेको रिट निवेदनमा उक्त आदेश गरेको हो।

“यसमा माडवारी सेवा समिति नेपालविरुद्ध पशुपति क्षेत्र विकास कोषसमेत भएको ०८१–८०–०७४४ को रिट निवेदनमा यसै अदालतबाट निवेदकले पशुपति गौशाला धर्मशालामा गरिआएको काम कारबाही गर्नबाट निवेदकलाई नरोक्नु भनी मिति २०८१/०८/३० मा आदेश भएको र यस रिट निवेदनमा निवेदकहरूले माडवारी सेवा समितिसँग सम्झौता गरी भाडामा लिई व्यापार व्यवसाय गरी आएको भन्ने देखिँदा सुविधा सन्तुलनको हिसाबले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म यी निवेदकलाई उक्त व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्नु, नगराउनु,” आदेशमा भनिएको छ।

यसअघि अदालतले मारवाडी सेवा समितिलाई पशुपति गौशाला धर्मशाला सञ्चालनमा अवरोध नपुर्‍याउन अन्तरिम आदेश दिएको थियो।