मानव ढुंगेयुगबाट कृषियुगमा प्रवेश गर्यो त्यतिबेलादेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भूपाल नेपालीको भनाइ छ।
लुम्बिनी– लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उनको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिन्छन्। करिब २५० वर्ष पुरानो उनको घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उनलाई रमाइलो लाग्थ्यो।
सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुरावले भने, “आँगनमा दाना छरेर त्यही खाँचीमा किल्ली अड्काइ डोरीले बाँधेर राख्थ्यो। चरा खाँची तल पुगेपछि डोरी तान्थ्यो र ट्रयापमा पार्दथ्यौँ। चरालाई समातेर केहीबेर खेली, छोडी दिन्थ्यौँ।”
खैरा, फुस्रा र केही सेतो रङ भएको एक सानो जातको चरा प्रजातिमा पर्ने भँगेराको आयु तीनदेखि पाँच वर्ष हुन्छ। यसको पखेटाको फैलावट २१ सेमी तथा लम्बाइ १२ देखि १८ सेमीसम्म हुन्छ। यसको गति र उडान क्षमता कम हुन्छ। यसको औसत वजन ४० ग्रामसम्म हुन्छ।
“भँगेरा निकै मायालु र मेहनती चरा हो”, पक्षीविद् हेमसागर बरालले भन्छन्, “यो चरा विशेषगरी घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षितस्थलमा रहेका प्वालमा गुँड बनाई बस्दछ। पहिला मानव बस्ती वरिपरि टन्नै देखिने यो चराको संख्या पछिल्लो केही वर्षयता घट्दै गएको छ।
लुम्बिनीका पूर्वनगरप्रमुख चौधरीका अनुसार पहिलेका घरको संरचना अहिलेको भन्दा भिन्न थियो। ढुङ्गा, माटो, काँचो इँटा र काठ आदिले बनेका हुन्थे। घरको वरिपरि प्वाल राखिन्थे, जसलाई भँगेराहरूले गुँड बनाउन प्रयोग गर्थे र बिहान बेलुको भँगेराको चिरबिर आवाज सुन्न पाइन्थ्यो।
"किसानको साथी भनेर चिनिने भँगेरा र मानव जीवनको अन्तरसम्बन्ध निकै पुरानो छ। भँगेराले कृषिलाई सहयोग पुर्याउँछ। १५ दिनको भएपछि भँगेराको बच्चाले कीरा खान थाल्छ। तीमध्ये धेरै कीरा बालीलाई नोक्सान गर्ने खालका हुन्छन्”, नेपाल पक्षी संरक्षण संघका परियोजना अधिकृतसमेत रहेका नेपालीले भन्छन्।
बढ्दो आधुनिकता, प्रदूषण र सुरक्षित बासस्थलको कमीले यसको जीवनचक्र नै संकटमा परेको छ। भँगेराको सहअस्तित्वलाई स्वीकार गरेर यसलाई जोगाउनेतर्फ लाग्नुपर्नेमा उनको जोड छ।
ध्वनि प्रदूषण, बासस्थलको अभाव, कृषिमा अत्यधिक किटनाशक औषधि र विषादीको प्रयोग आदिले पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भँगेराको संख्या घट्दै गइरहेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले बताए।
“अहिलेका घरमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो प्वाल र सुविधा छैन। बिजुली बत्तीको झिलिमिली र रङरोगनको गन्धले पनि तिनलाई त्यहाँ बासस्थल बनाउन सहज छैन। गुँड बनाउन खरपातको अभाव, सहरीकरण र बढ्दो ध्वनि प्रदूषणले पनि तिनलाई असहज छ”, उनले भने।
कुर्मी अगाडि भन्छन्, “किसानको साथी भनेर चिनिने भँगेरा चराले धान, चामल, गहुँ, घरको जुठ्यानमा रहेका खाना आदिका साथै अन्नबालीमा लाग्ने हानिकारक कीरा फट्यांग्रा तथा लार्भा खाई कृषि उत्पादनसमेत बढाउन सहयोग गर्दछ।”
