नेवानिको अवस्था सुधार्न व्यवस्थापन करारमा जानुपर्ने सांसदहरूको सुझाव

फितलो व्यवस्थापन, आर्थिक संकट लगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमको अवस्था सुधार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन्।

तस्वीरः गोपाल दाहाल/रासस

काठमाडौँ– फितलो व्यवस्थापन, आर्थिक संकट लगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमको अवस्था सुधार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनीहरूले बताएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकटको मूल्यवृद्धि नियन्त्रण गर्न निगमलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले त्यसका लागि मुलुकको आकाश सुरक्षित हुनुपर्ने तथा त्यसमा पर्यटन क्षेत्रमा आबद्ध सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे।

“हवाईजहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट बिक्रीमा सुधार गर्न आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौँ,” उनले भने। मन्त्री पाण्डेले निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाको अवधि दिइएको बताए।

समितिका सदस्य उदयशम्शेर जबराले निगमको समस्या २० वर्ष पुरानो र परम्परागत भएको उल्लेख गर्दै व्यवस्थापन परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरे। व्यवस्थापन परिवर्तन नगरी निगममा सुधार गर्न कठिन हुने विचार व्यक्त गरे।

समितिका अर्का सदस्य भीमप्रसाद आचार्यले निगमको व्यवस्थापन प्रणाली परिवर्तन नगरीकन अरू परिवर्तन हुने अवस्थामा नभएको बताए। “यसको व्यवस्थापन करारमा दिनुपर्छ” उनले भने।

त्यसैगरी, अर्की सदस्य सुनिता बरालले व्यवस्थापनसँगै खरिद प्रक्रियाको समस्या भए त्यो पनि सच्याउन जरुरी रहेको बताइन्। सांसद शिशिर खनालले विमान खरिदमा भएको अनियमितताको छानबिन समितिले गर्नुपर्नेमा जोड दिए।

सांसद एनपी साउदले निगममा व्यवस्थापकीय समस्या भएको बताउँदै सुधारका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मेवारी दिनुपर्ने वा व्यवस्थापन करारमा जानुपर्ने बताए। 

सांसद योगेश गौचनले कार्यकारी प्रमुखबिना नै निगम सञ्चालन भइरहेको उल्लेख गर्दै निलम्बनमा परेको व्यक्तिबाट संस्थानको हित सुनिश्चित गर्न नसकिने तर्क गरे। बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम सञ्चालनको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए।