अनावश्यक चियोचर्चो : बच्चा कहिले जन्माउने?

मलाई समाज र परिवारको अनावश्यक हस्तक्षेप स्वीकार्य छैन। मेरो जीवन मेरै मर्जी हो। मेरो जीवनमाथिको अनावश्यक चियोचर्चो बन्द गर।

दुई वर्षअघि मैले आफ्नो प्रियतमसँग बिहे गरेँ। दुई जनैको बिछट्टै मन मिल्यो। मन मिलेपछि लाग्यो, नयाँ यात्रा छिट्टै तय गर्नुपर्छ। शायद गम्भीर प्रेममा परेपछि धेरैलाई हाम्रोजस्तै मनोदशा हुने होला। हतार र चिन्ता हुने रहेछ। यो प्रेम यात्रा केबल सुर मात्रै नहोस्। यो प्रेम यात्राले आकार पनि लिओस्। यसको गन्तव्य पनि होस् भन्ने लाग्दो रहेछ। मलाई र मेरो प्रियतमलाई त्यस्तै मोह रह्यो। त्यसो भएपछि हामीले गन्धर्व बिहे अर्थात् प्रेम बिहे गर्यौँ। 

म अहिले बीबीएस चौथो वर्षमा अध्ययनरत छु। म अध्ययनशील, ऊ संघर्षशील। उमेरले २३ वर्षकी भएँ। प्रेमको उल्लासले आर्थिकरूपमा उति स्वतन्त्र नभईकन हामीले बिहे गर्यौँ। तर, त्यसो हुँदा पनि हामी दुईका केही योजना छन्। जस्तो कि सन्तान जन्माउने विषय। मानसिक र आर्थिक रूपले बलियो र परिपक्व भइसकेपछि मात्रै सन्तान जन्माउने विषय महत्त्वपूर्ण हुनेछ भन्नेबारे हामी जोई(पोइ नै प्रस्ट छौँ। उत्तिकै प्रस्ट अर्को कुरामा छौँ कि सन्तान जन्माउने या नजन्माउने, कहिले जन्माउने, कति जन्माउने, कति वर्षको अन्तरालमा जन्माउने भन्ने विषय लोग्ने र स्वास्नीको नितान्त व्यक्तिगत विषय हो। श्रीमान् र श्रीमतीबीचको आन्तरिक सल्लाहका विषय हुन् यी।  

यसबारे मैले आफ्ना बेहुलासँग सल्लाह पनि गरिसकेँ। जीवनका बारेमा हामी दुई जनाका आफ्नै खुद्रा मसिना योजना छन्। हामीलाई तत्कालै बच्चा होइन, सहज जीवन चाहिएको छ। योग्यताअनुसारको जागिर चाहिएको छ। त्यसकै लागि मेहनत गरिरहेका पनि छौँ। सन्तानलाई सहज र सुन्दर भविष्य थमाउन सक्ने बाउआमा हुने रहर छ हामी दुवैलाई। किनकि, यो देश र समाजलाई हामी अर्को एउटा सक्षम र असल नागरिक दिन चाहन्छौँ। 

तर यसो बुझिल्याउँछु, समाजलाई अर्काको निजी जिन्दगीमा हस्तक्षेप गर्नमा मजा लाग्छ। समाजलाई लाग्छ, पुरुष र स्त्रीको भेट हुनेबित्तिकै त्यसले बच्चा उत्पादन गर्नुपर्छ। नत्र भने प्रत्यक्ष या परोक्ष समाजका सदस्यहरू खासगरी नयाँ जोडीलाई किन बच्चा कहिले पाउने भन्दै प्रश्न गर्छन्? किन अर्काको नितान्त निजी मामलामा अनावश्यक हस्तक्षेप गर्छन्? किन चियोचर्चा गर्छन्? 

