गुल्मीमा २४ करोड ५० लाख रुपैयाँको सुन्तला उत्पादन

सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागत स्थानबाट व्यापारी गुल्मीका बगैँचामा नै पुग्ने गरेका छन्।

गुल्मी– गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन्। गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुशी भएका छन्। 

जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए। गत वर्ष २३ करोड रुपैयाँको सुन्तला उत्पादन भएको थियो। उत्पादित सुन्तलामध्ये यस पटक १३ करोड रुपैयाँभन्दा बढीको सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए। 

गुल्मीबाट गत वर्ष १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो। मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गंगा पोख्रेलले बताइन्। 

जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन्। कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउँदै आएका छन्। सुन्तलाका फेद र जरा कुहिने समस्याबाट पीडित बनेको धुर्कोट गाउँपालिका–२ का कृषक शिवलाल खनालले बताए। सुन्तला बगैँचामा समयमै मलखाद र सूक्ष्मतत्वको प्रयोगबाट उत्पादनमा वृद्धि हुने उनको भनाइ छ ।

जिल्लाका १२ वटै पालिकामा व्यावसायिक रूपमा सुन्तलाखेती गरिँदै आएको छ। जिल्लाका ९३ वडामध्ये ३७ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागु छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घालगायत ठाउँमा चक्लाबन्दी गरी सुन्तला खेती शुरू गरिएको छ।

गुल्मीको सुन्तलाको माग अत्यधिक छ। सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागत स्थानबाट व्यापारी बगैँचामा नै पुग्ने गरेका छन्। अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो ८० देखि १०० रुपैयाँमा बिक्री हुँदै आएको छ। 

कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न शुरू गरेको छ। कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सुन्तलाको उत्पादन वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ। परियोजनाबाट सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको  परियोजना प्रमुख पोख्रेलले बताइन्। 

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, शृंगा, रेसुंगा नगरपालिकाको भाडगाँउ, रुरु क्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्‌कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन्।