सम्मरीमाई–३ का ८० वर्षीया समाजसेवी रम्मा कुर्मी भन्छिन्, “एक दिन राति गाउँभरिका भँगेरा एक्कासि कराउँदै बाहिर आएँ, यति राति किन भँगेरा कराएको भनेर मानिस बाहिर निस्कँदा एक जनाको खलियानमा आगो लागेको रहेछ, पछि सबै जना गएर आगो निभायौँ।”
कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भन्छन्, “भँगेरा हाम्रा केही मान्यता र विश्वासका आधार पनि हुन्। भँगेराले कहिले पानीमा नुहाउँछ त कहिले धुलोमा। धुलोमा नुहाएको दिन पानी पर्ने र सात पाइला हिँडेको देखेमा अलच्छिन हुने जनविश्वास पनि छ।”
गाउँघर नजिकै विषालु सर्प, हिंस्रक जनावर वा दैवी प्रकोप आदि आउँदा पनि भँगेराले कराएर सचेत गराउँछ भन्ने विश्वास गरिन्छ। हानिकारक कीरा, फट्यांग्रा, सडेगलेका अनाज आदि खाएर प्रकृति र वातावरणलाई सफा राख्ने भँगेरा संरक्षणमा सबै लाग्नुपर्ने उनको सुझाव छ।
मानव ढुंगेयुगबाट कृषियुगमा प्रवेश गर्यो त्यतिबेलादेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भूपाल नेपालीको भनाइ छ। उनी भन्छन्, “भँगेरा चराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, करेसाबारी र बगैचा आदिमा बस्न रुचाउँछन् र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन्।” अहिलेसम्म यसको संख्यात्मक तथ्य नभएको उनले बताए।
नेपालमा हालसम्म ८९० बढी प्रजातिका चरा पाइन्छन्। तीमध्ये भँगेरा पनि एक प्रजाति हो। नेपालमा घर भँगेरा, रूख भँगेरा कैलो भँगेरा, पीत कण्डे भँगेरा र स्पेनिस भँगेराहरू पाइन्छन्। अन्य प्रजातिका भँगेराहरूले बाहिरै अन्यत्र स्थानमा बस्न मन पराउँछन्। हालसम्म विश्वमा ३२ प्रजातिका भँगेरा भेटिएको छ।
पुरानो र परम्परागत भँगेरामैत्री घर नहुनु, रूख बिरुवा विनाश हुनु, प्रदूषण, चेतनाको कमी, अहाराको कमी, बालीनालीमा प्रयोग हुने विषादी तथा यिनीहरूलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र सिकार गर्ने प्रवृत्तिले पनि यो चराको संख्यामा कमी आएको छ। पछिल्लो एक अध्ययनले मोबाइल फोन र यसको टावरको र्याडिएसनको कारणले भँगेरामा असर परेको पक्षीविद् नेपालीको भनाइ छ। भँगेरा हाल विश्वबाट घट्दै गइरहेको अवस्थामा यसको महत्त्व र संरक्षण गर्न जरुरी छ। बेलायतमा भँगेरा संकटग्रस्त चरा हो। उनका अनुसार विश्वका करिब ८० प्रतिशत चराको संख्या घटेको तथ्यांक छ तर भँगेराबारे अनुमान मात्रै छ।
भँगेरा संरक्षण गर्ने उद्देश्यले प्रत्येक चैत ७ गते अर्थात् २० मार्चका दिन विश्व भँगेरा संरक्षण दिवस नेपाललगायत विश्वभर मनाइन्छ। यो दिवस सन् २०१० देखि विश्वव्यापी रूपमा मनाउन थालिएको छ भने नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो। नेपाल पक्षी संरक्षण संघले विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक संघसंस्थाको सहकार्यमा भँगेरा पहिचान, गणना तथा विभिन्न चेतना अभिवृद्धिमूलक कार्यक्रम गर्दै नेपालमा यो दिवस मनाउने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