कहिलेकाहीँ लाग्छ, नेपाली समाज अनेकन् अन्तर्द्वन्द्वबाट गुज्रिराखेको छ। एकदमै शिक्षित समाजका लक्षण पनि यो समाजमा देखिन्छन् भने अत्यन्तै पुरानो र रुढीवादी समाजका लक्षण पनि विद्यमान छन्। तर, नेपाली समाजको खास चरित्रचाहिँ अहिले पनि अन्धविश्वासी र रुढीवादी छ। त्यसैले होला, कुन विषय निजी हो र कुन होइन भन्नेबारे पनि यहाँका मान्छेलाई ज्ञात छैन। 

मलाई लाग्छ, एउटा सभ्य समाजले उमेर पुगेको व्यक्तिलाई आफ्नो बारेमा सबै निर्णय लिने अधिकार दिन्छ। त्यसो हुँदा प्रेम गर्ने, पढ्ने, जागिर खाने, बिहे गर्ने, बच्चा पाउने या नपाउने उमेर पुगेको व्यक्ति आफैँले लिने निर्णय हो। फेरि बच्चा पाउने कि नपाउने विषय त झनै निजी हो । किनकि, यो त व्यक्तिको स्वास्थ्य सुरक्षासँग पनि जोडिएको हुन्छ। त्यति मात्रै होइन, कतिपय व्यक्तिलाई बच्चा पाउने रहर नहुन पनि सक्छ। त्यसो हुँदा मूल रूपमा बच्चा पाउने व्यक्तिकै छनौट र रोजाइको विषय हो।   

तर, गुफाबाट भर्खरै निस्केका कबिलाझैँ लाग्ने मेरा समाजका मान्छेहरू यो कुरा बुझ्न तयार छैनन्। तिनलाई नवविवाहित जोडीको कहिले गर्भाधान होला भन्ने चासो छ। मान्छेमा कौतुहलता र उत्सुकता हुने कुरा पनि स्वाभाविकै मानौँ तर जब तैँले किन बच्चा नपाएको, यतिको समय भइसक्यो भनेर कचकच गर्न थाल्छन् तब दिमाग रन्थनिन्छ। विचित्र त त्यतिखेर लाग्छ, तिनै मान्छेहरू बच्चा कहिले पाउने भनेर सोधिरहेछन् जसका घरमा धेरै बच्चाको चिल्लीबिल्ली छ। 

मान्छेहरूको यस्तो फुर्सद देखेर म अवाक् हुन्छु। जब कोही आफन्त या गाउँठाउँका मान्छे भेटिन्छन् तब तिनले मेरै निजी जीवनका बारे चियोचर्चा शुरू गर्छन्, "साँच्चै तिम्रो बिहे भएको यति समय बित्दा पनि सन्तान जन्माउने सुरसार नै छैन त। हेर त फलानाको पनि तिमीसँगै बिहे गरेको। उनीहरूको त सन्तान भइसक्यो। ऊसँगै बिहे गरेको फलानाको बुहारीले त २ वटा सन्तान जन्माइसके। उमेरले यीभन्दा सानी फलानोले समेत बच्चा पाइसकी। खै त तिम्रो कुनै रोग त छैन?"

१/२ होइन, धेरै पटक यस्ता कुरा आफैँले सुनेपछि मलाई भाउन्न छुट्यो। एक मनले ठान्यो, "यस्तो अनावश्यक चियोचर्चो त हाम्रो समाजको साझा समस्या हो। समाजले मान्छेलाई जे सिकाउँछ, मान्छेले त्यही सिक्छ र भट्याउँछ। त्यसो हुँदा अशिक्षित र असंवेदनशील मान्छेसँग यस्ता कुरामा बेकारमा किन द्वन्द्व गर्नु? किन नाडी निमोठ्नु?" अर्को मनले ठान्यो, "यो पनि एक प्रकारले हिंसा हो। त्यसकारण मैले बोल्नै पर्छ। आफन्तसँग झगडै नगरे पनि यसबारे आफ्ना कुरा राख्नैपर्छ।"

उसो त सन्तान नभएकै कारण, अझ छोरा नजन्मेकै कारण कतिपय महिलाले अपमान, विभेद र बहिष्करणसमेत गरिएको पनि देखेको छु। तर, मेरो विचारमा बच्चा पाउने कुरा सामान्य र निजी विषय हो। कसैले बच्चा पाउन नसके पनि त्यो अरूको विषय होइन। सबैले बच्चा पाउनैपर्छ भन्ने पनि छैन। प्रकृतिले सबैलाई कोख नदिएको पनि हुनसक्छ। त्यसो भन्दैमा बच्चा नपाउनेहरू कमजोर भन्ने होइन। 

