पर्वतमा ग्यास चुहिएर आगलागी हुँदा १ जनाको मृत्यु, १ गम्भीर

पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास सिलिन्डर फेर्ने क्रममा चुहिएर आगलागी हुँदा आइतबार स्थानीय ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो।

पर्वत– कुस्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ। 

पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास सिलिन्डर फेर्ने क्रममा चुहिएर आगलागी हुँदा आइतबार ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। मृतक पौडेल दूध लिन रेग्मीको घरमा गएकी थिइन्। 

घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिए। उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको छ। 

सदरमुकाम कुस्माबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट घरमा क्षति पुगेको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।