बिर्तामोडका पूर्व‍प्रमुख जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा

झापा जिल्ला अदालतले बिर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

झापा– झापा जिल्ला अदालतले बिर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए। आदेश बमोजिम उनी सोमबार पुर्पक्षका लागि झापा कारागार चलान भएका छन्। घरेलु कामदारका रूपमा बस्दै आएकी १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा गत मंसिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए। “प्रहरीको अनुसन्धान सकिएपछि उहाँलाई अदालतमा उपस्थित गराइएको थियो”, सूचना अधिकारी बस्नेतले भने, “हिजो र आज दुई दिनमा बयान सकिएको छ। आज थुनछेकको बहसपछि उहाँलाई पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएको हो।”

प्रहरीले पेश गरेको अभियोग पत्रमा अभियुक्त शिवाकोटीमाथि १२ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ। उक्त मुद्दाको सुनुवाइ अदालतको बन्द इजलासमा भएको थियो।