मान्छेबेगरका घरहरू : ढोकामा ताल्चा, आँगनमा झाडी

धुलोधुवाँदेखि टाढा रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागत रूपमा धान, गहुँ, मकैखेती गर्दै आएका बोराङका किसानको जग्गा अहिले बाँझै छन्।

लमजुङ– छेवैको घर जीर्ण छ। आँगन घाँसे मैदान जस्तै बनेको छ। भत्किन लागेको ढोकामा ताल्चा झुन्डिएको छ।

“मान्छेबेगरको घर यस्तै त हुन्छ नि! बेवारिसेझैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षीया रमादेवी न्यौपानेलाई उदेक लाग्छ।

उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किँदा उस्तै जीर्ण र छिमेकीबेगरका घर छन्। रमादेवी अहिले लगभग छिमेकीविहीनजस्तै छन्।

उनको घर वरिपरिका झन्डै १५ घरमा ताल्चा झुन्डिएको छ। घरधनी शहरतिर छन्।

गाउँबाट मान्छे बाहिरिँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ।

उनलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ। किनभने त्यो गाउँसँग उनको बाल्यकालदेखि बूढौलीसम्मकै प्रगाढ सम्झना छ। 

“बालकैमा बिहे गरेर आएको गाउँ हो। यहाँ पहिला कति रमाइलो हुन्थ्यो। अहिले कस्तो भयो,” उनी भन्छन्, “हराउँदै गयो गाउँको रौनक।”

बिहे भएर आएदेखि उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतीत बनेर।

“कच्ची बाटोपारि र वारि दुवैतिर घना बस्ती थियो”, उनी गाउँको विगत स्मरण गर्दै भन्छिन्, “अहिले घरहरू छन्, बस्ने कोही छैनन्। सबै शहरतिर लागे। सुख र सुविधाले त्यति तान्यो।”

छोराबुहारीका साथ घरमै बस्न पाए पनि रमादेवीलाई गाउँको अवस्थाले मन पोल्छ। अझ बढी त करेसाबारीमा फलफूल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उनलाई खल्लो लाग्छ।

“कुनै समय थियो। गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फलफूल टिपेर बिठ्याइँ गरिदिन्थे,” उनी भन्छिन्, “उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपर्थ्यो। अहिले चरा र बाँदरले खाएर रित्याउँछन्। मान्छे भेटिँदैनन्।”

लमजुङको राइनास नगरपालिका–१० बोराङलाई न्यौपानेटोल पनि भनेर चिनिन्छ। किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन्। अधिकांश शिक्षक पेशामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो।

“यहाँका अधिकांश बुबाहरू शिक्षक पेसामै आबद्ध हुनुभयो भने छोराछोरी केहीले यही शिक्षण पेसा अपनाएका छन्”, रमादेवीका छोरा राममणि न्यौपानेले बताए।

उनी गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक छन्। उनका अनुसार टोलमा ५५ घरधुरी छन्। यसमध्ये मुस्किलले २६/२७ घरमा मात्रै घरमूल बसोबास गर्छन्। अरू अधिकांश शहरतिरै त कोही विदेशतिर गएका छन्।

शिक्षक जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ। पाँच जनाको शिक्षक दरबन्दी घटेर अहिले दुई जनामा सीमित हुनुपरेको छ।

कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन्। त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन्।

“गाउँमा अभिभावक नै नभएपछि पढ्न आउने केटाकेटी कहाँ पाउनु?”, उनी भन्छन्, “अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ।”

राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरू रित्तिँदै गएको हो। यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ। 

राइनास नगरपालिका–१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी,  कत्रेनी, बोराङलगायत टोल छन्। टोलैपिच्छे मौरीपालन, तरकारीखेतीजस्ता उत्पादन र उद्यमशील काम भएका छन्। यद्यपि पालिकाले योजनाबद्ध ढंगमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय शहरमुखी हुन थालेको बताउँछन्।  

बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउँछन्। “छरछिमेकी हुँदा गाह्रोसाह्रो परेको बेला सहयोगी हात हुन्थे,” उनी भन्छन्, “अहिले बिरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन।”

गाउँका युवा पुस्ता रोजगारी र शिक्षा आर्जन गर्नका लागि शहर पसेका छन्। चाडपर्वमा घर सम्झेर एकाद परिवार आउँछन् नभए वर्षौंदेखि घरले स्याहार नपाएको स्थानीयले बताए।

प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन। उनीहरू तीनै जनाको घरमा ताल्चा छ। रोजगार र छोराछोरी पढाउन काठमाडौँ पसेका छिमेकी उतै बसेको प्रेम बताउँछन्। 

“मेरो वरिपरि सबै घरमा ताला लागेको छ। छिमेकी नहुँदा निकै न्यास्रो लाग्छ”, उनी भन्छन्, “गाउँका टाढाबाढा मान्छेहरू नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन।”

गाउँको छेउमै चौतारा छ। चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैन। ७२ वर्षीय स्थानीय विष्णुहरि न्यौपानेले अब बूढाबूढीपछि पुर्ख्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउँछन्।

उनको ठूलो छोरो रोजगारका सिलसिलामा चितवनमा छन्। माइलो र कान्छो काठमाडौँमा छन्। सुविधा न भएको गाउँमा नबस्नु शहरतिरै आउनु भनेर छोराहरू जोड गरे पनि जन्मथलो छोड्न मन नलाग्ने गरेको उनी सुनाउँछन्।

“हामी चिसो छल्न गाउँ आएका। होइन भने प्रायः काठमाडौँतिर बस्छौँ”, उनले भने, “किन बस्ने गाउँमा भो अब दुःख गर्नु पर्दैन भन्छन् छोराहरू।”

बिरामी परेको बेला सिटामोलसमेत पाउन मुस्किल हुने गाउँको दुःख सम्झिँदा विष्णुहरिले गाउँको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउँछन्। उनले भनेजस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन। 

जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ। ६८ वर्षीय डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलिबिस्तार लाए। उनको पुर्खौली जिउने आधार खेतीकिसानी हो।

सकीनसकी लगाएको बाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले एकैछिनमा सखाप पारिदिन्छन्। “अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई”, उनी किसानले भोग्नु परेको पीडा सुनाउँछन्, “के खाएर बस्ने हो यो गाउँमा? अनि शहर नपसे के गर्ने?” 

लालीगुराँस आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपाने गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्छिन्। रोजगारको अभाव, उद्यमशीलताका आधारहरू नहुँदा युवा पलायन भएका छन्। यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै शहर पस्न थाले। यसले गर्दा गाउँ सुनसान हुँदै गएको उनले सुनाइइन्। 

उनका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ। गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनको बुझाइ छ। 

सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीकरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताउँछिन्।

धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागत रूपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानका अहिले अधिकांश जग्गा बाँझै छन्।

“खेती गर्ने बूढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ”, विमला भन्छिन्, “कृषिमा आधुनिकीकरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो।”