बच्चा पाउन सक्ने कि नसक्ने विषयलाई लिएर पनि यो समाजले मान्छेमाथि खिसी र मजाक गर्छ। जबकि, त्यो तपाईंको प्राकृतिक विषय हो। कोहीकसैले बच्चै पाउन नसक्ने रहेछ भने पनि त्यसलाई मजाकको विषय बनाउनु आफैँमा रद्दी सोच हो। अर्को कुरा, पुरुष र महिलाको जैविक मिलनले बच्चा जन्माउनमा योगदान गर्ने हो। कतिपय अवस्थामा पुरुष या महिलाको स्वास्थ्यमा खराबी हुँदा बच्चा पैदा नहुनसक्छ। तर, यस्ता विषयमा पनि सिधै महिलालाई कारक ठानिन्छ। 

बच्चा जन्माउन नसक्ने या बाँझी भनेर अपमानित समेत गरिन्छ। बच्चा त प्रकृतिका हर प्राणीले जन्माएका छन्। त्यो के कारणले गर्व, सम्मान या तिरस्कारको विषय हो? कतिपय धार्मिक र अन्धविश्वासी समाजमा बच्चा पाउने काम नै ठूलो काम हो, जहाँ किशोरी हुँदा शुरू भएको बच्चा जन्माउने 'धन्दा' वृद्धावस्था नहुँदासम्म जारी रहन्छ।

त्यस्ता समाजमा महिलालाई केबल शरीर-सुख र बच्चा जन्माउने मेसिनका रूपमा मात्र लिइन्छ। उता जनसंख्या वृद्धि, मानवबाट गैरमानवजातिमाथिको अत्याचार र वातावरण दोहनका कारण हामीभन्दा विकसित भनिने समाजमा अचेल एन्टी न्याटलिजम् ९प्रजनन विरोधवादका अभियानहरू समेत चल्दैछन्। प्रजनन विरोधीहरूको मत छ, जति धेरै जनसंख्या वृद्धि हुन्छ, पहिले नै जन्मेका संसारका अन्य मान्छेमाथि अन्याय हुँदै जान्छ। तिनको भाग खोसिन्छ। जति बढी बच्चा जन्मन्छ उति धेरै प्राकृतिक दोहन हुन्छ। त्यसैले बच्चा पाउन बन्द गर्नुपर्छ। जन्मेकाहरूको न्याय हुनुपर्छ।

तर हामी भने अहिले पनि बच्चा जन्माउने विषयलाई इज्जत र प्रतिष्ठाको विषय बनाउने गरेका छौँ। संसार सबैको घर हो भन्ने बिर्सेर "बच्चा नभएपछि कसले खाला फलानाको सम्पत्ति?" जस्तो निम्छरो सोच पालेर बसेका छौँ। माथि नै उल्लेख गरियो, बच्चा पाउने या नपाउने मूलतः बच्चा जन्माउने व्यक्ति अर्थात् महिलाको निजी विषय हो। त्यसपछि गर्भाधान गर्नमा सहयोग गर्ने पुरुषको चासो महत्त्वपूर्ण होला। 

आफैँमा अनेकौँ समस्याले जेलिएको जटिल व्यवस्था हो जीवन। अझ हाम्रोजस्तो भौतिक र चेतनाका रूपमा अल्पविकसित समाजमा त जटिलता झनै धेरै छन्। यस्तोमा मेरा आफ्नै साथीहरू छन्, जो परिवार र समाजले के भन्लान् भन्ने कुरामा अल्झिने गर्छन्। आफ्ना इच्छा र सपनालाई लत्त्याएर चुपचाप सहिरहेको देख्छु। म स्वयं पनि बेलाबेला परिवार र समाजका अनावश्यक चियोचर्चाले रन्थनिन्छु। तर, मलाई चाहिँ समाज र परिवारको अनावश्यक हस्तक्षेप स्वीकार्य छैन। मेरो जीवन मेरै मर्जी हो। मेरो जीवनमाथिको अनावश्यक चियोचर्चो बन्द गर!