सभामुख बन्न अर्जुननरसिंह केसीको दौडधुप!

निर्वाचनपछि मतगणना सम्पन्न भई देश नयाँ सरकार गठनको संघारमा रहेको बेला अर्जुननरसिंह केसीले प्रतिपक्षी लगायत सत्तारूढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र पारेका छन्।

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित अर्जुननरसिंह केसीले मंसिर २५ गते साँझ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। ओली भेट्न उनकै निवास बालकोट पुगेका केसीले उनीसँग दुई घण्टा छलफल गरेका थिए। 

निर्वाचनपछि मतगणना सम्पन्न भई देश नयाँ सरकार गठनको संघारमा रहेको बेला केसीले प्रतिपक्षी दलका नेतासँग गरेको भेटघाटलाई राजनीतिक वृत्तमा अनेक तरहले अर्थ्याइयो।

त्यसलगत्तै सोमबार केसीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरे। दलका शीर्षस्थ नेताहरूसँगको भेटलाई तीव्र बनाएका केसी २७ गते (मंगलबार) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगे।

त्यस्तै, २८ गते बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका केसी दिउँसो भने आफ्नो पार्टी कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। 

निर्वाचन परिणाम आएलगत्तै शीर्षस्थ नेताहरूसँग निवासमै पुगेर भेटघाटलाई तीव्रता दिएका केसीको सचिवालयले भने उनी बधाइ तथा शुभकामना आदानप्रदानका लागि भेटघाटमा गएको बताएको छ।

यता, केसीले तारनतार शीर्ष नेताहरूसँग निवास-निवास पुगेर भेट गर्नुलाई आगामी सरकार निर्माण भन्दा पनि प्रतिनिधसभामा पदाधिकारी बाँडफाँटसँग जोडेर हेर्न थालिएको छ। केसीले भने आफूले कुनै पद प्राप्तिका लागि भेटघाट नगरेको दाबी गर्दै नितान्त वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा केन्द्रित भएको बताएका छन्। 

बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको बताउँदै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारे शीर्ष नेताहरूसँग छलफल बढाएको दाबी गरे।

केसीले आफू ४/५ पटक मन्त्री भइसकेकाले अब मन्त्री हुने रहर नभएको पनि बताए। महत्त्वपूर्ण जिम्मेवारी लिन चाहेको तर्फ संकेत गर्दै उनले देशका लागि योगदान दिने इच्छा भएको बताए। “नयाँ सरकार आए देशलाई केही योगदान दिन मन छ”, उनले भने, “तर यथास्थितिमा बसेर जनताका नकारात्मक सोचहरू आफूमाथि थुपार्ने सोच छैन।”

नेता केसीले पार्टीभित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे। पद पाउने आफ्नो कुनै अपेक्षा नरहेको भन्दै उनले अहिलेको परिस्थितिलाई नयाँपन दिनका लागि आफूले भूमिका निभाउने बताए।

उनले भने, “अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ, त्यसमा आउने यात्रा चुनौतीपूर्ण छ। जनमानसमा जुन किसिमको नकारात्मक धारणाहरू देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रूपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरूको नेता, नेतृत्व, नीति र कार्यशैलीको विरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ।”